प्रहरी आफैँले अनुसन्धान गर्ने

|
फाइल फोटो

इटहरी : शनिबार नेपाली सेनाका वहालवाला मेजर इटहरीबाट लागुपदार्थ कारोबारका क्रममा पक्राउ परे। सेनाको पूर्वी पृतना मुख्यालय इटहरी छेउको पसलबाट पक्राउ परेका मेजर अजित प्रतापसिंह सहित दुईजना ब्राउन सुगरको कारोबार गर्दागर्दै पक्राउ परेपछि प्रायः सञ्चारमाध्यमको ब्यानर समाचार नै बन्यो ।

लागुऔषध नियन्त्रण ब्यूरो विराटनगर र इटहरी प्रहरीको संयुक्त टोलीले उनलाई एक दशमलव तीन ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको थियो। उच्च पदस्थ सैनिक अधिकृत नै कारोबारमा संलग्न भएको विषय प्रहरीलाई भने अगाडिदेखि नै जानकारी थियो।

प्रहरी स्रोतका अनुसार सिंहले इटहरी, धरान, झापा र विराटनगरसम्म पुगेर ब्राउन सुगर बेच्ने गर्दथे। सिंहका मुख्य ग्राहकहरू भने १६ वर्षदेखि २६ वर्ष समूहका किशोरहरू थिए।

पक्राउ पर्नु दुई महिनाअगाडि मात्र इटहरी पृतना हेडक्वार्टर छेउका १६ वर्षीय बालकसँग उनका बुवाले ब्राउन सुगर भेट्टाएका थिए। छोरासँग केरकार गर्दा ब्राउन सुगर सेनाको मेजरबाट खरिद गर्ने गरेको थाहा पाएपछि बाबुले प्रहरीमा जानकारी दिए।

स्थानीय प्रहरीले सो विषयको जानकारी लागुपदार्थ नियन्त्रण एकाइलाई जानकारी गरायो। एकाइलाई जानकारी गराएको समयदेखि मेजर सिंह प्रहरीको निरन्तर 'रेकी'मा पर्दै आएका थिए।

प्रहरी स्रोतका अनुसार प्रहरीले आफैँ पनि ग्राहक बनेर पनि सिंहसँग ब्राउन सुगरको ‘डिल’ गरेको थियो। तर, मेजर सिंह पुराना ग्राहकसँग मात्र डिल गर्ने गर्दथे। पुराना ग्राहकले भनेपछि मात्र सामान (ब्राउन सुगर) ल्याउने उनको बानी थियो।

त्यसैले शनिबार भने उनलाई एकजना पुरानो ग्राहकको सहायताबाट पक्राउ गरिएको थियो। शनिबार मेजर सिंहले आफैँ चोक आसपासको लोकेशन दिएका थिए। पछि ब्यारेकको पश्चिम सर्पदंश उपचार केन्द्रको अगाडि रहेको क्याफेमा बोलाएर लागुऔषध दिने बेलामा प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रहरी आफैँले अनुसन्धान गर्ने

सामान्यतया सैनिक इलाका र सैनिक जवानसँग सम्बन्धित विषयको अनुसन्धान सैनिक ऐनअनुसार सैनिक अदालतले नै गर्ने गर्दछ। सैनिक अधिकृतले गरेको कसुरको अनुसन्धानका लागि नेपाली सेनाको सैनिक प्रहरी गणलाई बुझाउने गरिन्छ।

तर, यो मुद्दा भने गम्भीर प्रकृति र गैरसैनिक पनि संलग्न भएको हुँदा लागुपदार्थ नियन्त्रण ऐन २०३३ अनुसार प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गर्दैछ।

‘आज म्याद थप गरेर अनुसन्धान सुरु गरेका छौँ’ इटहरी इलाका प्रहरी कार्यालयका डिएसपी समीरचन्द्र खरेलले भने ’गैर सैन्य इलाका र गैरसैनिकको संलग्नता भएकाले प्रचलित कानुन लागुपदार्थ नियन्त्रण ऐन २०३३ अनुसार नै अनुसन्धान हुन्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.