|

जनकपुरधाम : चालु आर्थिक वर्षको आज अन्तिम दिन होटलबाट उद्योग पर्यटन तथा वन मन्त्रालय अन्तर्गतका वन निर्देशनालयका कर्मचारीले उपभोक्ता समितिलाई भुक्तानी दिएको खुलेको छ।

वन निर्देशनालयका कर्मचारी प्रिन्टर, ल्यापटप, कार्यालयका कागजात र छापसहित होटलमा बसेर उपभोक्ता समितिलाई भुक्तानी दिएको हो। जनकपुरस्थित होटल सिटीबाट भुक्तानी भइरहेका बेला सञ्चारकर्मी पुगेपछि भागाभाग मच्चियाे। 

इन्जिनियर युनुस राइन, राजपा सांसद रानीशर्मा तिवारी र उपभोक्ता समितिहरू भागेका थिए। होटलमा दर्जनौं उपभोक्ता समिति थिए। सञ्चारकर्मी पुगेपछि उनीहरू समेत फाइल बोकेर बाहिर निस्केका थिए। कर्मचारी किन होटलबाट काम गरिरहेको विषयमा बोल्न मानेनन्। नाम भन्न नचाहेका एक उपभोक्ता समितिका व्यक्तिले वन निर्देशनालयमा भीड धेरै भएपछि यहाँ आएर कर्मचारीले काम गरिरहेको बताए।

उपभोक्तालाई भुक्तानी दिलाउन होटल पुगेका सांसद शर्माले कार्यालयमा अत्यधिक भीड रहेका कारण यहाँ आएर कर्मचारी काम गरिरहेको बताइन्। उनले कामको मूल्यांकन भइसकेको र कागजात मात्र यहाँ तयार पारिरहेको पनि बताइन्। उनले भनिन्, ‘यहाँ आएर काम गरिरहेका कर्मचारीले गल्ती गरेको छैन।’
मन्त्रालयले पर्यटन पूर्वाधारका लागि ५० करोड विनियोजन गरेको छ। तर कुनै जिल्लामा टेण्डर मार्फत काम गराएको छैन।

सबै जिल्लामा आफ्ना कार्यकर्तालाई मन्त्री रामनरेश रायले उपभोक्ता बनाएर काम दिएका छन्। उपभोक्ता समितिल एउटै काम सम्पन्न गरेका छैन। तर आर्थिक वर्ष सकिन लाग्दा होटलमै बसेर मूल्यांकन गरी भुक्तानी गरिरहेका छन्।

सोमवार कर्मचारी होटल वेलकममा काम गरे। होटलमा काम भइरहेको थाहा पाएपछि राज्यमन्त्री सुरेश मण्डल त्यहाँ पुगेका थिए। त्यसपछि त्यहाँबाट कर्मचारी भागेर होटल सिटी स्टारमा पुगेको थियो। स्रोतका अनुसार इन्जिनियर राइन र केही कर्मचारी विगत एक सातादेखि होटलमै बसेर काम गरेका छन्।

काम सम्पन्न नभए पनि मन्त्री रायको ठाडो निर्देशनमा कर्मचारी कमिशन लिएर उपभोक्ता समितिलाई भुक्तानी गरिरहेका छन्। स्रोतका अनुसार कर्मचारी १० प्रतिशत र मन्त्री समेत १० प्रतिशत कमिशन लिएर भुक्तानी गरेका हुन्।

होटलमा काम भइरहेकोबारे निर्देशक अनभिज्ञ

कर्मचारी कार्यालयको सबै कागजात होटलमा लगेर काम गरिरहेकाबारे निर्देशनालयका निर्देशक जगदिशप्रसाद महतो अनविज्ञता जनाए। उनले कार्यालयको समयमा यही बसेर काम गरिरहेको तर अन्य समयमा कर्मचारी के गर्छन् भन्ने विषयमा थाहा नभएको बताए। उनले कमिशन लिएर कुनै कर्मचारीले भुक्तानी नदिएको दावी समेत गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.