उपेन्द्र यादव क्रान्तिकारी कि संघीयताका प्रणेता?

|

काठमाडौं : समृद्ध नेपालको नारा लाउँदा पनि एक्लो परेका विघटित नयाँ शक्ति पार्टी, नेपालका संयोजक बाबुराम भट्टराई र केपी शर्मा ओली नेतृत्वको सरकारमा बसौँ कि बाहिरिऊँ भएको उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव नेतृत्वको विघटित संघीय समाजवादी पार्टी एकीकृत भएर 'समाजवादी पार्टी, नेपाल' बनेको छ।

सोमबार दिउँसो तामझामका साथ कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा भएको एकताको सभामा समाजवादी पार्टी, नेपालको संघीय परिषद्का अध्यक्ष बनेका डा. भट्टराई र पार्टीको केन्द्रीय समितिको अध्यक्ष बनेका यादवले अबको नेपाल 'समाजवादी बनाउने' घोषणा गरे। दुवैले एकै स्वरमा 'नेपालमा आन्दोलनको सम्भावना व्यापक रहेको' पनि आकलन गरेका थिए।

डा. भट्टराईले मुलुकमा अझै पनि राजनीतिक आन्दोलनको आवश्यकता रहेको दाबी गरे। उनले मुलुकमा राजनीतिक आन्दोलन गर्न मात्रै नभएर बाह्य चलखेल रोक्न पनि समाजवादी पार्टी गठन गर्नुपरेको तर्क गरे। 'नेपालको तराई मधेस अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको द्वन्द्वको अखडा बन्न सक्छ', उनले भने, 'त्यसलाई रोक्नका लागि हामीले यो शक्ति आर्जन गर्नका लागि पार्टी एकता गरेका हौँ।'

आन्दोलनको सम्भावनाबारे डा. भट्टराईको भनाइलाई बल पुग्ने गरी यादवले भनेका थिए 'राजनीतिक आन्दोलन सकिएको भन्दै हुनुहुन्छ। कम्युनिस्ट र कांग्रेसका लागि राजनीतिक आन्दोलन सकिएको होला। शोषित पीडित जनताका लागि अधिकारको आन्दोलन सुरु भएको छ। समाजवादीका लागि आन्दोलन सुरु भएको छ।'

नेकपा र कांग्रेसको चर्को आलोचना

पार्टी घोषणा सभामा अध्यक्षद्वय भट्टराई र यादवले सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको चर्को आलोचना गरेका थिए। दुवैले नेपाल गरिब हुनुमा, संघीयता कार्यान्वयन नहुनुमा, युवाहरू विदेश जान बाध्य हुनुमा, आर्थिक अवस्था डामाडोल हुनुमा, उद्योग धराशायी हुनुमा नेकपा र कांग्रेसमाथि दोषारोपण गरे।

'कम्युनिस्टको खोल ओढेको' भन्दै भट्टराई र यादवको आलोचनाको केन्द्र नेकपा बन्यो। 'जस्तोसुकै कमजोर, लुते भए पनि वीरबहादुर नाम राखेपछि 'वीरबहादुर' भन्नै पर्ने रहेछ। कम्युनिस्ट पार्टी पनि त्यस्तै हो', यादवको भनाइ थियो, 'नेपालका कम्युनिस्ट नमुना हुन जो राजा मान्छन्।'

यादवले नाम नलिइ नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ संकेत गर्दै संघीयता आफ्नो मुद्दा नभएको भनेको, गणतन्त्र बोकाएको भारी भन्ने गरेको आरोप लगाए।

'कम्युनिस्ट पार्टी जसमा हामी पनि लामो समय लड्यौँ। बाबुराम भट्टराई हामीहरू कम्युनिस्ट पार्टीका धेरै उतार चढाव धेरै कठिन परिस्थितिबाट गुज्रिएर आयौँ। त्यो बेला त कम्युनिस्टहरू नै थिए, हामी त कम्युनिस्ट भनेरै लाग्या थियौँ। यसो अहिले हेर्दा त सबै कमाउनिस्ट भइसकेका रहेछन्', उनले भने, 'कम्युनिस्ट भए पो कम्युनिस्टका कुरा गर्नु, त्यहाँ त कम्युनिस्ट होइन कमाउनिस्टहरूको बोलवाला छ। विचार सिद्धान्तबाट पदच्यूत भएर कमाउनिस्टको अवसरवादी धारमा अगाडि बढिसके।'

