भूपू मायालु सम्झिनेलाई रमाउन दिनू

|

काठमाडौं : सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री  गोकुलप्रसाद बाँस्कोटाले मरिसकेको राजतन्त्र अब कहिल्यै नफर्किने बताएका छन्। 

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले जतिसुकै कराएर राजतन्त्र फर्किन्छ भन्नु भूतपूर्व मायालुलाई सम्झिएर तड्पिए जस्तो मात्र हुने बताए । 

‘कहाँबाट को राजा? कस्तो राजा? लावण्य देशको राजा? नेपालमा राजा छैन, एकादेशको कुरा भइसक्यो’, उनले भने, ‘भोलिकोपुस्ताले इतिहासमा नेपालको राजनीति विकासको इतिहासमा राजतन्त्र पढ्नेछ।’ 

भिडियो

मन्त्री बाँस्कोटाले देश बिलकुल नयाँ व्यवस्थामा प्रवेश गरेको बताउँदै त्यसतर्फ सोच्दै नसोच्न आग्रह गरे। ‘बाजा बजाएर २०१७ साल दोहोरिएको होइन। मरेको राजतन्त्रले अब फणा उठाउन सक्दैन’, उनले भने, ‘जतिसुकै कराए पनि चिहानमा आरधना गरेर राजतन्त्र फर्किँदैन। गतिको नियम अगाडि बढ्ने हो, पछाडि फर्किने होइन।’

राजतन्त्रका नाममा रमाउनेहरु प्रति टिप्पणी गर्दै उनले तिनीहरुको भ्रमबाट नेपाली समाजलाई उठाउनुपर्नेमा जोड दिए । 

‘जनता पनि एकजुट हुनुपर्छ । लोकतन्त्र सरकारको ठेक्का हो भने केही छैन, होइन भने जनता पनि बोल्नुपर्छ’, उनले भने, ‘अहिलेको लोकतन्त्र कमजोर जगमा बनेको होइन, २०१७ सालको जस्तो होइन। अहिलेको युग २०७० सालको हो।’ 

प्रधानमन्त्रीको आयोजनामा भएको सर्वदलीय बैठक कसैका डरले थरथर कामेर नगरेको उनले बताए । ‘अन्तका राजतन्त्र पतनका इतिहास दर्दनाक छन्। तन्त्र मात्रै उडेन, वंश पनि मासियो’, उनले भने, ‘भूपू माया हुनेलाई त्यस्तो हुन्छ । भूपू मायालुको सम्झनामा रमाउने रमाउन्। तर डाइनोसर डाइनोसर नै हो। पानी धमिल्याएर माछा मारिँदैन। वर्षे भेलमा केही माछा पर्ने हुन्, त्यसको कुनै अर्थ छैन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.