पाल्पा : चर्किएको घाम, छाता ओढेका सहभागी, तानसेनको मुख्य बजार, बजारकोबीचमा पिच सडक, हलमा नारिएका गोरु, तीनचार हल गोरुले हलो तानिरहेका थिए भने एक हल गोरुले खोक लगाइरहेका थिए। पछाडि बाउसेले खेतको आलि खनिरहेका थिए साथमा रोपारले धान रोपिरहेका थिए। केहीले माछी जाल हानिरहेका थिए। जालमा माछा परेका थिए। पछाडिपछाडि पञ्चेबाजा घन्किएको थियो। सुरक्षाका बीचमा छाता ओढाएर एक जना साहुमहाजनसमेत आइरहेको दृष्य।
बाजागाजासहित गरिएको रोपाई हेर्न वरीपरी दर्शकहरू थिए। सडक छेउमा रहेका घरहरूको कौसी, झ्याल र घर अगाडिबाट मानिसले कौतुहलताका साथ हेरिरहेका थिए। यो साँच्चिकै रोपाइँ नभई रोपाइँजात्रा थियो। पाल्पामा मनाइने विभिन्न जात्रामध्ये शनिबार रोपाइँजात्रा निकालिएको हो। विगत वर्ष जस्तै यो वर्ष पनि असारे रोपाइँको झल्को दिने गरी रोपाइँजात्रा निकालिएको हो।
गाउँबाट आएका किसानले तानसेन बजारभित्रका पिच सडकमा रोपाई गरेर शहरवासीलाई रोपाइँको झल्को मेटाइदिएका हुन्। पञ्चेबाजा र असारे भाकासहित प्रदर्शन गरिएको जात्रामा सहभागी किसानले सडकमा धान रोप्ने, हल गोरुले जोत्ने, खोक लगाउने, बाउसेहरूले आली लगाउने, खन्ने, रोपारले सडकमा धान रोपेको अभिनय गरेका थिए भने साहु महाजनले हली, बाउसे र रोपारलाई चर्को स्वरमा काम अह्राएको अभिनय गरेका थिए। खेतवाला साहु महाजन छाता ओढाउनुका साथै साथमा सुरक्षागार्डसहित हिँडेका थिए।
तानसेन ७ कुसुमडाँडा संरक्षण समूहमा आवद्ध किसान रोपाइँजात्रा देखाउँदै तानसेन बजारमा आएका थिए। शहरमै जन्मिएका, हुर्किएका नागरिक र यहाँका विभिन्न सरकारी कार्यालयका हाकिमलाई समेत खेतमा गरिने रोपाइँको बारेमा र धान उत्पादन कसरी हुन्छ भन्ने कुनै जानकारी नहुने हुँदा रोपाइँजात्रा देखाउने गरिन्छ।
साथै रोपाईमा जाने फुर्सद नपाएका शहरका बासीन्दालाई रोपाइँको झल्को दिने उद्देश्यले गाउँका किसानले तानसेन बजारमा रोपाइँ जात्रा देखाउने गरेको जात्रामा सहभागी वृद्ध आनन्द बूढाप्रिथिले बताए। उनका अनुसार सांस्कृतिक महत्व बोकेको रोपाइँजात्राको रौनकता भने पछिल्लो समयमा घट्दै गएको छ।
२०१४ सालदेखि देखाइँदैआएको जात्रा संरक्षण गर्नेप्रति सरोकारवाला निकायले चासो नदेखाएकोमा जात्रामा सहभागी निकै दुखी देखिएका थिए। जात्रा हेर्नको लागि पाल्पा सहित स्याङ्जा, गुल्मी, पर्वत, रुपन्देहीलगायतका जिल्लाबाट दर्शक आउने गर्दथे तर, यो वर्ष खासै रौनकता देखिएन।
तपाईंको ईमेल गोप्य राखिनेछ ।