|

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कश्मिरको विषयमा एक ट्विट गर्दै आरएसएस विचारधारालाई नाजी विचारधाराको संज्ञा दिँदै आफू यसबाट डराइरहेको बताएका छन्। भारत सरकारले जुम्मू कश्मिरको विशेष अधिकार खारेज गरेपछि भारत र पाकिस्तानबीच तनाव चर्किएकै बेला इमरानको पछिल्लो ट्विट आएको हो।

उनले ट्विटमा लेखेका छन्, 'भारतले कब्जा गरेको कश्मीरमा कर्फ्यू, डर र जनसंहारको अवस्था छ। यो आरएसएसको विचारधारा हो जुन नाजी विचारधाराबाट प्रेरित छ। जातीय हत्याका माध्यमबाट कश्मीरको भूराजनीति परिवर्तन गर्ने प्रयास भएको छ। के दुनियाँले यसलाई हिटलरको समयमा भएजस्तै हेरिबस्ला?'

इमरान खानले दोस्रो ट्विटमा भनेका छन्, 'म आरएसएसको हिन्दू सर्वश्रेष्ठताको विचारधाराबाट डराइरहेको छु। किनकि यो नाजी आर्यन सर्वश्रेष्ठता जस्तै छ। यस व्यवस्थालाई भारतले कब्जा गरेको कश्मीरमा रोक्नु पर्दछ। यदि यस्तो भएन भने भारतका मुश्लिममाथि दमन बढ्छ र अन्त्यमा पाकिस्तानमाथि निशाना बनाइन्छ। हिन्दू सर्वश्रेष्ठता हिटलरशाहीकै संस्करण हो।

यसअघि अगस्त ८ मा इमरानले ट्विट गर्दै भनेका थिए, 'उत्पीडत कश्मिरीहरूको अवस्था बुझ्नका लागि पूरै दुनियाँ कश्मिरको कर्फ्यू कहिले हट्छ भन्ने प्रतीक्षामा रहेको छ। के बिजेपी सरकारले कश्मिरीहरूविरुद्ध भारी मात्रामा सुरक्षाकर्मी तैनाथ गर्दैमा स्वतन्त्रताको आन्दोलन रोकिएला? यसले आन्दोलनका लागि अझै उक्साउने छ।

यसै हप्ता बुधबार पाकिस्तानले भारतीय दूतहरूलाई पाकिस्तानबाट फिर्ता पठाउने र कूटनीतिक सम्बन्धलाई सीमित गर्ने घोषणा गरेको थियो। भारत सरकारले जम्मू कश्मिरमाथिको विशेष अधिकार खारेज गर्दै केन्द्र प्रशासित प्रदेश बनाएको छ।

अब जम्मू कश्मिर र लद्दाख नामका दुई अलग केन्द्र सरकार शासित प्रदेश बनाइएका छन्। यसको साथै जम्मू कश्मिरलाई विशेष अधिकार दिने अनच्छेद ३७० पनि खारजे भएको छ। भारत सरकारको उक्त फैसालापछि सात दशक पुरानो कश्मिरको मुद्दाले पुनः संसार भर चर्चा पाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.