स्थानीय भन्छन्- काम अघि बढ्न दिदैनौँ

|

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकमा निर्माणाधीन गेलुङखोला हाइड्रोपावरले मनपरी रूपमा आफूखुसी काम गर्दै आएको  स्थानीयले आरोप लगाएका छन्। जुगल गाउँपालिका हुँदै चौतारा साँगाचोकगढी नगरपालिका ४ कुविण्डेमा बन्न लागेको सवस्टेसन निर्माणमा मनलाग्दी गरेको हो। 

पद र पावरको भरमा आफूखुसी काम गर्दै आएको स्थानीयको गुनासो छ। विद्युतको पोल विस्तारको क्रममा परेका जग्गाको बिनामुआब्जा काम गरेको स्थानीयले बताए। ‘मेरो जग्गामा काम सुरु गरेको रहेछ, कसलाई सोधेर गरेको भन्दा तपाईंले मुआब्जास्वरूप पैसा पाउनुहुन्छ भनेका थिए। तर, अहिले उनीहरू सम्पर्कविहीन भएका छन्’ चौतारा साँगाचोकगढी नगरपालिका २ का वडासदस्य तथा स्थानीय भीमबहादुर पराजुलीले भने। 

‘मेरो आफ्नै जग्गामा समेत पोल गाडेर तार टाँगिएको रहेछ। जनप्रतिनिधिको हिसाबमा खबर नआए पनि जग्गामा पर्दासमेत कुनै खबर नै आएन’ उनले भने। ठूलो भोल्टको विद्युत तार प्रसारण हुँदासमेत जनप्रतिनिधिलाई समेत कुनै खबर नभएको समेत नभएको उनले जनाए। विद्युतको तार जडान गर्ने क्रममा पद र पावरकै भरमा स्थानीय केही व्यक्तिलाई मोटो रकम खुवाएर काम गरेको स्थानीयले दाबी गरेका छन्।

गाउँमा नाम चलेका केही व्यक्तिलाई रकम खुवाएर उसैको आडमा काम गरेको स्थानीयले आरोप लगाए। हाइड्रोपावरमा नेपाल सरकारको ४९ प्रतिशत र हाइड्रोपावरको ५१ प्रतिशत लगानी रहेको छ।

गुन्डागर्दी शैलीमा काम

निर्माणधीन हाइड्रोपावरले काम गुन्डागर्दी शैलीमा गरेको स्थानीयले आरोप लगाएका छन्। ‘काम गर्दा कसैले रोक्यो भने हातखुट्टा भाँच्दिने भनेका थिए। त्यसैले आफ्नो जग्गामा पोल गाड्दासमेत आफू बोल्न सकिएन’ नाम नबताउने सर्तमा एक स्थानीयले भने। ‘गणतन्त्रपछि जनताको सरकार आयो भन्छन्। खै कहाँ छ जनताको सरकार आफ्नै जग्गाको सुरक्षा आफैँले गर्न नसक्ने अवस्था छ’ उनले भने,‘आफ्नो जग्गामा आएर विद्युतको पोल गाड्दासमेत मौन बस्नुपर्ने अवस्था छ।’

स्थानीय तहसँग समन्वय छैन 

हाइड्रोपावर निर्माण क्षेत्रमा परेका कुनै स्थानीय सरकारसँग पनि समन्वय नगरेको पाइएको छ। हाइड्रोपावर विस्तारको क्रममा व्यापक जनगुनासो बढेपछि थाहा खबरले जुगल गाउँपालिकाको उपाध्यक्ष सिर्जना तामाङसँग कुराकानी गर्दा पालिकासँग अहिलेसम्म कुनै समन्वय नभएको बताइन्। हाइड्रोपावरले विद्युत विस्तारको क्रममा स्थानीयमा व्यापक जनगुनासो आएको हो। तर, त्यस विषयमा हाइड्रोपावरले पालिकासँग समन्वय नगरेको प्रतिक्रिया दिइन्। 

सवस्टेसन निर्माण गर्दा निर्माणस्थलको वडा चौतारा साँगाचोकगढी नगरपालिका ४ मा समेत कुनै जानकारी नभएको वडाध्यक्ष चूणामणि नेपालले जनाए। पहिले हाइड्रोपावरले सवस्टेसन बनाउने भन्ने कुराको जानकारी थियो। तर, पछिल्लो चरणमा आएर त्यसबार आफू बेखबर भएको जनाए। सवस्टेसन निर्माण मेरो आफ्नो वडाको (बाँसपाटी) मा भैरहेको छ। तर, कसरी निर्माण गर्ने भन्नेमा आफूसँग निर्माण कम्पनीले कुनै विषयमा पनि समन्वय नगरेको दाबी गरे।

सम्पर्कमै आउँदैनन्

हाइड्रोपावरको ज्यादतीको विषयमा स्थानीयले व्यापक गुनासो गरेपछि गेलुङखोला हाइड्रोपावरका प्रमुख चूणप्रसाद श्रेष्ठसँग पटकपटक सम्पर्क गर्दा पनि उनको फोन उठेन। उनले हाइड्रोपावरको काम गर्दा धेरै आलोचना सुरु भएपछि सम्पर्कबाहिर रहेको स्रोतको दाबी छ। हाइड्रोको कामप्रति चौतर्फी आलोचना हुँदै आएको छ । चौतर्फी आलोचनाको अवस्था सिर्जना भएपछि उनी सम्पर्कबिहीन छन्। अहिले काम भद्रगोल अवस्थामा छाडिएको छ।

स्थानीय भन्छन्- काम अघि बढ्न दिदैनौँ 

हाइड्रोपावरले स्टेसन विस्तार गर्दा गुन्डागर्दी शैलीमा काम गरेको भए पनि अब यहाँभन्दा पछाडिको काम मुआब्जाबिना कुनै हालतमा हुनै नदिने स्थानीयले बताएका छन्। 
हाइड्रोपावरले स्टेसन विस्तारको क्रममा स्थानीय सरकार, जनप्रनिनिधि, स्थानीय व्यक्तिसँग कोहीसँग पनि समन्वय नगरी आफ्नो ढंगले काम गरेको स्थानीयको भनाइ छ। राजनीतिक आडमा केही व्यक्तिलाई हातमा लिएर निर्माण पक्षले काम गरेको स्थानीयले दाबी गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.