|

काठमाडौं : महानगरपालिकाले महानगरभित्र फोहोर सङ्कलन गर्ने निजी संस्थाहरुलाई दर्ता गर्ने भएको छ। अहिलेसम्म निजी संस्थाले आफूखुशी फोहोर सङ्कलन गर्दा एकातिर समन्वय नभएको र अर्कातिर राजश्व नआएको भन्दै महानगरले निजी संस्था दर्ता प्रक्रिया अघि बढाउन लागेको हो। 

अहिले निजी कम्पनीले दैनिक ८० देखि १०० टिपर फोहोर सिसडोलमा विसर्जन गर्दै आएका छन्। उनीहरुले त्यसरी विसर्जन गरेको फोहोरवापत काठमाडौं महानगरपालिकालाई प्रतिटिपरको  ३५० बुझाउने गरेका छन्। उनीहरुले दिने सेवा र लिने शुल्कमा एकरुपता ल्याउनका लागि पनि सूचीकृत गर्न लागिएको महानगर वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले बताए। उनले भने, ‘हामी छिट्टै नै निजी संस्थालाई सूचीकृत गर्न शुरु गर्नेछौँ।’

महानगरपालिकाका ३२ वडामध्ये अहिले आठ वडामा महानगरपालिका आफैँले र २४ वडामा निजी संस्थाले फोहर सङ्कलन गर्दै आएका छन्। काठमाडौँ महानगरपालिकाले दैनिक ३५० मेट्रिकटन फोहोर आफैँ सङ्कलन गरेर सिसडोलमा व्यवस्थापन गर्दै आएको प्रमुख श्रेष्ठले जानकारी दिए। सो कार्यका लागि महानगरपालिकासँग आफ्नै २१ टिपर छन्। काठमाडौँ उपत्यकाका १८ पालिकाले सिसडोलमा फोहर विसर्जन गर्दै आएका छन्। सरकारले फोहोर विसर्जनका लागि नुवाकोट जिल्लाकै बञ्चरेडाँडामा ल्याण्डफिल साइट निर्माण गरिरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.