मुख्यमन्त्री र मेराबीच फाटो ल्याइयोः प्रदेश सभासदस्य घर्तीमगर

|

बुटवल : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल केही दिन यता ‘तनावमा’ छन्। उनले सबैखाले कार्यक्रममा एउटै मात्र कुरा भनिरहेका हुन्छन्-तथ्यमा आधारित भएर बोलौं।

मंगलबार प्रदेश सभालाई संबोधन गर्दै पुनः उनले तथ्यलाई बङ्गयाएर निरासाको खेती नगर्न सबैलाई आग्रह गरे। केही दिन अगाडि सञ्चारमाध्यममा आएका समाचारलाई लिएर निराश बनेका मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जालमार्फत पनि असन्तुष्टि पोखेका थिए।  

कसले बनायो मुख्यमन्त्रीलाई निराश? 

असार २९ गते आइतबार प्रदेश सभाको बैठक चल्दै थियो। सोही बैठकमा विषेश समय लिएर प्रदेश सभा सदस्य तथा नेकपाका नेता तुलराम घर्तीमगरले प्रदेश ५ सरकारले गोष्ठीका नाउँमा १५ दिनमा डेढ अर्ब बढी रकम खर्च गरेको दावी गरे। सञ्चारमाध्यमले सोही व्योहोराका समाचार छापे। त्यो कुरा मुख्यमन्त्रीलाई चित्त बुझेन। उनले एक अनलाईन समाचारको लिंक सामाजिक संजालमा सेयर गर्दै लेखे,‘यस्तो तथ्यहीन समाचार नछापेको भए हुन्थ्यो।’ 

मंगलबारको प्रदेश सभा बैठकलाई सम्बोधन गर्न आएका मुख्यमन्त्री शंखर पोखरेलले फेरी पनि सोही असन्तुष्टिलाई दोहोर्‍याए। ‘केही मान्छेहरू निराशाको खेती गर्नुलाई दायित्वकै रुपमा लिएका हुन्छन्’ उनले भने,‘तथ्यहीन कुरा गरेर भर्खर बामे सर्दै गरेको प्रदेश र प्रदेशसभा सदस्यकै गरिमामा आँच आउन सक्छ।’ 

प्रदेश सभा कै कार्य क्षमतामाथि प्रश्न उठ्न सक्छः मुख्यमन्त्री 

प्रदेश सभामा बोल्दै मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले गोष्ठी र सेमिनारमा मात्रै १५ दिनमा डेढ अर्ब रुपयाँ खर्च गरेको भन्ने कुरामा सत्यता नभएको दाबी गरे। उनले प्रदेशसभाबाटै पारित गरेको बार्षिक कार्यक्रम अन्तर्गत नै गोष्ठी, सेमिनार भइरहेको दावी गर्दै त्यस्ता शीर्षकमा १५ दिनमा नै कुल डेढ अर्ब बजेट खर्च भएको भन्नु आधारहीन कुरा भएको बताए।  

मंगलबार प्रदेश सभामा विषयवस्तुको बारेमा अध्ययन नगरी सार्वजनिक गरिने त्यस्ता विषयले समाजमा नकारात्मक सन्देश जानुका साथै प्रदेशसभा सदस्यकै कार्य क्षमतामा समेत प्रश्न्न चिन्ह खडा हुने भन्दै मुख्यमन्त्री पोखरेलले आफ्नो नैराश्यता पोखेँ। मुख्यमन्त्री पोखरेलले प्रदेशसभामा कुरा उठाउदा विषय वस्तुको गाम्भीर्यतालाई ख्याल गरेर र विषयवस्तुको अध्ययन गरेर मात्रै आवाज उठाउन प्रदेशसभा सदस्यलाई सुझावसमेत दिए।  

मुख्यमन्त्री र मेराबिच फाटो ल्याउने काम भयोः सांसद घर्तीमगर 

गत आइतबार प्रदेश सभा बैठकमा ‘तथ्यहीन’ कुरा गरेको भन्दै आलोचित बनेका प्रदेश सभा सदस्य तुलराम घर्तीमगरले आफूले भनेका कुरालाई तोडमोड गरेर मुख्यमन्त्री र आफूबीच फाटो ल्याउने काम भएको बताएका छन्। मंगलबारको प्रदेशसभा पछि प्रतिक्रिया दिंदै प्रदेश सांसद घर्तीमगरले आफूले १५ दिनमा निकासा भएको सबै बजेटको कुरा गरेको भए पनि मिडियामा गोष्ठी र सेमिनारलाई मात्र केन्द्रमा राखेर समाचार आएको भन्दै असन्तुष्टि पोेखेँ।  

‘मैले एक दैनिक पत्रिमा आएको समाचारको आधारमा १५ दिनमा निकासा भएको सबै बजेटको आकारबारेमा बोलेको थिएँ’ उनले भने, ‘तर समाचार माध्ययममा मैले गोष्ठी र सेमिनारमात्रै उक्त बजेट निकासा भएको भन्ने आशयका समाचार छापिए। यसले मुख्यमन्त्री र मेरा बोचमा फाटो सिर्जना गरेको छ।’

प्रदेश सांसद घर्तीमगरले पाल्पा निर्वाचन क्षेत्रनं २(२) मा तत्कालीन माओबादी केन्द्रबाट निर्वाचन जितेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.