|

काठमाडौं : फेसबुकबाट साथी बनाएर बिहेको प्रलोभनमा पार्दै ठगीमा संलग्न एक सुन्दरी प्रहरीको फन्दामा परेकी छन्। दोलखाको शैलुङ गाउँपालिका-८ बस्ने २४ वर्षीय हरिबहादुर कार्कीलाई ठगी गरेको अभियोगमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दोलखाकै शैलुङ गाउँपालिका-५ घर भइ हाल भक्तपुरको बालकोटमा बस्दै आएकी २३ वर्षीया संगीता भन्‍ने कल्पना बस्नेत छिन्। संगीताले सुरुमा हरिलाई आफ्नै आइडीबाट साथीका लागि रिक्वेस्ट गरेकी थिइन्। 

त्यसपछि उनले कार्कीलाई आफूले चिनेकी सुन्दर युवतीको तस्बिर राखेर फेक फेसबुक आइडीबाट पनि रिक्वेस्ट पठाएकी थिइन्। कार्कीलाई कल्पनाले फेक आइडीकी केटीले मन पराउने र बिहे गर्न चाहेको बताएर आफैँ कुरा गर्दै जालमा पारेकी थिइन्। 

त्यसक्रममा उनले फेक आइडीबाट आफैँ कुरा गरेर फसाएकी प्रहरीले जनाएको छ। उनले फरक फरक मोबाइल नम्बरबाट फोन गरेर कार्कीलाई माया गर्ने केटी दुर्घटनामा परेर उपचार भइरहेकाले रकम पठाइदिन भनेकी थिइन्। 

त्यसपछि कार्कीले आईएमईबाट पटक पटक गरेर ४ लाख ५५ हजार रकम पठाएको पनि खुलेको छ। रकम लिएपछि संगीताले हरिलाई माया गर्ने केटीको भारतमा मृत्यु भयो भनेर ढाँटेकी थिइन्। 

संगीताले आफूलाई झुटो कुरा गरेर फसाएको थाहा पाएपछि हरि प्रहरीको शरणमा पुगेका थिए। उजुरीपछि महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले टेकुबाट आइतवार पक्राउ गरेको थियो । 

संगीताको साथबाट प्रहरीले मोबाइल फोन र दुई थान सिमकार्ड पनि बरामद गरेको छ। उनीविरुद्ध प्रहरीले ठगीसम्बन्धी कसुरमा मुद्दा अघि बढाइसकेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.