|

काठमाडौं : नयाँ शक्ति नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कतिपय लेखकले जनयुद्धका बारेमा झूटो प्रचार गरेको आरोप लगाएका छन्।

सोमबार काठमाडौंमा ‘चाचा भक्तिप्रसाद पाण्डेको सङ्घर्षयात्रा’ पुस्तक विमोचन कार्यक्रममा भट्टराईले नाम नलिइकनै विवेक कुमार शाह र सुधीर शर्माले जनयुद्धबारे झूटो कुरा बेचिरहेको दावी गरे। 

‘माओवादी जनयुद्धका बारेमा कतिपय पुरै अतथ्य र असत्यमा आधारित कुराहरु पनि स्थापित भएका छन्’, भट्टराईले भने, ‘जनयुद्ध आफ्नै भूमिमा गरिएको र नेपालबाटै सञ्चालित युद्ध थियो। त्यसका पहलकर्ताहरु प्रधानमन्त्री प्रचण्ड र म सुरुदेखि अन्तयसम्म यही छौँ। अरु साथीहरु पनि हुनुहुन्छ।‘

जनयुद्ध थालनीदेखि शान्तिप्रक्रियामा रुपान्तरण हुँदासम्मका जिउँदा साक्षी आफूहरु हुँदाहुँदै तथ्यहरु बङ्ग्याइएको भन्दै भट्टराईले असन्तोष पोखे। ‘मलाई कहिलेकाहीँ बडा दुःख लाग्छ। हामी जिउँदो छँदा छँदै पनि तथ्यहरुलाई बंग्याएर माओवादी जनयुद्ध कुनै विशेष अदृष्य शक्तिको बलमा चलेको थियो, यसका हातहतियार कहीँ कसैले दिने गर्थ्यो र यसका तालिम कुनै शक्तिले लिने गर्थ्यो भन्ने शतप्रतिशत असत्य कुरालाई व्यापार गर्ने प्रवृत्ति बढेको छ’, भट्टराईले भने।

भट्टराईले भने- 'दरबारमा हुर्केका एकजना जर्नेलले ‘मैले देखेको दरबार’ भन्ने पुस्तकमा कुनै तथ्य नभएको कुरालाई लेखिदिए। ‘प्रयोगशाला’ भन्ने अत्यन्त चर्चित पुस्तक छ। त्यसमा पनि त्यसैलाई आधार मानेर कोट गर्दिनुभयो। अहिले त्यही कुरा माओवादी जनयुद्ध कहीँबाट सञ्चालित थियो, यसको हातहतियार कुनै अमुक ठाउँमा भएको थियो भन्ने सरासर झुटो कुरा नेपालमा विक्री भैरहेको छ।‘

भट्टराईले आफूले पुस्तकमा रहेका गल्तीबारे जानकारी गराउँदासमेत नसच्याइएको बताए। ‘मैले ती लेखकलाई पनि भनेँ तपाईँले झुटो कुरा लेखिरहनुभएको छ, सच्याउनुस् तर सच्चिएको छैन’, उनले भने।

सम्पूर्ण कुरा विदेशीले गरिदिएको गलत प्रचार गरिएको र नेपालका राजनीतिज्ञहरु अरु कसैका गोटीमात्र हुन् भनेर स्थापित गर्न खोजिएको भट्टराईले आरोप लगाए। 

बाबुरामको अभिव्यक्तिपछि 'प्रयोगशाला' पुस्तकका लेखक सुधीर शर्मा र डा. भट्टराईबीच ट्‍विटरमा जुहारी चलेको छ।

शर्माले लेखेका छन्- बाबुरामजीको "इतिहास" छर्लंगै छ; तै तथ्यपरक असहमति आए बहस गर्न हुन्थ्यो, प्रयोगशाला निस्केको ३ वर्षपछिको गनगन भने खै बुझिएन। 

भट्टराईले जवाफ फर्काएका छन्- 'प्रयोगशाला'निस्कने बित्तिकै त्यसमा मैले करीब १२ वटा तथ्यगत त्रुटीहरू सच्याउनुहोला भनेको हुँ,गनगन हैन! किताब लिएर आए म देखाइदिन्छु!

भट्टराईले अर्को ट्‍विटमा भनेका छन्- एउटा विवेक शाहको किताबबाट उद्धृत गरिएको देहरादून नजिक भारतीय सेनाले PLA लाई तालिम दिएको भन्ने मनगढन्ते कुरा हो ! एउटा झुट दोहोर्‍याएर सत्य हुन्न !

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.