|

काठमाडौंमा जारी एसियाली भलिबल महासंघ (एभिसी) सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपालले आज पाँचौ स्थानका लागि अफगानिस्तानविरुद्ध प्रतिष्पर्धा गर्दै छ। समूह चरणको आफ्नो समूहमा तेस्रो स्थानमा रहेको नेपाल र अफगानिस्तानले पाँचाैं स्थानका लागि प्रतिष्पर्धा गर्न लागेका हुन्। सेन्ट्रल जोनको बरियताका लागि मात्र यो प्रतिष्पर्धा हुन लागेको हो। नेपालले दिउँसो तीन बजे आर्मी कभर्डहल लगनखेलमा स्पर्धा गर्ने छ।

नेपालले यसअघि अफगानिस्तानसँग भएका दुई मैत्रीपूर्ण खेलमा नजिता आफ्नो पक्षमा पारेको थियो। यद्दपि प्रतियोगितात्मक खेलमा भने नेपाल यसअघि खेलेका दुबै खेलमा सोझो सेटमा पराजित भएको थियो। त्यसैले सान्त्वना जित निकाल्नु पर्ने दबाब नेपालसँग रहेको छ।

प्रतियोगिताको उपाधिका लागि भने शनिबार किर्गिस्तान र उज्वेकिस्तानले प्रतिष्पर्धा गर्ने छन्। बिहीबार भएको सेमिफाइनलमा किर्गिस्तानले साविक विजेता तुर्कमिनिस्तान  तथा उज्वेकिस्तानले माल्दिभ्सलाई पराजित गर्दै फाइनल यात्रा पक्का गरेका हुन्।

प्रतियोगिताको सुरुवातबाटै उच्च लयमा देखिएको किर्गिस्तानले समूह चरणमा नेपाल र माल्दिभ्सलाई सोझो सेटमानै हराएर समूह ‘ए’ को विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको थियो। त्यस्तै किर्गिस्तानले दोस्रो खेलमा माल्दिभ्समाथि पनि सोझो सेटमा विजयी हासिल गरेको थियो। प्रतियोगिताको सेमिफाइनलमा पनि आफ्नो उत्कृष्ट प्रदर्शन दोहोर्‍याउँदा साविक च्याम्पियन तुर्कमिनिस्तान पराजित भयो।

पहिलो सेटमा २५/१७ को जित निकाल्दा दोस्रो सेट पनि २५/१८ र निर्णायक सेटमा २५/२२ ले खेल आफ्नै पक्षमा पार्न किर्गिस्तान सफल भयो। त्यस्तै समूह ‘बि’ मा अपराजित रहँदै सेमिफाइनल पुगेको उज्वेकिस्तानसँग माल्दिभ्स निरीह देखियो। उत्कृष्ट प्रदर्शन गरेको उज्वेकिस्तानले सहज रुपमा फाइनलमा स्थान बनाउने क्रममा माल्दिभ्सलाई ३–० को सोझो सेटमा नतिजा आफ्नो पक्षमा पार्‍यो।

माल्दिभ्सविरुद्ध उज्वेकिस्तानले सहज जित निकाल्ने क्रममा २५–२०, २५–१९ र २५–२१ ले नतिजा आफ्नो पक्षमा पार्‍याे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.