जेलबाट छुटेर फेरि अपराध, लुट्थे अरुको गाँजा

|
पक्राउ परेका कुमारलाई सार्वजनिक गरिँदै

हेटौंडा : मकवानपुरमा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रहरी माथि गोली चलाउने ४३ वर्षीय कुमार भन्ने राजु स्याङतान पक्राउ गरेर सार्वजनिक गरेको छ ।  

शनिबार राति साढे १२ बजे प्रहरीले विशेष सुराकीको आधारमा तस्करलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि गोली चलेको थियो । 

तस्कर र प्रहरीबीच गोली हानाहान हुँदा गाँजा तस्करको नेतृत्व गर्ने स्याङतानलाई प्रहरीले आज सार्वजनिक गरेको हो। प्रहरीले गरेको पत्रकार सम्मेलन गर्दै घटनाबारे जानकारी दिएको छ।  

प्रहरीले मनहरी गाउँपालिका-९ रजैयाबाट राक्सिराङ गाउँपालिका–१ ढुङ्गेन बस्ने स्याङतान सहित ४–५ जनाको टोलीले तस्कर गरेको  ३१ किलो ४ सय ग्राम गाँजा  बरामद गरेको हो । 

स्याङ्तान पक्राउ परे पनि अन्य चार जना भने भाग्‍न सफल भएको प्रहरीले बताएको छ ।  यस्तै स्याङ्तानको साथबाट कटुवा पेस्तोल एक नाल, फायर भएको गोलीको खोका १ राउण्ड, लाइभ राउण्ड ५ थान बरामद गरेको हो। 

तस्कर स्याङ्तानलाई समात्न खोज्दा प्रहरी निरीक्षक अनिश बुढाथोकीको नेतृत्वमा गएका ११ जना प्रहरी टोलीमध्ये प्रहरी सहायक निरीक्षक नवीन विक्रम थापा सामान्य घाइते भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक यज्ञ प्रसाद भट्टराईले बताए। 

खतरनाक तस्कर

कुमार भन्‍ने राजु स्याङ्तानलाई प्रहरीले पक्राउ गरेसँगै अर्को रहस्य बाहिर आएको छ । स्याङ्तान खतरनाक तस्कर भएको खुलासा भएको हो । पक्राउ परेपछि प्रहरीले हेरेको स्याङ्तानको अपराधिक पृष्ठभुमि अनुसार ‘वान्टेड’को रुपमा स्याङ्तान रहेका थिए । 

उनले मकवानपुर हुँदै तस्कर हुने लागुऔषधमा हक जमाउने गरेको पाइएको छ । विभिन्न समयमा अन्य लागूऔषध तस्करहरुसँग उनले लागूऔषध गाँजा खोस्ने गरेको पाइएको छ । 

इलाका प्रहरी कार्यालय मनहरीका अनुसार उनी विभिन्न सामान्य घटनादेखि ठुलासम्म कतै न कतै जोडिने गरेको पाइएको प्रहरीले जनाएको छ ।

उनले मकवानपुरको गाँजा उत्पादन क्षेत्र मानिने राक्सिराङ, कैलाश गाउँपालिकाका किसानहरुलाई भरिया बनाएर विभिन्न समयमा प्रहरीको आँखा छारो हालेर गाँजा तस्कर गर्ने गरेको प्रहरीको दाबी रहेको छ ।  

स्याङतान यसअघि २०७१ पुस १६ गते काठमाडौंको कीर्तिपुर नगरपालिका–१६ बाट एक सय किलो गाँजासहित पक्राउ परिसकेका थिए।  

लागूऔषध नियन्त्रण ब्युरो काठमाडौंले पक्राउ गरि अदालतमा बुझाएर ३ वर्ष कैद भोगेका स्याङ्तान पुन पक्राउ परेका हुन् । एक पटक प्रहरीले सामान्य सोधपुछका लागि हिरासतमा लिँदा भागेको रेकर्ड भेटिएकोले प्रहरीले उनलाई कडा निगरानीसहित आइतबार नै म्याद थपका लागि अदालत पुर्‍याएको प्रहरी उपरीक्षक मुकेश कुमार सिंले बताएका छन् । 

यस्तो हुन सक्छ सजाय 

स्याङ्तानलाई कम्तीमा तीनवटा मुद्दा लाग्न सक्ने कानुनी प्रावधान रहेको प्रहरीले जनाएको छ । उनलाई मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद–६ को हातहतियार खरखजानासम्बन्धी कसुरमा ७ वर्षसम्म कैद र ७० हजारसम्म जरिवाना हुने व्यवस्था छ। 

त्यस्तै मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद–१२ को ज्यानसम्बन्धी कसुरको १८३ अनुसार ज्यान मार्ने नियतले गोली फायर गरेको हुँदा १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना, लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम दण्ड सजाय २ वर्ष देखि १० वर्ष सम्म कैद र १ लाख देखि २० लाख रुपैयासम्म जरिवाना हुन सक्ने व्यवस्था छ। 

यसमा पटके कायम गरी थप सजाय हुनसक्ने प्रहरीले जनाएको छ । मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद–५ को दफा ४३ अनुसार एकिकृत कसुरमा थप सजाय हुनसक्ने कानुनी प्रावधान पनि रहेको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.