कांग्रेसले नेपाललाई प्रतिगमनतिर लान खोजेको यादवको आरोप थियो। यादवले भने, 'मुलुकलाई ०४६ सालतिर धकेल्न खोजिदैछ। कांग्रेसका नेता खुलेआम प्रतिगमनको वकालतमा लागेका छन्। प्राप्त उपलब्धि सुरक्षित र संस्थागत गर्न कांग्रेस र कम्युनिस्टबाट सम्भव छैन।'

यादव कांग्रेस र नेकपाको आलोचनामा यत्तिमै रोकिएनन्। 'कांग्रेस र कम्युनिस्टहरू सत्तामा आउनुअगाडि काठमाडौंमा बाँसबारी जुत्ता छाला कारखाना हरिसिद्धि इँटा टायल कारखाना हिमाल सिमेन्ट कारखाना थियो। विराटनगरमा जुटमिल थियो वीरगन्जमा चिनी कारखाना र कृषि औजार कारखाना थियो। हेटौँडा औद्योगिक क्षेत्र थियो। कपडा कारखाना थियो बुटवलमा धागो कारखाना नारायणी पारी भृकुटी कागज कारखाना थियो', कांग्रेस र कम्युनिस्ट मिलेर मुलुक धराशायी बनाएको आरोप लगाउँदै यादवले भने, 'थोरै मान्छे मलेसिया कतारमा जान्थे। ती कारखानालाई उदारीकरण र निजीकरणको नाममा कौडीको भाउमा बेचेर मुलुकको अर्थतन्त्र धराशायी बनाउनेले देश चलाउन सक्दैनन्।'

यस्ता गतिविधिले मुलुकको अर्थतन्त्र चौपट भएको र हाल दैनिक सातहजारका दरले युवा शक्ति विदेश गइरहेको छ भने दैनिक ६-७ लास नेपाल आइरहेको छ।

डा. भट्टराईले पनि कांग्रेस र नेकपालाई 'एकल जातीय शासकको खोल ओढेका पार्टी' भने। 'श्रम र शासन स्रोतको दोहन गरेर मानव जाती, अन्तर्राष्ट्रिय समुदाय, हामीबिच भ्रम छरिरहेका छन्' भन्ने भट्टराईको भनाइ थियो।

पूर्वमाओवादी भट्टराईले नेकपाका अध्यक्ष प्रचण्डको नाम नलिइकनै 'माओवादी आन्दोलनको ठुलो हिस्सा आफूसँग रहेको र केही व्यक्तिहरू आन्दोलनलाई दुत्कार्ने, क्रान्तिकारीलाई दमन गर्नेसँग घाँटी जोडेको' आरोप लगाए। यता पूर्वएमाले अशोक राई सही भएर आफूसँगै आएको तथा ओलीलगायत नेताहरू 'प्रतिगामी कित्तामा गएर सत्तामा पुगी डुङडुङती गन्हाएको' आरोप लगाए।

'लहडमा एउटा दोकान थापौँ न त, च्याँखे थाप्नलाई भनेर एकता गरेको होइन' भन्दै भट्टराईले 'कांग्रेस र नेकपा पुँजीवादी र साम्यवादी पार्टीहरूको विकल्पका लागि समाजवादी पार्टी गठन गरेर विकल्प बनेको' तर्क गरे। उनले वर्तमान नेकपाको नेतृत्वले संघीयतालाई कार्यान्वयनमा लान नकसेको पनि आरोप लगाए। प्रदेश सरकारलाई आवश्यक पर्ने कानुन निर्माण नगरी प्रदेशहरूलाई दिइएका अधिकार खोस्ने गरी कानुन निर्माण भएको भन्दै दुःख व्यक्त गरे।

समाजवादी पार्टी, नेपाललाई अबको निर्वाचनमा एक नम्बरको पार्टी बनाउने लक्ष्य रहेको बताएका भट्टराईले त्यसका लागि भने नेकपा र कांग्रेसका कार्यकतालाई आउन आह्वान गरे। उनले भने, 'नेकपाभित्र उकुसमुकुस भएका नेता र कार्यकर्ता आउनुस्। बेत बसेको गाइजस्तै बनेको कांग्रेसलाई घाँस नहाल्नुस्। त्यहाँभित्र रहेका समाजवादी साथीहरू यता आउनुहोस्।'

राजपाबारे मौन

पार्टीको इपिसेन्टर प्रदेश २ रहेको भनेका डा. भट्टराईले भने मधेसमा बलियो रहेको राष्ट्रिय जनता पार्टी, नेपालबारे केही भनेनन्। उनले जस्तै यादवले पनि राजपाको नामसम्म लिएनन्।

