|

टर्कीमा वृक्षारोपणका लागि विशेष दिन छुट्याइने भएको छ। उक्त दिन सिंगो देश वृक्षारोपणमा सामेल हुनेछ। एक युवकले ट्विटमार्फत सुझाएको यो आग्रहमा राष्ट्रपति एड्रोगानले प्रतिक्रिया दिएपछि उक्त ट्विट भाइरल बनेको छ।

इनेस साहिन नामका युवकले 'वृक्षारोपणका लागि विशेष दिन छुट्याउन' ट्विटरमार्फत अभियान चलाएका थिए। वृक्षारोपणका लागि राष्ट्रिय बिदाको माग गर्दै चलाइएको उक्त अभियानमा क्रमश: अन्य नागरिक जोडिँदै गए।

'एउटा आइडिया फुर्‍यो! किन हामी ट्री प्लान्टिङ होलिडे घोषणा गर्दैनौं? हामी ८ करोड २० लाख जनताले यस्तो एउटा दिन छुट्याऔं, जुन दिन केवल वृक्षारोपण कार्यमा सरिक हुन सकियोस्। आउनोस्, हरियाली छरेर संसारकै लागि र हाम्रा भावी पुस्ताका लागि उदाहरण बनौं,' इनेसले आफ्नो पोष्टमा भनेका छन्।

 

उक्त पोष्ट तुरुन्तै भाइरल भयो, जसमा टर्की सरकारका अधिकारीहरूको पनि आँखा पर्न गयो।

त्यहाँकी सांसद तथा एके पार्टीकी युवा नेतृ रुमिसा कडकले ट्विटरमै प्रतिक्रिया दिइन्, 'काइदाको विचार! तपाईंको प्रस्ताव, भोलिको बैठकका लागि छलफलको पहिलो विषय हुनेछ।'

 

त्यसपछि रुमिसाले साहिनलाई भेटिन्। भेटपछि उनले अर्को ट्विट गर्दै भनिन्, 'छिट्टै खुसीको समाचार आउँदैछ। हामी हरित टर्की र हरित विश्वका लागि खुसीको खबर सुनाउँदैछौं।'

उनले ट्विट गरेको केही घण्टापछि राष्ट्रपति एड्रोगाले उक्त अभियानको स्वागत गर्दै ट्विट गरे। वृक्षारोपणका लागि खास दिन छुट्याउने संकेत गर्दै उनले भने, 'इनेस, यो एकदमै उत्तम विचार हो। हामी सदैव टर्कीलाई हराभरा बनाउन क्रियाशील छौँ। र, भविष्यमा पनि रहनेछौँ। हामी अवश्य राष्ट्रिय वृक्षारोपण दिवस मनाउनेछौँ, म र मेरा साथीहरू मिलेर त्यसको जिम्मेवारी लिने कुरामा आश्वस्त पार्न चाहन्छु।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.