दार्चुला : नौगाढ गाउँपालिका वडा नम्बर ४ मा रहेको गणेशविनायक मावि सिप्टीको शौचालयको सेफ्टी ट्यांकीको ढक्कन भाँसिदा ४ बालबालिकाको मृत्यु भएको छ।
दिउँसो करिब साढे ४ बजेतिर सेफ्टी ट्यांकको ढक्कनमाथि खेल्दै गरेका नौगाड गाउँपालिका वडा नम्बर ४ का १० वर्षीया अनुस्का धामी, ८ वर्षीय सुदिस धामी, ५ वर्षीया युनिका धामी र ७ वर्षीया निरुता ठगुन्नाको मृत्यु भएको हो। सेफ्टी ट्यांकको ढक्कनमाथि माटो राखेर बनाइएको मैदानमाथि खेल्दै गरेका ती बालबालिकाको एक्कासी ढक्कन भाँसिदा सेफ्टी ट्यांक मा परेर मृत्यु भएको स्थानीय प्रतापसिह ठगुन्नाको भनाई छ।
ढक्कन भाँसिदा ढक्कनमाथि राखिएको माटोसहित बालबालिका करिब १० मिटर गहिरो ट्यांकमा पर्दा उद्धार गर्नसमेत तीन घण्टा लागेको प्रहरी चौकी सिप्टीका इन्चार्ज देवदत्त भट्टले जानकारी दिए। ‘माटोसहित बालबालिका ट्यांकीमा परे, वर्षा पनि लगातार भई रहेकोले बेलुका मात्रै ट्यांकीबाट लाश निकालेर सनाखत गर्न सकियो’ स्थानीय लोकेश ठगुन्नाले भने।
घटनाको खबर सुन्ने बित्तिकै गोकुलेश्वर इलाका प्रहरी चौकीबाट प्रहरी निरीक्षक सुरजबहादुर खड्काको टोली घटनास्थल पुगेको थियो भने वडा अध्यक्ष नन्दनसिह धामी स्थानीय र प्रहरीसँगै उद्धारमा खटिएका थिए।
शोकाकूल सिप्टी
दिउँसो घटना भएलगत्तै विद्यालय परिसरमा जम्मा भएका स्थानीयले पहिले त कति बालबालिका ट्यांकी भित्र परेका छन् भन्ने नै छुट्याउन सकेनन्। स्थानीयहरू एकातिर प्रहरीको उपस्थितिपछि उद्धार गर्न तम्सिए भने अर्कातिर आफ्ना बालबालिका घरमा छन् कि छैनन् खोज्नतिर लागे।
विद्यालयको निर्माणाधीन भवनको उपभोक्ता समिति अध्यक्ष रहेका कृष्णसिह धामीकि कक्षा २ मा पढ्ने १० वर्षीया छोरी अनुस्का र उनका ४ जना साथी खेलिरहेको स्थानीयले बताएपछि विद्यालय वरपर रहेका स्थानीयको झन् शोक र चिन्तामा परे।
अनुस्कासहित सबै बालबालिको लाश पहिचान भएपछि पूरै सिप्टी गाउँ शोकमा डुबेको छ। ‘भर्खर विद्यालय जान लागेका बालबालिका खेल्दाखेल्दै विद्यालय परिषर मै मृत्यु भयो, सधैँ बालबालिका खेल्थे, बेलुकी चरा जस्तै स-साना नानीहरूको हुल हुन्थ्यो, नानीहरूको मृत्यु सपना जस्तै भएको छ’ मलिन अनुहारमा जयमति धामीले भनिन्।
‘घटना स्थलमा पुगेका स्थानीय र परिवारजनलाई विभिन्न सञ्चार माध्यम र आफन्तजनका जिज्ञासाहरूले हैरान पारेको सहजै अनुमान गरिएको थियो तर जानकारी पनि त दिनै पर्यो’ वडा कार्यालयका कार्यालय सहायक प्रतापसिह ठगुन्नाले भने।
नौगाड गाउँपालिका ४ सिप्टीमा रहेको गणेश विनायक माध्यमिक विद्यालयको शौचालयको सेफ्टी ट्यांकीको स्याल्याब भत्किएर उनीहरूको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष प्रमे सिंह धामीले बताए। उनका अनुसार उनी सोही विद्यालयममा अध्यनरत थिए। उनका अनुसार बुधबार पोस्टमार्टम गरिने र अन्तिम संस्कार गरिने तयारी गरिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।