काठमाडौं : बुबा तत्कालीन नेकपा माओवादीमा आबद्ध थिए। राजनीतिमा लागेको बुबा इमान्दार थिए। राजनीतिलाई सेवा मान्थे। जसको प्रमाण उनकी आमाले फेर्न नसकेको चोलो र गुन्योले प्रस्टै देखाउथ्यो। एकदिन आर्मीले उनको घरमा खोजतलास गर्यो।
गरिबको घरमा के हुन्थ्यो र? कपडा र थोत्रा भाँडाबाहेक।दिनदिनै आर्मी घर धाउन थालेपछि बुबा भारततिर हराए। त्यतिबेला कर्ण कक्षा ३ मा पढ्थे।
आमाले बगाएको पसिनाको दानाले पेट भर्ने अवस्था रहेन। उमेर बढ्दै गयो। देशमा लोकतन्त्र आयो। तर, उनको घरमा स्वतन्त्रता आएन। कारण साहुको ऋण चुलिँदै गयो। आर्मी आउने घरमा अब साहु आउन थाले। कक्षा ८ मा पढ्थे कर्ण। मेसिनरी सामान मर्मत सिक्दै गरेका कर्ण गाउँबाट एकाएक हराएर मुम्बई पुगे।
मुम्बईमा भेटिए
'मुम्बई पुगेर सात महिना मर्मतकै काम सिके अनि नेपाल फर्किए', काम गरे पनि पैसा कमाइएन। इज्जत पाइएन। बस्न मन लागेन।'
माइतीघरको एक भवनमा आफ्नै सुरमा एसी मिसिन मर्मत गरिरहेका उनी आफ्नो अतीततिर फर्किए। उनलाई आफूले भोगी आएका ती कहालीलाग्दा दिन सम्झिन एक रत्ती पनि मन छैन। तर, अहिले आएको आफ्नो जिन्दगीमा परिवर्तन तिनै समस्या जगले बनाएको मान्छन् उनी।
मासिक एक लाख कमाउने क्षमता
अहिले उनले मासिक लाख कमाउन सक्ने क्षमता राख्छन्। उनी भन्छन्, 'क्षमता छ, सीप छ, इमान्दार भएर आफ्नो काममा कटिबद्ध हुनुपर्छ। काम तपाईंलाई खोज्दै आइपुग्छ।'
बाबुआमाले आफ्नो ऋण तिर्ने एक मात्र विकल्पका रूपमा कर्णलाई देखेका थिए। उमेर भर्खर २० लाग्दै थियो। जसोतसो किसानी काम गर्दै थिए। कसैले विदेशमा पैसा कमाइन्छ भन्ने सुनाइदियो। उनका मनमा फुरौला उफ्रे। पैसा कमाएको कल्पना गर्थे। सपनामा विदेशका ठूलाठूला भवनको मात्र दृश्य आउथ्यो। उनी भन्छन्, 'आमाको फरिया फेर्ने धोको यति धेरै थियो कि जस्तोसुकै काम गर्न पनि म तयार थिएँ।'
कर्णले पासपोर्ट बनाए। हरियो पासपोर्टमा कतारको भिसा ठोके। र, चढे सपनाको जहाज। कतारमा पुगेर उनी चार वर्ष बसे। घरको ऋण तिरे। आमालाई फरिया फेरे। बैनीको बिहे गरिदिए।
१७ लाख बोकेर नेपाल
विस्तारै विदेशमा पनि उनलाई बस्न मन लागेन। विदेशमा पैसा छ तर जीवन छैन भन्ने सोचमा पुगे उनी। घरका बूढा बाबुआमा सम्झिए। सानो भाइ याद आयो। आफूले कमाएको पैसाले देशमै केही गर्छु भनेर १७ लाख बोकेर नेपाल आए। उनी भन्छन्, 'विदेशमा पैसा छ तर जीवन छैन।'
कालो वर्ण, हसिलो अनुहार। कर्ण दास फिस्स हास्छन्। कतार बस्दाताकाका दिन सम्झन्छन्, 'सीप सिकेर जाँदा विदेशमा कमाइ राम्रो छ। तर, सिप सिकेपछि विदेश नै जानुपर्छ भन्ने छैन।'
आफ्नो देशमा जस्तो स्वतन्त्र रूपमा सम्मानजनक रूपमा बाँच्न पाइँदैन। कतिपय समस्या आउँदा बिनाअपराध सजाय भोग्नुपर्छ। उनी भन्छन्, 'मेरा कतिपय साथीहरू लेवर काम गर्थे। उनीहरू तातो घाममा काम गर्न नसकेर अन द स्पट लडेको दुखेको छु।' जहाँ मान्छेलाई कुनै सम्मान छैन। त्यहाँ मान्छेहरू पुग्नलाई भागदौड देख्दा अच्चमित मान्छन् उनी। सायद सबैलाई आफ्नै जस्तो समस्या त होला भनिठान्छन् उनी।
तपाईंको ईमेल गोप्य राखिनेछ ।