|
प्रतीकात्मक तस्विर

भक्तपुर : भक्तपुर नगरपालिकाले आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्न समस्या परेका विद्यार्थीलाई पाँच लाख रुपैयाँसम्म शैक्षिक ऋण दिने भएको छ । 

भक्तपुरले एसइईभन्दा माथिल्लो तह अध्ययनका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर ६ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउन लागेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ। 

यस्तो ऋण विद्यार्थीले अध्ययन पूरा भएको चार वर्षभित्र फिर्ता गरिसक्नुपर्नेछ। मेयर सुनिल प्रजापतिले आइतबार शैक्षिक ऋण वितरण कार्यक्रमको शुभारम्भ गरे । आफ्नै लगानीमा शैक्षिक संस्थासमेत सञ्चालन गरेको भक्तपुर नगरपालिकाले शैक्षिक ऋण कार्यक्रम सञ्चालन गर्न ‘भक्तपुर नगरपालिकाको शैक्षिक ऋण दिनेसम्बन्धी निर्देशिका’ जारी गरेको छ। 

निर्देशिकाबमोजिम वडा कार्यालयमार्फत प्रक्रिया पुर्‍याई आवेदन गर्नेलाई ऋण दिन थालिएको मेयर प्रजापतिले बताए। कार्यक्रम लागू गरिएको पहिलो वर्ष ऋण लिन ३५ जनाको आवेदन परेको छ । उनीहरूलाई चालू आर्थिक वर्षबाटै ऋण दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारीले बताए। 

अधिकारीका अनुसार पहिलो वर्ष चिकित्सा शिक्षा, इन्जिनियरिङ, नर्सिङ, कम्प्युटर इन्जिनियरिङ र कला, संस्कृति विषयमा पढ्ने विद्यार्थीलाई ऋण दिने निर्णय भएको छ । चालू आर्थिक वर्षमा छात्रवृत्ति तथा शैक्षिक ऋण कार्यक्रमका लागि नगरपालिकाले एक करोड ५५ लाख रुपैयाँ विनियोजन गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.