अन्नको भण्डार मानिने मोरङको ६९० हेक्टर जमिन वनमा रुपान्तरण

|

विराटनगर : मोरङ कानेपोखरी ६ का भीमशेर तामाङले ३ वर्ष अगाडि १८ कठ्ठा जग्गामा नीजि वन लगाए। टिकका विरुवा लगाएका उनी अबका १२ वर्षमा २ करोड बढी आम्दानी हुने लक्ष्यका साथ काम गरिरहेका छन्।

हप्तामा एक पटक उनको परिवार नै वन गोडमेलमा आउँछ। बेलाबेलामा ट्याक्टरले जोत्छन् र अन्य बालीजस्तै वनलाई हराभरा र सुन्दर बनाएका छन्। धानबाली लगाउन छोडेर विरुवा रोप्नुको कारण सिंचाईको व्यवस्था नहुनु र पर्याप्त समय दिन नसक्नु रहेको उनको भनाइ छ। तामाङ मात्रै होइन ग्रामथान गाउँपालिका मोरङका चन्द्रबहादुर राना मगरले पनि झण्डै २ विगाहा जग्गामा वन लगाएका छन्।

पहाडका कतिपय रुख विरुवादेखि तराईका टिक, मसला, करमलगायतका विरुवा लगाएका उनको कुरा पनि धान बालीबाट आम्दानी कम हुने, त्यसमाथि सिंचाइको उपर्युक्त व्यवस्था नहुनु नै रहेको छ। मोरङमा आर्थिक वर्ष २०४४/०४५  देखि वन लगाउने क्रम निरन्तर बढेको भए पनि यो क्रम २०६३/०६४ मा रोकियो। तर पुनः आर्थिक वर्ष २०७१/०७२ देखि आफ्नो खेतमा धान रोप्नुको साटो वन लगाउने क्रम बढ्दै गएको छ।

ग्रामथानका वन सामाजिक परिचालक बाबुराम मुडियारी वन लगाउने क्रम बढेको र विरुवा माग्नेहरू अत्याधिक रहेको बताए। उनका अनुसार सिजनमा सिंचाइको व्यवस्था नहुनु, मल नपाउनु, उत्पादित कृषिजन्य वस्तुको मूल्य कम हुनुले वन लगाउनेको आकर्षण बढेको हो।

मोरङमा हालसम्म ६८४ वटा निजी वन दर्ता भएको छ। गएको आर्थिक वर्ष २०७४/०७५ यो संख्या ६ सय २० वटा थियो। आर्थिक वर्ष २०७५/०७६ मा ६४ वटा निजी वन दर्ता भएका छन्। निजी वनले झण्डै ६९० हेक्टर खेतीयोग्य जमिन ओगटेको डिभिजन वन कार्यालय मोरङका सहायक वन अधिकृत किशोर बरालको भनाइ छ। 

कुनै निजी वन प्राविधिक हिसावले नाप जाँच गरेर लगाइएको छ भने कुनै वन योजनाबिनै पनि लगाइएको छ। खेती गर्नका लागि योग्य जनशक्ति नहुनु, परम्परागत खेती प्रणालीबाट पर्याप्त आम्दानी नहुने र वन लगाउँदा अन्य कृषिबाली भन्दा बढी आम्दानी हुने भएकोले यता आकर्षण बढेको कार्यालयको दाबी छ। तर, खेतीयोग्य जमिनलाई जंगल बनाउने र कृषि उत्पादनलाई बढावा नदिने हो भने कृषिमा परिनिर्भरता अझै बढ्ने देखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.