|

विराटनगर : आर्थिक वर्षको अन्‍त्‍य हुनै लाग्दा सबै सरकारी कार्यालयमा चेक काट्ने लाइनका फाइलको चाङ छ। बजेट निकासामा आउने उपभोक्ता समिति, निर्माण कम्पनीका प्रतिनिधिदेखि संघ संगठन र व्यक्तिको भीड कम छैन। यसै सन्दर्भमा आर्थिक वर्षको अन्त्‍य हुन साता बाँकी छँदा प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयको पूँजीगत खर्चको अवस्था के छ? आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि के कस्तो तयारी छ? यिनै विषयमा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोसँग थाहाकर्मी अर्जुन आचार्यले गरेको संक्षिप्त कुराकानी :

– आजसम्ममा पूँजीगत खर्चको अवस्था के छ र अन्तिमसम्ममा कति प्रतिशत हुने अपेक्षा छ?

हालसम्म ४४ प्रतिशत पूँजीगत खर्च भएको तथ्यांक हामीसँग छ। भौतिक प्रगति भइसकेको भुक्तानीको काम भइरहेकोले ५५ प्रतिशतभन्दा माथि ६० प्रतिशत नजिक पुग्ने अपेक्षा छ।

– नयाँ बजेटको अख्तियारी कहिलेदेखि मन्त्रलायले दिने तयारी गरेको छ?

बजेट कार्यान्वयन मार्गनिर्देशन हाम्रो मन्त्रालयले तयार गर्दैछ। साउन १ गतेबाट नै बजेटको अख्तियारी दिने गरी काम सुरु हुन्छ।

– प्रदेशले गरेको खर्चको अनुगमन नभएको र जथाभावि विकास निर्माणको काम गरेको स्थानीयबाट गुनासो आएको छ। खासमा के कुरा हो?

अनुगमन हुन्छ हुँदैछ। कानुनबमोजिम विकासको काम भइरहेको छ खर्च पनि कानुनबमोजिम नै छ। बाहिर आएको हल्ला मात्रै हो।

– असारमा ठूलो बजेट खर्च हुँदा दुरुपयोगको आशंका गरिएको छ। कतिपय मन्त्री नभएका मन्त्रालयको विषयमा अख्तियारले अनुसन्धान पनि सुरु गरेको सुनिएको छ नि?

यसपाली अलि ढिला गरी कार्यान्वयन भएर काम असारसम्म भएको हो। आगामी वर्ष यो समस्या दोहोरिँदैन। यद्यपि विकासको काम सन्तोषजनक नै भइरहेको छ। विभागीय मन्त्री नियुक्ति नभए पनि मुख्यमन्त्रीले सम्हालिरहनु भएको छ। कानुनबमोजिम नै खर्च भइरहेको छ। काम सन्तोषजनक छ। गलत भएको पाइए, अनियमितता वा भ्रष्टाचार भएको देखिए छानबिन गर्ने निकायले अनुसन्धान गर्नु राम्रो कुरा हो।

– सरकार विस्तारको तयारी छ कि छैन ?

मन्त्रिमन्डल थपघट मुख्यमन्त्रीको क्षेत्रधिकारको विषय हो। पार्टीसँग परामर्श गरेर चाँडै सरकार विस्तार गर्ने बुझेको छु।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.