|

ओखलढुंगा : स्वरोजगार कोषको रकम सहकारीमार्फत ऋण लिएका व्यक्तिले रकम फिर्ता नगरेपछि लिखु गाउँपालिकाले सेवासुविधा रोक्का गरेको छ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र जिल्ला प्रशासन कार्यालयको ताकेतापछि गाउँपालिकाले सेवासुविधा रोक्का गरेको हो।

सरकारी कोषको रकम सहुलियत व्याजमा व्यवसाय गर्न लिएको ऋण नतिरेपछि गाउँपालिकाले प्रवाह गर्ने सबै खाले सुविधा रोक्का गरेर मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा जानकारी पठाएको लिखु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीले बताए। उनले मन्त्रालयबाट ताकेता भएपछि अभिलेखअनुसार लिखु गाउँपालिकाका ८ जनालाई सेवा सुविधा रोक्का गरिएको जानकारी दिए।

नागरिक बचत तथा ऋण सहकारी संस्था, यसमले स्वरोजगार कोषको रकम न्यूनतम व्याजमा लिइ ऋण लगानी गरेको थियो। यसरी ऋण लगानी गरेको सरकारी रकम नउठेपछि सहकारीले कोषमा रकम फिर्ता गर्न सकेको छैन।

सरकारी रकम डुबेपछि असुलउपर गर्न धितो नभएकाले गाउँपालिकाबाट प्रदान गरिने सेवा सुविधा ऋणी तथा निजका एकाघरका परिवारका सदस्यको समेत रोक्का गरेको गाउँपालिकाले जनाएको छ।

ऋण लिएर नतिरेपछि सेवा सुविधा रोक्का हुनेमा लिखु  गाउँपालिका ५ यसमका भीमबहादुर परियार, शिवबहादुरखत्री, लोकबहादुर दमाइ र भूवन खत्री रहेका छन्।

त्यस्तै वडा नं. ४ का यज्ञबहादुर श्रेष्ठ, सुजन कट्वाल, सूर्यराम कट्वाल र सूर्य खत्री रहेका छन्। उनीहरूमध्ये सुजन कट्वाल र शिव बहादुर खत्रीको मृत्यु भइसकेको छ। ऋणीको मृत्यु भएका परिवारका सदस्यको सेवासुविधा पनि रोक्का गरिएको छ।

अन्य गाउँपालिकामा समेत स्वरोजगार कोषबाट रकम लिएर ऋण लगानी गरेका सहकारीहरूले समेत फिर्ता गर्न सकेका छैनन्। स्वरोजगार कोषको रकम फिर्ताका गर्नलाई मन्त्रालय र प्रशासनले कारवाहीका लागि परिपत्र पनि गरेका छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.