राष्ट्र बैंकले ताकेता बढाउँदै

|

काठमाडौं : नेपाल राष्ट्र बैंकले आगामी साता आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीति सार्वजनिक गर्दैछ। मौद्रिक नीतिमार्फत् मर्जरका लागि दिइने दबाब र सहुलियतको मुद्दा प्रतिक्षाको विषय बनेको छ। 

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जवी नेपालले गभर्नरका रुपमा ल्याउने अन्तिम मौद्रिक नीतिमा विशेषत: मर्जर प्रमुख प्राथमिकता बन्‍ने भएको छ। बैंकहरूको चार गुणासम्म पुँजी वृद्धि गर्न सफल भएसँगै आफ्नै कार्याकालमा बैंक संख्या पनि घटाउन आतुर रहेको गभर्नरको क्रियाकलाप र अभिव्यक्तिले देखाउँछ। 

१५ असारमा गभर्नर नेपालले एक साताभित्र मर्जरमा जाने बैंक खोजेर आउन बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरूलाई ताकेता गरेका थिए। यो बीचमा दुई जोडी बैंकले लगनगाँठो कस्ने निर्णय नै गरेका छन्। ग्लोबल बैंक र जनाता बैंक मर्जरमा जान सहमत भएका छन्। प्राइम बैंकले कैलाश बैंक गाभ्ने सहमति गरिसकेको छ।

ग्लोबल र जनता बैंक मर्जरमा जाने, दुई अध्यक्षले गरे हस्ताक्षर 
भटाभट मर्जर सहमति : कैलाश विकास बैंक प्राइममा गाभिने 

मेगा र कुमारी बैंकले पनि मर्जरमा जान छलफल तीव्र पारेका छन्। राष्ट्र बैंकले निजी क्षेत्रका मात्रै नभइ सरकारी बैंकलाई पनि मर्जरमा जान दबाब दिएको छ। 

शुक्रबार मध्यन्नमा ग्लोवल बैंक र जनता बैंकले सम्झौता गरेसँगै विग मर्जरको बाटो खोलिएको छ। ‘ग्लोबल र जनता मर्ज गर्ने भएको सहमतिले राष्ट्र बैंकले आवश्‍यकता पहिचान गरेर अघि बढाएको कदम हो भन्‍ने पुष्टि हुन्छ। अन्य बैंकलाई पनि दबाब अब भइसकेको छ’ राष्ट्र बैंक स्रोत भन्छ, ‘मौद्रिक नीति आउनु अघि नै अझै चार जोडी मिल्ने अपेक्षा गरिएको छ।’

सिइओहरू राष्ट्र बैंकमा

शुक्रबार मात्रै राष्ट्र बैंकले सबै बैंकका सिइओहरूलाई बोलाएको छ। मर्जरका लागि लागि ताकेता गरेको बैंकले शुक्रबार अहिलेसम्मको उपलब्धि र चालिएको कदमबारे कुरा गर्न बैंकका सिइओहरूलाई बोलाएको हो।

आइतबारसम्म राष्ट्र बैंक संचालक समितिको बैठक बस्ने तयारी छ। बैंकले मौद्रिक नीति अगाडी मर्जरका लागि अहिलेसम्म भएको उपलब्धि र राष्ट्र बैंकले दिनु पर्ने दबाव र सहुलियतका साथै मर्ज हुन तयार बैंकहरूको सूची लैजाने तयारी राष्ट्र बैंकको छ।

यसअघि राष्ट्र बैंकले अध्यक्ष र सिइओहरूलाई बोलाएको थियो। शुक्रबार सिइओहरूलाई मात्रै राष्ट्र बैंकले बोलाएको हो। शुक्रबारको बैठकमा राष्ट्र बैंकका गभर्न नेपाल उपस्थित थिएनन्।

कुन-कुन बैंक मर्जरको तयारीमा?

