|

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशमा एक मात्र शव वाहन रहेको छ। प्रदेशभरमा कैलालीको धनगढीस्थित नेपाल रेडक्रस सोसाइटीसँग मात्र शव वाहन रहेको छ। 

धनगढीबाहेक कुनै पनि जिल्लामा शव वाहन नरहेको क्षेत्रीय स्वास्थ्य निर्देशनालय  डोटीका जनस्वाथ्य निरीक्षक रमेश मलासीले जानकारी दिए। ‘अहिले कुनै पनि जिल्ला अस्पतालसँग शव वाहन छैन,’ उनले भने, ‘यस वर्ष भने प्रदेश सरकारले विभिन्न जिल्लामा शव वाहन खरिद गर्न बजेट छुट्याएको छ।’ 

चर्को भाडा 

सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये एक स्थानीय सरकारसँग मात्रै शव वाहन भएकाले सर्वसाधरणले सास्ती खेप्दै आएका छन्। एक उपमहानगपालिका, ३३ नगरपालिका र ५४ गाउँपालिका भएको यस प्रदेशमा एउटा मात्र शव वाहन रहेकाले महँगो भाडा तिरेर सार्वजनिक सवारीसाधनमा शव ओसार्न बाध्य छन्। 

आर्थिक अवस्था राम्रो हुनेले महँगो भाडा तिरे पनि आर्थिक अवस्था कमजोर भएकाहरुले भने समस्या झेल्नु परेको अजयमेरु गाउँपालिकाका पदम बिकले बताउँछन्। ‘आर्थिक अवस्था राम्रो हुनेले व्यवस्था मिलाइ हाल्छन्,’ उनले भने, ‘तर गरिब निमुखाहरुले भने आफन्तको मृत्यु भएपछि डोको, बोरामा लगाएर बोक्नुपर्ने नत्र चर्को मूल्य तिरेर जिप र ट्रयाक्टरमा शव बोक्नुपर्ने बाध्यता  छ।’ 

चिनजान नभएको सवारीसाधन धनीले शव बोक्न नमान्ने र मानिहाले पनि चर्को भाडा लिने गरेका स्थानीयको गुनासो छ। कहिले कतै दुर्घटना भयो वा अस्पतालमै बिरामीको मृत्यु भए समस्या हुने भएकाले सरकारले ध्यान दिनुपर्ने डडेल्धुराका स्थानीय लोकेन्द्र विष्टले बताए। अति आवश्यक शव वाहन खरिदका लागि स्थानीय प्रशासन तथा स्थानीय सरकार अग्रसर हुनुपर्ने डडेल्धुरा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलले बताउँछन्। ‘अस्पतालबाट शव लैजान परिवारलाई गाह्रो हुने गर्दछ,’ उनले भने, ‘गाडीले दुई–तीन गुणा बढी शुल्क लिने गरेका छन्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.