|

ओखलढुंगा : मध्यअसार बितिसक्दा पनि ओखलढुंगामा खडेरीका कारण ९५ प्रतिशत खेतमा रोपाइँ हुन सकेको छैन। अघिल्ला वर्षहरुमा यो समयमा ३० देखि ४० प्रतिशत रोपाइँ सकिने गरेको भए पनि यसवर्ष अधिकांश खेतमा रोपाइँ भएको छैन।

जिल्लाको लिखु गाउँपालिका-६ का ज्ञानबहादुर बुढाथोकी गत वर्षहरुमा यति बेला २० पाथि धानको बिउ रोपाइँ गरी सक्थे तर यो वर्ष उनले खेतमा राखेको धानको बिउसमेत सुकेर गएको छ। खडेरी नै लागे पनि पोहोर साल यतिबेला १५ पाथीको बिउ रोपिसकेको उनी बताउँछन्।

'पोहोर साल पनि खडेरीका कारण ढिला त भएको थियो तर यो साल त धानको बिउ सबै सुकेर गयो, 'उनले भने, 'खेत बाँझै रहने हो कि भन्ने चिन्ताले भोक निद्रा हराइसक्यो।' रोपाइँ गर्न नपाएर  खेतमा छरेको धानको बिउ सुकेर गएको उनले दुखेसो सुनाए।    

जिल्लाभर ६ हजार २ सय ५० हेक्टरमा धान खेती हुने गरेको तथ्यांकले देखाउँछ। अघिल्ला वर्षहरुमा यतिबेला ३० प्रतिशत रोपाइँ सकिने गरेको स्थानीय बताउँछन्। किसानहरु जेठको अन्तिम सातादेखि नै धान रोप्न भ्याइनभ्याइ हुने गरेका थिए। यसवर्ष खडेरीका कारण मध्यअसार बितिसक्दा पनि किसानहरूले धान रोप्न नपाएको  कृषि ज्ञान केन्द्र ओखलढुंगाका प्रमुख मोहनप्रसाद खतिवडाले बताए। जिल्लामा सिँचित खेत न्यून भएका कारण किसानलाई आकाशे पानीको भर पर्नुपर्ने बाध्यता रहेको छ।

बर्खाका बेला मान्छे बगाउने खहरे खोलाहरू यतिबेला पानीविहीन छन्। 'खोलैमा पानी छैन कसरी रोपाइँ गर्नु?' सिद्धिचरण नगरपालिका-४ रुम्जाटारका किसान धनबहादुर भुजेलले गुनासो सुनाए।

खडेरीले ब्याडमै बिउ मर्न लागेपछि किसानहरू थप चिन्तित बनेका छन्। सामान्य पानी परेर खेत कम्तीमा बिउ नमरेको भए पनि त अलि पछिसम्म रोपाइँ गर्न सकिने किसानहरूको बुझाइ छ। धान ढिलो रोप्दा उत्पादनमा समेत कमी आउने र किसानलाई घाटा हुने कृषि प्राविधिक बिमल खड्काले बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.