कांग्रेस र कम्युनिस्टको आलोचनामा अधिकांश समय खर्चिएका दुवैले न त राजपा पार्टी न त उसका नेताहरूबारे केही बोले। कार्यक्रममा सम्बोधन गर्ने कुनै पनि नेताले राजपाका नेताहरूप्रति संकेतसम्म गरेर नि केही भनेनन्।

अन्य पार्टीप्रति खनिएका भट्टराई र यादवको जोडीले राजपाबारे एक शब्द खर्च नगर्नुले उससँग पनि एकता हुनसक्ने भन्ने चलेको चर्चालाई बल मिलेको छ। 

उपेन्द्र यादव : क्रान्तिकारी कि संघीयताका प्रणेता!

कार्यक्रममा केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवलाई नेताहरूले संघीयताका प्रणेताका रूपमा बखान गरिएको थियो। तत्कालीन फोरमका नेताहरूले सम्बोधनका क्रममा यादवकै कारण नेपालमा संघीयता आएको भन्दै उनलाई संघीयताका प्रणेताका रूपमा उभ्याए।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले यादवलाई 'संघीयताका प्रणेता, जन्मदाता' भनेर सम्बोधन गरे। त्यस्तै रामसहायप्रसाद यादवले 'संघीयताका पिता' भनेर सम्बोधन गरेका थिए। रकम चेम्जोङले यादवलाई 'मधेस विद्रोहमार्फत संघीयता स्थापना गर्न भूमिका खेलेको व्यक्ति' का रूपमा चित्रित गरे।   

यसरी एकपछि अर्को नेताले उपेन्द्र यादवलाई संघीयताका पिता र प्रणेता भनिरहेका बेला डा. बाबुराम भट्टराईले भने 'क्रान्तिकारी' नेता भनेर सम्बोधन गरेका थिए।

सत्ता छाड्ने दोधार

तत्कालीन संघीय समाजवादी फोरम, नेपालबाट उपेन्द्र यादव उपप्रधानमन्त्रीसहित अहिले केपी शर्मा ओली नेतृत्वको सरकारमा छन्। यादव सरकारमा भएकै कारण ओली सरकारलाई दुईतिहाइको मत प्राप्त छ।

सरकारमा जाने बेला संविधान संशोधन लगायतका मुद्दा सम्बोधन गर्ने भनेर दुई बुँदे सहमति गरेर सरकारमा गएको यादवको पार्टी केही पहिले नै सरकारबाट बाहिरिने चर्चा चलेको थियो। स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायमा प्रधानमन्त्रीले नै नियुक्ति गर्न खोजेको भन्दै बाहिरिन खोजेका यादव 'कुरा मिलेपछि' सरकारमै छन।

तर, समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. भट्टराईले भने आवश्यक परे सरकारबाट बाहिरिने उद्घोष गरे। 'संघर्षको हतियारका लागि हामी सरकारमा छौँ। सडक पहिलो र सदन दोस्रो संघर्षको हतियार हो। कहिलेकाहीँ सरकार पनि मोर्चा हुनसक्छ', उनले भने, 'हिजोका सहमति कार्यान्वयन भएनन् भने आवश्यक परेको अवस्थामा निर्णय गरेर सरकारबाट फिर्ता हुन सकिन्छ।' डा. भट्टराईले यसो भने पनि यादवले भने यसबारे मुख खोलेनन्।

कार्यक्रममा सम्बोधन गर्ने नेताहरूले भने अब समाजवादी पार्टीलाई सत्तामा पुर्‍याउने भनिरहे। यसमा वरिष्ठ नेता अशोश राईको भनाइ विशेष थियो। उनले भनेका थिए, 'म नेपाली राजनीतिमा ४५ वर्षदेखि छु। ३० वर्ष यता सिंहदरबार वरिपरि छु। सिंहदरबार भनेको सिंहहरू रहने हो भन्ने यो शब्दबाटै पत्ता लाग्छ। तर आजभोलि सिंहदरबारतिर जाँदा स्याल कराएको मात्रै सुन्छु। (मुसुमुसु हाँसिरहेका डा. भट्टराई र यादवतिर हेर्दै) सिंहहरू कमलादीमा भेटिए। अब सिंहहरूलाई सिंहदरबार भित्र्याउनपर्छ।'

सम्बन्धित समाचारः 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.