|

काठमाडौं : सरकारले विशिष्ट र पहुँचवाला ब्यक्तिको उपचारका लागि लाखौं रकम दिँदै आएकोमा अब भने सर्वसाधारणको उपचारका लागि दिने सहयोग रकम पनि बढाउने तयारी गरेको छ। आठ प्रकारका गम्भीर प्रकृतिको रोगको उपचारका लागि विपन्न नागरिकलाई दिँदै आएको १ लाख रुपैयाँ सहायता बढाएर ५ लाख रुपैयाँ बनाउने तयारी गरेको हो। 

मुटु रोग, क्यान्सर, अल्जाइमर्स, मेरुदण्डको चोट, पार्किन्ससन, सिकलसेल एनिमियाका लगायत आठवटा गम्भीर रोग उपचारका लागि आर्थिक सहायता बढाउन विपन्न नागरिक औषधी उपचार कोष निर्देशिका (संशोधित) २०७३ संशोधन गर्न लागेको हो। निर्देशिका संशोधन गरेर सर्वसाधारणले पाउने उपचार खर्च बढाउन लागेको स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाका निर्देशक डा. नरेशप्रताप सिंह केसीले जानकारी दिए।

'अहिले ८ प्रकारका कडा रोगहरुको उपचारमा विपन्न नागरिकलाई १ लाख दिदै आएको छ, अब बढाएर ५ लाख पुर्‍याउने गरी निर्देशिका संशोधनका लागि मस्यौदा तयार गर्दैछौं' उनले भने। कलेजो प्रत्यारोपण, मष्तिकघात, अप्लास्ती एनिमिया र थालेसिमिया रोगको उपचारलाई पनि सहायता गर्ने गरी विपन्न नागरिक औषधी उपचार कोष निर्देशिकाको मस्यौदा हुदैँछ। अहिलेसम्म मुटु रोग, क्यान्सर, पार्किन्सन, अल्जाइमर्स, टाउकोमा र मेरुदण्डमा हुने चोट र सिकलसेल एनिमिया रोगको उपचारका लागि मात्र सरकारले विपन्न नागरिकलाई १ लाख दिदै आएको छ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखको संयोजकत्वमा रहेको समितिको सिफारिसमा सरकारले बिरामीलाई आर्थिक सहायता दिने गरिएको छ। हाल बिरामीलाई एक लाख उपचार खर्च दिँदा वार्षिक १ अर्ब खर्च हुँदै आएकोमा प्रस्तावित निर्देशिका संशोधन भएर लागू भएपछि बिरामीलाई ५ लाखका दरले सहयोग दिँदा पाँच अर्ब रुपैयाँ खर्च हुने माहाशाखाका निर्देशक डा. केसीले बताए।

मिर्गौला रोगीलाई थप सहयोग

संशोधन गर्न लागिएको उक्त निर्देशिकामा मृर्गौला रोगको एक्युट रेनल फेलियर’ भएका बिरामीलाई पाँच लाख रुपैयाँ बराबर औषधी पचार सहुलियत दिने तयारी गरिएको पनि निर्देशक डा. केसीले जानकारी दिए। मस्यौदामा मिर्गौला प्रत्यारोपण गरिसकेका बिरामीलाई अस्पतालबाट निःशुल्क औषधी उपलब्ध गराउने प्रस्ताव समेत गरिएको छ। अहिले डायलासिस निःशुल्क भए पनि प्रत्यारोपणका लागि दुई लाख र त्यसपछि औषधीका लागि एक लाख रुपैयाँ मात्र दिने गरिएको छ।

१ अर्बमा ६० करोड वितरण

यस्तै चालु अर्थिक बर्ष विपन्न नागरिक औषधी उपचार कार्यक्रमको लागि एक अर्ब रुपैयाँ छुट्याएकोमा अहिलेसम्म ६० करोड रूपैयाँ विपन्न नागरिकहरुको उपचारमा वितरण गरिसकिएको स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा. नरेश प्रताप केसीले बताए।

उनले भने 'चालु आर्थिक बर्षमा विपन्न नागरिकको औषधी उपचारमा सहयोग गर्न छुट्याइएको एक अर्ब रकममध्ये हामीले करिब ६० करोड रुपैयाँ विपन्न विरामीलाई प्रदान गरिसकेका छौं।' 

यसरी सहयोग लिनेमा धेरैजसो क्यान्सरका विरामी धेरै भएपनि मिर्गौला रोगको उपचारमा धेरै खर्च हुने विपन्न नागरिक औषधी उपचार व्यवस्थापन शाखा कार्यक्रमका सिनियर अहेब प्रकाश घिमिरेले जानाकारी दिए। उनले भने 'हाम्रोमा उपचार खर्च पाउँ भनेर आउने विरामीमध्ये क्यान्सरका धेरै छन् तर धेरै खर्च भने मिर्गौला रोगीको उपचारमा हुने गरेको छ।'

सरकारले हाल विभिन्न ३१ वटा अस्पतालबाट यी रोगहरुको उपचार गर्दै आएको छ। निर्देशक डा केसीले अन्य अस्पतालले पनि सो कार्यक्रम सञ्चालनका लागि अनुमति मागिरहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.