|

संखुवासभा : पहिरोले अवरुद्ध संखुवासभाको दुर्गम उत्तरी क्षेत्रमा पर्ने भोटखोला गाउँपालिका एक महिनादेखि सडक सञ्जालबाट विच्छेद छ।

गत असार २ मा मकालु गाउँपालिका–३ को नयाँवस्तीमा पर्ने कोसी राजमार्गमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो। मकालु–५ र ३ जोड्ने सडकखण्डमा खसेको पहिरो हटाउने काम सुरु गरिए पनि अझै नसकिएकाले यातायातका साधन एक महिनादेखि सञ्चालनमा आउन नसकेको उत्तर–दक्षिण कोशी सडक कार्यालयका प्रमुख गौतम श्रेष्ठले बताए। 

नयाँवस्तीमा पहिरो पन्छाउने काम भइरहे पनि वर्षाका कारण ठाउँठाउँमा निरन्तर पहिरो झरिरहेकाले अन्यत्र पनि त्यही उपकरण प्रयोग गर्दा उपकारण अभाव भएको उनको भनाइ छ।

भोटखोलामा खाद्यान्न अभाव 

सदरमुकाम खाँदबारीदेखि पाँच दिनको पैदल दूरीमा रहेको भोटखोला गाउँपालिकामा एक महिनादेखि खाद्यान्न ढुवानी हुन नसक्दा खाद्य संकट भएको छ। पहिराले आधा दर्जन गाडी हेदाङ्नागढीमा रोकिए छन्। 

सडक अवरुद्ध भएपछि खाद्यान्न ढुवानी गर्न समस्या भएको भोटखोला–४ की मनिष गुरुङले बताइन्। ‘एक महिनादेखि भोटखोलासँग सम्बन्ध टुटेको छ,’ उनले भनिन्, ‘खाद्य डिपो केन्द्रमा पनि चामल सकिएपछि झन् संकट थपिएको छ।’

स्थानीय वाङछिरिङ भोट पनि भण्डारण गरिएको खाद्यान्न सकिन थालेपछि चिन्तित छन्। ‘हामीसँग भण्डारण भएका खाद्य सामग्री सकिन लाग्यो। अब के खाने भन्ने चिन्ताले सताउन थालेको छ,’ उनले भनिन्, ‘हाम्रो क्षेत्रमा कोदो र आलु मात्र पाइन्छ। त्यस चार महिना पनि राम्रोसँग खाने पुग्दैन।’

एक महिनादेखि सडक अवरुद्ध भएपछि सडक चाँडोसञ्चालनमा ल्याउन माग गर्दै स्थानीयहरु जिल्ला प्रशासन कार्यालय खाँदबारीमा डेलिकेसनमा आएका थिए। भोटखोला क्षेत्रमा खाद्यान्न वितरणको जिम्मा लिएको खाद्य डिपो वर्षौंदेखि अलपत्र छ। भोटखोलाको लागि ५०० क्विन्टल चामलको कोटा छ। कोटा अनुसार २०७५ पुसमै ढुवानी गरेर चामल वितरण भइसकेको खाद्य संस्थान खाँदबारीका निमित्त प्रमुख धर्मदेवप्रसाद यादवले जानकारी दिए। 

पर्याप्त कर्मचारी नहँुदा ठेकेदारमार्फत खाद्य डिपोमा चामल लगेर वितरण गर्दै आएको निमित्त प्रमुख यादवको भनाइ छ।  खाद्य संस्थान एक जना कार्यालय प्रमुख र कार्यालय सहयोगीको भरमा सञ्चालनमा छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.