|

पोखरा : चीनसँगको कोरला नाका खोल्ने विषयमा गण्डकी प्रदेशका प्रतिनिधि र चिनिया प्रतिनिधि मण्डलबीच आइतबार पोखरामा छलफल भएको छ। प्राध्यापाक वाइ ड्यू लिउको नेतृत्वमा रहेको चिनिया टोलीले कोरला नाका खोल्न संभावाना र प्रदेश सरकारको धारणाबारे भेटमा जिज्ञासा राखेका थिए। 

नाका खुलेपछि हुने आर्थिक र धार्मिक गतिविधि बृद्धिको संभावनाको बारेमा समेत टोलीले चासो राखेका थिए। जवाफमा प्रदेश प्रतिनिधि मण्डलका नेतृत्व गरेका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले नाका खोल्न प्रदेश सरकार तत्पर रहेको र संघ सरकारलाई अनुरोध पठाई सकिएको जानकारी गराएका थिए। 

'नाका खोल्न प्रदेश सरकार तत्पर छ। संघ सरकारलाई हामीले यसबारे ठोस निर्णय गर्नलाई आग्रह गरिसकेका छौं ’ मन्त्री बस्नेतले भने। साथै उनले नाका खोल्न सकिए व्यापारिक, धार्मिक र बहुपक्षीय रुपमा दुवै देशले फाइदा लिन सक्नेतर्फ चिनिया पक्षको ध्यानाकर्षण गराएका थिए। यो नाकामा बाटाको ट्रयाक बनिसकेको र भौगोलिक रुपमा काठमाडौं र लुम्विनीसँगनजिक रहेकोले यसले व्यापारिक र धार्मिक रुपमा फाइदा पुग्ने उनको भनाई थियो। 

चिनिया प्रतिनिधिमण्डल प्रमुख प्राध्यापक लिउले आफूहरू समेत कोरला नाका खोल्ने प्रक्रिया अगाडि बढाउन इच्छुक रहेको र नेपाली पक्षले सहमत भएमा चाँडै विस्तृत संभाव्यता अध्ययन गर्ने बताएका थिए। 

छलफलमा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर गिरीधारी शर्मा पौडेलले यो नाकाबाट सवैभन्दा छोटो दूरीमा भारतीय नाकासँग समेत जोडिने भएकोले यसले त्रिदेशीय व्यापरिक गतिविधिलाई बढाउन मद्दत गर्ने बताएका थिए। 

मुस्ताङ जिल्लामा पर्ने कोरला नाका खुलाउन सकिए यो चीनसँगको व्यापार आदान-प्रदानका लागि सहज हुने भन्दै गण्डकी प्रदेशले यो नाका खोल्न केन्द्र सरकारलाई आग्रह गरेको छ।

कोरला नाकामा चीन सरकारले एकीकृत भन्सारको लागि विभिन्न संरचना बनाइसकेको छ भने नेपाल तर्फ बल्ल जग्गाको टुंगो लागेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.