|

काठमाडौं :  निरन्तर शनिबारकाे शृङ्खला सम्पन्न भएको छ। कार्यक्रममा  प्रमुख अतिथिका रूपमा  कविद्वय स्वप्निल स्मृति र केशव सिलवालले आफ्ना कविता वाचन गरेका थिए।

 निरन्तर शनिबारका संस्थापक सदस्यसमेत रहेका भएका कवि स्वप्निल स्मृतिले तत्कालीन राजा ज्ञानेन्द्रले 'माघ १९' घाेषणा गरेपछि लाेकतान्त्रिक आन्दाेलनकाे एउटा माेर्चाकाे रूपमा निरन्तर शनिबार सुरु भएकाे बताए। अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएकाे त्यस समयका पत्रपत्रिकाहरुमा सेनाका जर्नेलहरु रहेकाे सेन्सर बाेर्डबाट पास भएका सामग्री मात्र छापिने र सेन्सर बाेर्डले कैँची चलाएकाे ठाउँमा ब्लाङ्क (खाली) नै छापिने गरेकाे राेचक प्रसङ्ग पनि सुनाए।

सिर्जनशील विद्यार्थी नेताहरुकाे अगुवाईमा याे शृङ्खला सुरु भएकाे र पुलिसकाे आँखा छलेर कार्यक्रम सञ्चालन गर्नुपर्ने भए पनि त्यसबेला कार्यक्रममा उल्लेखनीय सहभागिता रहने गरेकाे कुरा स्मरण गरे।

उनले  निरन्तर शनिबारकाे फाेरमबाट नेपाली साहित्य र राजनीतिमा थुप्रै प्रतिभाहरुकाे उदय भएकाेमा खुसी व्यक्त गरे। अभिव्यक्ति स्वतन्त्रतमा अङ्कुश लगाउने गरी मिडिया विधेक ल्याउन खाेजेकाे भन्दै अहिलेकाे सरकारप्रति आक्राेश व्यक्त गरे।

कार्यक्रममा कवि स्मृतिले- एक मिनेट माैन धारण, हराएकाहरु, फेरि आफैँलाई, सीतादेवी नेपाली गरी चार वटा कविता सुनाए। यसैगरि यस पटककाे शृङ्खलामा अर्का अतिथि  कवि केशव सिलवालले संक्षिप्त धारणा राखे। निरन्तर शनिबारकाे ऐतिहासिकता थाहा पाउँदा  आफूलाई गाैरवानुभूति भएकाे र प्रतिराेधी चेतनाकाे विकासमा निरन्तर शनिबार जस्ता अभियानहरुकाे उल्लेखनीय भूमिका रहने गरेकाे बताए।

प्रत्येक हप्ता कार्यक्रम सञ्चालन गर्ने कुरा निकै कठिन हुँदाहुँदै पनि निरन्तर शनिबारले त्यसलाई सम्भव बनाएकाेमा बधाई ज्ञापन गरे । कार्यक्रममा उनले तुइनमा झुन्डिएकी केटी, देश अर्थात् कम्पनी, लाेकल, हेडमास्टरकाे चाबुक गरी चार वटा कविता सुनाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.