|

धनकुटा : चार दिनदेखि परेको अविरल वर्षाको कारण धनकुटाको धेरै स्थानको जनजीवन प्रभावित भएको छ। पहिरोका कारण विभिन्न स्थानमा करिब २०० घरमा क्षति पुगेको छ।

धनकुटामा रहेको सात स्थानीय तह मध्ये छथर जोरपाटी र चौबिसे गाउ“पालिका तथा धनकुटा, पाख्रिबास र महालक्ष्मी नगरपालिका क्षेत्रमा बढी क्षति पुगेको स्थानीय प्रशासनले जनाएको छ। दुई दर्जन बढी घर भत्किएको र अन्य आंशिक क्षति भएको जिल्ला प्रहरी प्रमुख एसपी सुदर्शन कोइरालाले जानकारी दिए। त्यस्तै पहिरोको कारणले एक विद्यालय र दुई प्रहरी चौकीमा समेत क्षति पुगेको छ एसपी कोइरालाले बताए। 

महालक्ष्मी नगरपालिकाको ३, ५, ८ र ९ मा १२ घरमा क्षति पुगेको नगरपालिका प्रमुख पर्शुराम नेपालले बताए। उनले नगरपालिकाको तर्फबाट सम्बन्धित वडाअध्यक्षलाई तत्काल राहात उपलब्ध गराउन अनुरोध गरिएको र काम भइरहेको बताए। 

महालक्ष्मी नगरपालिकाको जीतपुर बजारस्थित प्रहरी चौकी र छथर जोरपाटीको सिधुवा बजारमा रहेको प्रहरी चौकी पहिरोको जोखिम परेका छन। यस्तै, पाख्रिबास नगरपालिका ५ स्थित घोर्लिखर्कमा तीन घरमा क्षति पुगेको छ। स्थानीय युवराज कार्की, चक्रबहादुर निरौला र ५ का वडाध्यक्ष गोपालबहादुर थापाको घरमा पहिरोले क्षति पुगेको पाख्रिबास नगरपालिका प्रमुख विर्खबहादुर राईले जानकारी दिए।

धनकुटा नगरपालिका ७ चुलिबनका लक्ष्मी लावतीको घरमा पनि क्षति पुगेको छ। सहिदभूमि गाउँपालिका ३ मा रहेको अजम्बरी प्राथमिक विद्यालयको भवन भत्किदा पठनपाठन बन्द भएको विद्यालयका प्रअ लोकेन्द्र राईले बताए। यसैगरी, मध्यपहाडी लोकमार्गअन्तर्गत हिले-लेगुवा-भोजपुर सडकमा तीन दिनदेखि यातायात अवरुद्ध भएको छ।

सडकको करिब दश ठाउँ भन्दा धेरै स्थानमा पहिरो खसेको र माङमाया खोलामा रहेको अस्थायी ड्राइभर्सन बाढीले बगाएपछि सडक अवरुद्ध भएको हो। यस्तै मुलघाट-त्रिवेणी सडक, तमोर करिडोर र सिधुवा-लेगुवा सडक समेत अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले जानकारी दिए।

सडक अवरुद्ध भएपछि विच बाटोमा अलपत्र परेका यात्रुको घटनास्थलबाट उद्धार गरिएको उनले बताए। यस्तै पहिरोका कारण छथर जोरपाटीमा रहेको धनकुटाकै एक मात्र सिमेन्ट उद्योग निगाले सिमेन्ट उद्योगमा पहिरोको क्षति पुर्‍याएको छ। करिब दुई सय मिटर क्षेत्रफल पहिरोले क्षति पुगेको सञ्चालक दिनेश पौडेलले बताए। नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले उद्धार गरेका छन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.