|

काठमाडौं : राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्मातासम्बन्धी कार्य गर्न सहायक कम्पनी स्थापना गर्ने सम्बन्धमा विशेष प्रस्ताव पारित गरेको छ।

बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङको सभापतित्वमा सम्पन्न विशेष साधारण सभामा अध्यक्ष गुरुङले नै सो प्रस्ताव प्रस्तुत गरेका हुन्। उनले बैंकले विभिन्न सहायक कम्पनीमार्फत व्यवसाय गरी आर्थिक सवलीकरणमा सहयोग पुर्‍याउने विचार व्यक्त गरे।

विशेष साधारण सभामा बैंकका शेयरधनीहरू क्रमशः नेपाल सरकारका महालेखा नियन्त्रकको कार्यालय, ऊर्जा मन्त्रालयका प्रतिनिधि तथा साधारण शेयरधनी डमरु बल्लभ घिमिरेले राखेको जीज्ञासाबारे बैंक संचालक समितिका अध्यक्ष गुरुङले जवाफ दिएका थिए।

सो विशेष साधारण सभामा बैंकका संचालक समितिका सदस्यहरु रबीन्द्रलाल श्रेष्ठ, जनककुमार बराल, विद्यावारीधि सिग्देल, अर्जुनबहादुर अधिकारी, डा. माधवप्रसाद दाहाल, बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृतद्वय कविराज अधिकारी, केशबप्रसाद लम्साल, उपककार्यकारी अधिकृतहरु महेन्द्रप्रसाद अवस्थी, सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी तथा बैंक भित्र क्रियाशिल तीनवटै ट्रेड यूनियनका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो। विशेष साधारण सभालाई कम्पनी सचिव भोलानाथ पौडेलले सहजीकरण गरेका थिए।

बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २२२ वटा शाखा कार्यालय, १७८ वटा एटिएम, ९३ वटा शाखा रहित बैंकिङ सेवा रहेको छ। चालु आव २०७५/०७६ को चौथो त्रैयमाससम्म बैंकले १ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४४ अर्ब रुपैयाँ कर्जा लगानी गरि ५ अर्ब ३२ करोड रुपैयाँ खुद मुनाफा कमाएको बैंकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.