|

डडेल्धुरा : दुई नगरपालिका र पाँच गाउँपालिका गरी सात स्थानीय तह रहेको डडेल्धुराका अधिकांश स्थानीय तह दमकलविहीन रहेका छन्।

गर्मी मौसममा जिल्लाका विभिन्न स्थानमा हावाहुरी, आगलागी र डढेलोका घटना बढ्ने भए पनि त्यस्ता घटनाबाट क्षति हुन नदिनका लागि यहाँ दमकलको महशुु गरिएकाे हो।

जिल्लामा रहेको अमरगढी नगरपालिका र परशुराम नगरपालिकामा दमकलको व्यवस्था भए पनि अजयमेरु, भागेश्वर, आलिताल, गन्यापधुरा र नवदुर्गा गाउँपालिकासँग भने दमकल छैनन्। कहीँ कतै आकस्मिक रुपमा आगलागी हुँदा निभाउने यन्त्र नै नभएपछि समस्या हुने गरेको छ भने अर्को तिर ठुलो मात्रामा धनजनको क्षति हुने गरेको छ।

जिल्ला सदरमुकाम नजिकै रहेको अमरगढी नगरपालिका र परशुराम नगरपालिकासँग पनि भएको दमकल पुरानो छ भने तालिम प्राप्त अग्नि नियन्त्रक नभएकाले त्यसले पनि प्रभावकारी सेवा दिन नसकेको स्थानीयको गुनासो छ। 

भौगोलिक विकटताका कारण गाउँपालिकाका सबै बस्तीमा सडकको पहँच नभएकाले दमकल खरिद नगरेको भए पनि डढेलो नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम गरिरहेको आलिताल गाउँपालिका डडेल्धुराका अध्यक्ष बलबहादुर गुरुङले बताए। 

तत्कालका लागि दमकल खरिद गर्ने गाउँपालिकाको कुनै पनि योजना नरहेको उनको भनाइ छ। भागेश्वर गाउँपालिकामा अहिलेसम्म आगलागिका ठूला घटना नभएका कारण दमकल किन्ने कुनै योजना नरहेको भागेस्वर गाउँपालिका डडेल्धुराका अध्यक्ष कौशिला भट्टले बताइन्।

दमकलको आवश्यकता रहेको भए पनि अहिलेसम्म कुनै प्रक्रिया नथालेको अजयमेरु गाउँपालिका डडेल्धुराका अध्यक्ष उमेशप्रसाद भट्टको भनाइ छ। ‘हाम्रो गाउँपालिकामा सहरी बस्ती छैन। ग्रामिण बस्ती छ’ उनले भने,‘ धन्न, आजसम्म ठूलो आगलागीका घटना भएको छैन।’ 

उता गन्यापधुरा र नवदुर्गा गाउँपालिकाले पनि दमकल खरिदको लागि कुनै प्रक्रिया नचालेको गाउँपालिकाले जनाएको छ। दमकल खरिदका लागि डडेल्धुराका सबै स्थानीय तहका प्रमुखहरूलाई आग्रह गर्ने प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलको भनाइ छ। 

सबै स्थानीय तहमा विपद् व्यवस्थापन समिति र दमकलको व्यवस्था गर्दा आइपर्ने घटनामा उद्धार र राहतका लागि सहज हुने उनको भनाइ छ। आफ्नो लागि लाखौँ रुपैयाँको गाडी खरिद गर्ने यहाँका जनप्रतिनिधिहरुले अत्यावश्यक मानिने दमकल खरिदका लागि पहल नचालेको स्थानीयको आरोप छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.