|
तस्वीर क्याप्सन : योजनाको अनुगमन गर्दै सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार तथा योजनामन्त्री पठानसिंह बोहरा।

डडेल्धुरा : डडेल्धुराको नवदुर्गा गाउँपालिका–१ कोटेलीस्थित मनसुता सिँचाइ योजना निर्माण सुरु भएको ३३ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन।

२०४३ सालमा पहिलो पटक सरकारी बजेट प्राप्त गरी सुरु भएको योजना ३३ वर्षसम्म पनि निर्माण कार्य पूरा हुन सकेको छैन। हरेक वर्ष रातो किताबमा पर्ने मनसुता सिँचाइ योजनामा स्थानीयहरुबीच उपभोक्ता समिति गठन र मुल छनोटका विषयमा विवाद हुँदा लामो समयसम्म पनि योजनाको काम हुन नसकेको हो।

सिँचाइ योजनाका लागि हरेक वर्षजसो रकम विनियोजन भइरहेको छ। संघीय सरकारबाट बजेट विनियोजन भइरहेको यस योजनामा पछिल्लो समय आर्थिक वर्ष २०७४/०७५ बाट भने निरन्तर काम भइरहेको बताइएको छ। तर, उपभोक्ताहरुमा भने अझै विवाद कायम छ।

योजनाको मुहान भएको स्थानमै पानी कम भएको र उक्त पानीले सिँचाइ सम्भव हुन नसक्ने उपभोक्ता पदम ओलीको दाबी छ। ‘मुहानमा पानी कम छ। सिँचाइ हुने क्षेत्र ठूलो छ,’ उनले भने, ‘३३ वर्षसम्म विभिन्न सरकारका बजेट त्यो खोलाको मुहानमै बग्दै आएको छ। तर, गाउँसम्म पानी पुग्ला भन्ने लाग्दैन।’

योजनाको काममा ढिलासुस्ती भएको र योजना सम्पन्न हुनेमा आफूहरुलाई आशंका रहेको उपभोक्ताहरुको आरोप छ। योजना निर्माणका लागि उपभोक्ता समिति र टेण्डर प्रक्रियाबाट काम अगाडि बढाइएको भएपनि निर्माण सम्पन्न सुने समयसीमा पछाडि धकेलिइरहेको छ।

आर्थिक वर्ष २०७४/०७५ मा उपभोक्ता समितिमार्फत ४३ लाख र टेण्डर मार्फत १९ लाख ५० हजारको काम भएको उपभोक्ता समितिका अध्यक्ष दानबहादुर ओलीले बताए। जम्मा ५ किलोमिटर लम्बाई रहेको उक्त योजनाको अहिलेसम्म ४ हजार ७ सय ६० मिटर पाइप जडान भएको छ भने मुख्य इन्टेक र रिजर्भ ट्यांकी निर्माणको काम भइरहेको छ।

चालू आर्थिक वर्षमा ५० लाख रुपैयाँ रकम विनियोजन गरिएको भएपनि हालसम्म १० लाख रुपैयाँ बराबरको काम मात्रै भएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, डडेल्धुराका कार्यालय प्रमुख मेघराज अवस्थीले बताए।

सिँचाइ योजना सम्पन्न भएपछि यहाँका ओलीगाँउ, डुङरा, गुन्याला, उधीनालगायतका गाँउहरुमा सिँचाइ सुविधा पुग्नेछ। तर, यसै वर्ष योजना सम्पन्न हुनेमा डिभिजन कार्यालय र उपभोक्ता समिति क्रियाशिल रहेको भएपनि उपभोक्ताहरुमा भने आशंका रहेको छ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, डडेल्धुराका कार्यालय प्रमुख अवस्थीका अनुसार यो वर्ष गाउँमा पुर्‍याउने उद्देश्य रहे पनि भिर बाधक बनेको बताउँछन्। उनले भने, ‘यो वर्ष सबै काम लगभग सकिँदै थियो, ठूलो भिरमा पाइपलाई बिछ्याउने कामले समस्या भयो। यसको समाधान खोज्दैछौं’ सिँचाइ योजना सम्पन्न गर्न उनले थप बजेटको मागसमेत गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.