विराटनगर : साउनको पहिलो साता सकिँदा प्रदेश १ को तराईका फाँट र पहाडका बेंसी चिटिक्क देखिएका छन्। खेतका गह्रामा पानी टनाटन छ। पहाडका बेंसीमा रोपिएका धानले पाउलो फेर्न थालेको छ। तराई कतिपय खेतका फाँटमा किसानहरू धान रोप्न व्यस्त देखिन्छन्।
सरकारी तथ्यांक अनुसार अन्नको भण्डार मानिने प्रदेश १ को तराईमा अझै रोपाइँ जारी छ। अत्याधिक वर्षाका कारण कतिपय खेत डुबानमा परेको छ। मोरङमा हालसम्म ५० प्रतिशत क्षेत्रफलमा रोपाइँ भइसकेको प्रदेश १ कृषि निर्देशनालय विराटनगरले जनाएको छ। निर्देशनालयका अनुसार सुनसरीमा ४० प्रतिशत, झापामा ७० प्रतिशत धान रोपिसकिएको छ।
यस्तै, पहाडी जिल्ला ताप्लेजुङमा ७५, संखुवासभामा ६५, सोलुखुम्बुमा ७०, पाँचथरमा ७०, इलाममा ५४, भोजपुरमा ६५ प्रतिशत क्षेत्रफलमा रोपाइँ भइसहेको छ। तेह्रथुममा ५५, धनकुटामा ४०, उदयपुरमा ५५, ओखलढुङ्गामा ३५ र खोटाङमा ६२ प्रतिशत क्षेत्रफलमा रोपाइँ भइसकेको छ।
गत मंगलबारको तथ्यांकअनुसार प्रदेश १ मा हालसम्म जम्मा ५६.५४ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।