बारा : निजगढ नगरपालिका कार्यालयले खोला र वन क्षेत्रलाई अघोषित डम्पिङ साइट बनाएको छ।
राजमार्ग आसपासका वस्तीबाट विसर्जित वस्तुलाई निजगढ नगरपालिकाले ट्रयाक्टर प्रयोग गरी दिनहुँ खोलामा फाल्ने गरिएको छ। यसअघि निजगढ–८ स्थित बकैया नागमणी सामुदायिक वन क्षेत्रको खाली स्थानमा फाल्ने गरिएको गरेको थियो। वन उपभोक्ता समूहको विरोधपछि कुनै योजनाविना नै वन र नदी क्षेत्रमा जथाभावी फाल्दै आएको वन समूहका अध्यक्ष रविराज दंगालले बताए।
नगरपालिकाले दुई वर्षदेखि दैनिक ६ ट्रयाक्टर फोहोर पूर्वपश्चिम राजमार्गमा पर्ने निजगढ–९ स्थित बकैया पुलदेखि ५०० मिटर दक्षिणतर्फ फाल्ने गरेको निजगढ नगरपालिका फोहोरमैला व्यवस्थापन इन्चार्ज अजय मल्लिकले जानकारी दिए।
फोहोरको दुर्गन्धले बस्तीमा रोग फैलने खतरा बढेको स्थानीयको गुनासो छ। फोहोर मिसिएको खोलाको पानी प्रयोग गर्दा रोगको महामारीसमेत फैलन सक्ने सम्भावना बढेको स्थानीयहरु बताउँछन्।
यसरी फ्याँकिएको फोहोरको वर्गीकरण गरिएको छैन। राँगा, भैंसीको हड्डीदेखि प्लाष्टिकजन्य र कुहिने बस्तुसमेत एकै ठाउँ फ्याँकिएको पाइएको छ। खुल्ला जमिनमा फालिएको फोहोरजन्य पशुका हड्डी कुकुर र स्यालले यत्रतत्र पु¥याउने गरेको छ। दुर्गन्धका कारण तामागढीमा काल्हवी, सपही, रौतहटको विजयपर जाने यात्रुहरु समस्यामा परका छन्।
खोला र वन क्षेत्रमा फोहोर नफाल्न पटक–पटक आग्रह गरिए पनि सुनुवाइ नभएको निजगढ सबडिभिजन वन कार्यालयका प्रमुख लालबहादुर चौधरीले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।