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्‍न निरौलाकाअनुसार अहिले मेगा बैंक, सनराइज बैंक, सिटिजन्स बैंक, सानिमा बैंक, लक्ष्मी बैंक र सिभिल बैंकले मर्जरमा जान प्रतिवद्धता जनाएका छन्। 

स्रोत अनुसार मेगा बैंक र कुमारी बैंकले आगामी आइतबारसम्म मर्जर सहमति गर्ने गरी छलफल चलाएका छन्। ‘हामीले निरन्तर छलफल चलाइरहेका छौँ, ग्लोबलसँग पनि छलफल भएको थियो। तर सहमति नभएपछि अरुसँग कुराकानी भएको छ’ मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेलीले भनिन्, ‘राष्ट्र बैंकले मर्जरमा जान आग्रह गरिसकेपछि छिट्टै प्रतिफल निकाल्ने तयारीमा छौँ’।

सरकारी बैंकलाई पनि दबाव

अहिले सरकारी स्वामित्वका तीनवटा कृषिक विकास बैंक, राष्ट्र वाणिज्य बैंक र नेपाल बैंकलाई मर्जरमा लैजान अनौपचारिक छलफल भएको छ। अनौपचारिक छलफलमा तीन बैंकबीच सहमति हुने सम्भावना कम छ। निजी क्षेत्रका बैंकलाई मर्जरको दबाब दिइरहेका बेला सरकारी बैंकलाई पनि एक बनाउने चहाना राष्ट्र बैंकले देखाएको छ। 

नेपाल बैंकका एक अधिकारीका अनुसार तीन बैंकबीच सहमति भइसकेको छैन। तर कृषि विकास बैंक र नेपाल बैंकबीच सहमति हुने सम्भावना रहेको कृषि विकास बैकका उच्च अधिकारी बताउछन्।

‘तीन बैंक सरकारी स्वामित्वका हुन्। तर नेचर अफ बिजनेस र 'इन्ट्रेस'को हिसाबले मिल्दैन’ कृषि विकास बैंका ती उच्च अधिकारी भन्छन्, ‘कृषि विकास बैंक र नेपाल बैंकको मर्जर सम्भावना बढेको छ। त्यही लाइनमा छलफल पनि चलेको छ।’

वाणिज्य बैंकमा नेपाल सरकारको पूर्ण स्वामित्व छ। तर कृषि विकास बैंक र नेपाल बैंकमा सरकारको ५१ र सर्वसाधरणको ४९ प्रतिशत सेयर स्वामित्व छ।

यस कारण बिग मर्जरमा ताकेता?

गत आर्थिक वर्षमा पनि विग मर्जरबारे छलफल नभएको होइन। धेरै सार्वजनिक कार्यक्रममा आफूले पुँजी वृद्धिको योजना अघि बढाउँदा बैंकर तयार नरहेको गभर्नर नेपालले बताउने गरेका थिए। तर अहिले बैंकहरु नै संख्या घटाउनु पर्‍यो भन्दै प्रस्ताव लिएर आउने गरेको गभर्नर नेपालले बताउने गरेका छन्।

सरकारको पनि सहयोग पाएपछि गभर्न नेपाल आफूले अघि बढाएको कोर्ष पूरा गर्न केन्द्रित भएको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन्। ‘गभर्नरले पुँजी वृद्धिको योजनाबाट बैंक घटाउने केन्द्रित हुँदा सरकारको मात्रै होइन, अर्थमन्त्रीको समेत सहयोग पाउनु भएको थिएन। जतिबेला उहाँ राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुनुहुन्थ्यो’, राष्ट्र बैंकबाट अवकाश पाइसकेका एक पूर्व अधिकारीले भने ‘अहिले बिग मर्जरमा प्रयाप्त छलफल भएन भन्‍ने नि छ। तर पुँजी वृद्धिमा गभर्नर सफल भएपछि सरकाले उनैबाट बैंक मर्जरको कोर्ष सुरु होस् भन्‍ने चाहेको छ।'

राष्ट्र बैंकले यसअघी पनि पुँजी वृद्धिको योजना वाणिज्य बैंकहरू घटाउनेका लागि ल्याएको थियो। तर वाणिज्य बैंकहरुले वित्त कम्पनी गाभेर तथा हकप्रद सेयर निष्काशन गरेर पुँजी बढाएका थिए। तर यो पटक भने राष्ट्र बैंकको वाणिज्य बैंक घटाउने योजना सफल हुने बिन्दुमा पुगेको छ। 

गभर्नर नेपालले अन्तिम मौद्रकि नीति ल्याउँदैछन्। त्यसैले आफूले सुरु गरेको कोर्ष पूरा गर्न उनलाई सहज भएको छ। अर्कोतर्फ मर्जर प्रकिया सुरु भएसँगै वर्तमान सरकारले नियुक्ति गर्ने गभर्नरलाई पनि सहयोग पुग्ने देखिएको छ। ठूला परियोजनामा नेपाली बैंकबाटै लगानी जुट्ने सरकारी स्वार्थ पनि यसले पुरा हुने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.