|

विराटनगर : सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता शुक्रबार विराटनगरको शहीद रंगशालामा भव्य समारोहका बीच उद्घाटन  भयो। दिउँसो ३ बजे आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्तब्य मार्फत नै प्रतियोगिता उद्घाटनको घोषणा गरिन्। खेलकुदमन्त्री दलजित श्रीपाइलीले सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको झण्डोत्तलन गरे भने ओलम्पियन नरेन्द्र पोमाले ओलम्पिक दीप प्रज्वलन गरे। कैलालीको धनगढीमा छैठौं राष्ट्रिय खेलकुदद प्रतियोगिता समापन भएको पाँच वर्षपछि आयोजित खेल मेलाको उद्घाटनको दिन देखिएका ६ दृश्य पढ्नुहोस् :

गृहमन्त्रीको बहिस्कार

गृहमन्त्री विमलेन्द्र निधि आज सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने कार्यक्रम थियो। त्यसै अनुसार आयोजक राष्ट्रिय खेलकुद परिषदले कार्यक्रम सेड्युलमा आसन ग्रहण र मन्तब्यमा उनको नाम राखेको थियो। तर उनी आएनन्। प्रतियोगिता उद्घाटनमा गृह मन्त्री सहभागी नुहुनु र उनको पार्टी नेपाली कांग्रेस मोरङ जिल्ला समितिले बहिस्कारको निर्णय गरेको थियो। यद्यपी गृहमन्त्रीका प्रेस सल्लाहकार रामजी दाहालले कार्यव्यस्तताले विराटनगर नआएको बताए।  

ओलम्पिक कमिटीका अध्यक्षको आसन ग्रहण

प्रतियोगिताको उद्घाटन कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव तथा ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ पनि सहभागी भएका थिए। कार्यक्रममा राष्ट्रपति लगायत अन्य अतिथिहरुलाई आसन ग्रहण गराउँदा उनी मञ्चमै भएपनि आसन ग्हण गराइएको थिएन। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्तब्यसँगै प्रतियोगिता उद्घाटन घोषणा भएको बताइन्। त्यसपछि युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको झण्डोत्तलन गर्ने कार्यक्रम थियो। झण्डोत्तलनकै बेलामा कार्यक्रम सञ्चालक सञ्जीव शिल्पकारले ओलम्पिक कमिटीको अध्यक्ष जीवनराम श्रेष्ठ मञ्चमा उपस्थिति हुनुहुन्छ उहाँलाई आसन ग्रहण गर्न अनुरोध गर्दछु भने। त्यसपछि कांग्रेस समर्थित खेलकर्मीहरुको संघ लोकतान्त्रिक खेलकुद संघका पदाधिकारीहरुले विरोध जनाए। उनीहरु मन्त्रीसँग कुरा गर्न मञ्चमै उक्लन खोजेपनि सुरक्षाकर्मीले जान दिएनन्। त्यतिबेला मञ्च प्रवेश गर्ने द्वारमा एक छिन तनाव उत्पन्न भएको थियो। संघका अध्यक्ष देवेन्द्र शेरचनले सर्वोच्च अदालतले अवैधानिक ठहर गरेका ओलम्पिक कमिटीका अध्यक्षलाई राष्ट्रप्रमुखसँगै आसन ग्रहण गराइनु राष्ट्रपतिको अपमान भएको बताए। ओलम्पिक कमिटीको विवाद २०६८ सालमा नै सर्वोच्च पुगेको थियो। त्यतिबेला अध्यक्षमा ध्रुवबहादुर प्रधान थिए। सर्वोच्च अदालतले त्यस मुद्दामा प्रधानलाई अवैधानिक ठहर गरेको थियो।  प्रधानपछि जीवनराम श्रेष्ठ अध्यक्षमा निर्वाचित भए। तर हालै फैसला कार्यान्वयन निर्देशनालयले पुरानो फैसला कार्यान्वयन गर्न ओलम्पिक कमिटीलाई पत्राचार गरेको थियो।

उद्घाटनमा पञ्चैबाजादेखि थारु नाच

प्रतियोगिता उद्घाटन समारोहमा खेलाडीहरुसँगै मोरङ जिल्लाका धेरै संघसंस्थाहरुले सहभागीता जनाएका थिए।

आदिवासी जनजाति महासंघ, किरात राई यायोख्खा, मगर, थारु लगायत धेरै  समुदायले आफ्नो सांस्कृतिक झाँकी सहित शहीद मैदानमा मार्च पास गरेका थिए।

विद्यार्थीको जंगी निशान

प्रतियोगिताको उद्घाटन समारोहमा मोरङका बिभिन्न विद्यालयका विद्यार्थी र कलकारहरुले धेरै गीतमा मैदानभरी एकै पटक नृत्य प्रस्तुत गरेका थिए। उनीहरुले मधेसी समुदाय र पहाडी समुदायका लोक संगीतमा सँगसँगै नृत्य देखाएका थिए। त्यसै क्रममा सेन्ट मेरिज स्कुलका विद्यार्थीहरुले मञ्चमा जंगी टोपी लगाएर प्रस्तुत गरेको रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो गीतले धेरैको ध्यान खिचेको थियो।

ओलम्पिनयको मार्चपास र ओलम्पिक दीप प्रज्वलन

प्रतियोगिताको उद्घाटन समारोहमा नेपालका ओलम्पियनहरुले ओलम्पिक दीप बोकेर मैदान परिक्रमा गरेका थिए। ओलम्पियनहरु बैकुण्ठ मानन्धर, जीतबहादुर केसी, टीका धमला, हरिबहादुर रोकाया, दीपक विष्ट, संगीना वैद्य, टीकाराम श्रेष्ठ, चन्द्रकला थापा लगायतले ओलम्पिक दीप बोकेर मैदान परिक्रमा गरेका थिए।  त्यस्तै ओलम्पियन, बक्सिङ खेलाडी नरेन्द्र पोमाले सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ओलम्पिक दीप प्रज्वलन गरे। सन् १९८० को मस्को ओलम्पिकमा सहभागिता जनाएका धरानका पोमाले पूर्वाञ्चलकै पहिलो ओलम्पियन हुन्।

मस्कटमा पूर्वको पहिचान

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मस्कटमा पूर्वको सुनसरी जिल्लामा रहेको कोशी टप्पु बन्यजन्तु आरक्षमा पाइने अर्नालाई समावेश गरिएको छ। प्रतियोगिताको उद्घाटन समारोहमा अर्नको मस्कट लगाएका मानिसहरुको नाच पनि विशेष आकर्षक रह्यो। खेलाडीहरुले मार्चपास गर्नुअघि अर्नाको मस्कट लगाएका कलाकारहरुले मार्चपास र मैदानमा नृत्य गरेका थिए। राष्ट्रपति विद्या भण्डारीले मन्तब्यको क्रममा पूर्वाञ्चलमा पाइने अर्नालाई मस्कटको रुपमा प्रयोग गरेकोमा सह्राहना गरिन्।

थप फोटोहरु हेर्नुस् :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.