भन्छन् : ऋण लाग्यो, तिर्ने उपाय छैन

|

विराटनगर : बराह क्षेत्र नगरपालिका-३ बिचपानी निवासी श्यामकुमार बस्नेत 'जमर्को' माओवादी सशस्त्र युद्धका घाइते योद्धा हुन्।

तत्कालीन राज्यसत्ताविरुद्ध लड्दा उनले दाहिने खुट्टा गुमाएका छन्। त्यसबेलाको विद्रोही अहिले सत्ताको बागडोर सम्हालेर बसेको छ। तर उनलाई भने श्रीमतीको अप्रेसन गर्दा लागेको ५० हजार ऋण तिर्ने कुनै बाटो छैन। ‘हिलोमा काम गर्न सक्दिनँ। सुख्खामा काम गरेर परिवार पाल्नै मुश्किल छ’, उन यसरी दु:ख बेसाउँछन्।

आफ्नो तीन कठ्ठा र आफन्तको ६ कठ्ठामा खेती गरेर पेट पाल्दै आएका छन्। श्रीमतीअम्बिकालाई पथरिया भएपछि अपरेसन गरे। त्यही ऋण अझै तिर्न नसकेको उनी सुनाउँछन्। उनका साथमा एक जना ९ वर्षीय छोरा छन्। 

गणतन्त्र स्थापनाको मूल लक्ष्य लिएर तत्कालीन नेकपा माओवादीले १० वर्षसम्म सशस्त्र युद्ध गर्‍यो। युद्धमा हजारौंको मृत्यु भयो, हजारौं घाइते भए, सयौं अहिले पनि वेपत्ताको सूचीमा छन्। सशस्त्र युद्धको नेतृत्व गर्ने पार्टी नै अहिले दुईतिहाइ मतसहित सरकार चलाइरहेको छ। तर नयाँ संविधानमार्फत् गणतन्त्रको लक्ष लिएर बन्दुक समातेर युद्धमा होमिएका कयौं घाइते योद्धाको अवस्था अहिले पनि दयनीय छ। 

सबैलाई समान देख्‍ने, सबैलाई बराबरी देख्‍ने, सबैलाई न्याय गर्ने शासन व्यवस्था ल्याउने परिकल्पनासहित युद्धमा होमिएका संखुवासभाका कुलबहादुर कार्की 'आनन्द' युद्धकै दौरानमा घाइते भए।

पाँचथरको गाोपेटार, सिन्धुलीको भिमान र भोजपुरको लडाईंमा सहभागी कार्की सिन्धुलीको भिमानमा घाइते भए। शत्रु पक्षबाट फालिएको थर्टी सिक्स ग्रिनेट उनकै अघिल्तिर पड्कियो।

थर्टी सिक्स ग्रिनेडका छर्राहरू अनुहार र टाउकोमा जताततै गाडिए। आँखा तत्कालै बन्द भयो। त्यो घटना अहिले पनि उनलाई ताजै छ। तर, लक्षअनुसार देश नबनेको देख्दा उनलाई खुब चिन्ता लाग्छ। त्यति मात्रै होइन पार्टी र नेताले युद्धमा रगत बगाउनेलाई सम्मान गर्न नसकेकोमा पनि उनको असन्तुष्टि छ।

‘पार्टीका लागि जीउज्यान दिन तयार भएर हिँडेका हामीलाई नेताले अहिले सम्झिएको जस्तो काहिँ कतै लाग्दैन’, उनले भने। संखुवासभाका खगेन्द्र अधिकारी 'भूमि' ओखलढुंगाको रुम्जाटार भिडन्तमा घाइते भए।

‘मेरो दाहिने आँखा नदेख्ने भयो भने देब्रे आँखाको भित्री रानी कोरिएको छ। टाउको र शरीरका विभिन्‍न भागमा छर्रा छन्’ अधिकारीले भने,‘अहिले पनि टाउकोभित्र खर्लङ खर्लङ हल्लिन्छ। टाउकोमै कति छर्रा छन्? कुनै टुंगो छैन।’ 

घाइते योद्धा प्रतिष्ठान प्रदेश १ ले विराटनगरमा आयोेजना गरेको २ दिने कार्यक्रममा प्रदेशका झण्डै एक सयजना घाइतेकाे उपस्थिति थियो। सबैको दुःख र पीडा उही र उस्तै छ। कसैको आँखा छैन, कसैको खुट्टा छैन, कसैको हात छैन, कसैको जीवनमा गोली नै गोली छ, कसैको शरीरमा बमका छर्रै छर्रा छ। उनीहरूलाई हेर्दा थाहा हुन्छ गणतन्त्र त्यति सजिलै आएको होइन।

‘युद्धमा घाइते भएकाको त्याग, तपस्या र बलिदानबाटै अहिलेको परिवर्तन सम्भव भएको हो’, कार्यक्रममा उपस्थित १ प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे बताउँछन्, ‘हामीले योद्धाको योगदानलाई कम आँक्न मिल्दैन।’

तत्कालीन युद्धमा घाइते भएकाको वर्गीकरण गर्ने, सीप भएकालाई रोजगार दिने, नभएकालाई तालिम, गोली र छर्रा बोकेर बसेकाको उपचार गर्ने उद्देश्यका साथ प्रदेशमा घाइते योद्धा प्रतिष्ठान खुलेको छ। उक्त प्रतिष्ठानको तथ्यांकअनुसार हाल प्रदेश १ मा झण्डै ५०० को हाराहारीमा घाइतेकाे संख्या छ।

घाइतेको पीडामा मल्हम लगाउने प्रयास गरिरहेको प्रतिष्ठानका अध्यक्ष मणिकुमार राई 'विजय' बताउँछन्। प्रतिष्ठानले चालू आर्थिक वर्षमा प्रदेश सरकारको आर्थिक सहयोगमा तथ्यांक संकलन गरेको छ।

३५ जना घाइतेको जीवन गाथाको संगालो नमेटिने घाउहरू नामकाे पुस्तक प्रकाशनको अन्तिम चरणमा छ। तर घाइतेको जीवनमा परिवर्तन ल्याउने गरी प्रतिष्ठानले गरेको पहलमा सरकारले कति सहयोग गर्छ त्यो भने हेर्न बाँकी रहेको घाइते योद्धा राम कार्की बिमलको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.