सांसद्हरुले संविधान र कानुन पढे कि पढेनन्?

|

काठमाडौं : सरकारले लोकसेवा आयोगले स्थानीय तहका लागि निकालेको विज्ञापन रोक्न संसदको राज्य व्यवस्था समितिको निर्णयमा प्रश्न उठाएको छ। 

जेठ २३ गते भएको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले लोकसेवाको विज्ञापन रद्द गर्ने निर्णय राज्य व्यवस्था समितिले संविधान र कानुन नै नपढी गरेको दाबी गरे । 

‘लोकेवाको विज्ञापनमा त्यस्तो निर्देशन आउनुपर्ने जस्तो लाग्दैन,’ बास्कोटाले भने, ‘माननीयहरुले आफूले बनाएका कानुन पढ्नुपर्यो, संविधान पनि पढ्नुपर्यो। संविधान र कानुन पढेर मात्रै निर्णय गरेको भए राम्रो हुन्थ्यो।’

संविधानले गरेको व्यवस्था र कर्मचारी समायोजसम्बन्धी नीति पनि राज्य व्यवस्था समितिका सदस्यहरुले हेर्नुपर्ने बास्कोटाले सुझाए।

‘संसदीय समितिले गरेको निर्णयमा सरकारको तर्फबाट आत्मसमीक्षा विकल्प देखेको छ। उहाँहरुले संविधान र कानुन हेर्नु भएको छ कि छैन’, बास्कोटाले भने, ‘अथवा धेरै बुझेको हो कि नबुझेको हो, संविधानमा  त यो पनि रहेछ भनेर हेक्का राख्नुपर्ने हो। निर्णय भइसकेपछि फेरि कामै सिद्धिने पनि होइन।’

आफूले पनि मिडिया काउन्सिल विधेयकमा आत्मसमीक्षा गरिरहेको बताउँदै बास्कोटाले समितिले पनि कहिलेकाहीँ आत्मसमीक्षा गर्नुपर्ने उल्लेख गरे।

‘सरकार र संसद भनेका सँगै चल्नुपर्छ। यसमा विवाद गर्नुपर्ने विषय नै छैन’, उनले भने, ‘संसदीय समितिको निर्णयबारे सरकारको अन्तिम निर्णयका लागि प्रधानमन्त्रीज्यूलाई पनि कुर्नुपर्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.