तीन दिनमा सकिने काम रोकिँदा जोखिम मोलेर यात्रा

|

बारा : धन्सार खोलामा निर्माण भइरहेको झोलुङ्ग पुल निर्माण कार्य रोकिएको छ। बारा, रौतहट र मकवानपुर जिल्लालाई जोड्न संगमस्थलको रूपमा रहेको धन्सार खोला झोलुंगे पुल निर्माण कार्य अन्तिम चरणमा पुगेर अवरुद्ध भएको हो।

सम्झौताअनुसार निजगढ नगरपालिकाले उक्त पुलका बाँकी कामका लगत स्टिमट प्रक्रियामा विलम्ब गरेकाले अन्तिम चरणको काम अगाडि बढ्न नसकेको निर्माण उपभोक्ता समितिका अध्यक्ष मानबहादर योञ्जनले बताएका छन्।

'पुल निर्माणको ९५ पतिशत काम सम्पन्न भइसकेको छ,’ अध्यक्ष योञ्जनले भने–‘नगरपालिकाले तदारुकता देखाएको भए बाँकी ५ प्रतिशत काम पनि सम्पन्न भइसक्ने थियो।’ पुलमा उड्याई केवल र जाली लगाउने काम मात्र बाँकी रहेको छ। नगरपालिकाको सहयोग भएमा तीन दिनमा काम सकिन्छ।

निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशकसेन ढकालले यो वर्षभित्र पुल पूर्णरूपमा सञ्चालनमा ल्याउने गरी काम अघि बढाउन लागिएको बताए। स्थानीय विकास मन्त्रालयको झोलुङ्गे पुल शाखा, नगरपालिका कार्यालय र उपभोक्ताको समन्वयमा काम गर्नुपर्ने भएकाले अब केहि समयभित्रै बजेट निकाशा हुने र काम सम्पन्न गरिने बताए।

७३ सालमा शिलान्यास भएको पुल स्वीस हेल्भटासको परियोजनाले तत्कालीन जिल्ला विकास समितिमार्फत निर्माण सुरु गरेको थियो। एक करोड ८ लाख लागतमा निर्माण हुने पुलमा उपभोक्ता समितिमार्फत फाउण्डेशनको लागि ५६ लाखको बजेट खर्च हुने र बाँकी बजेट डोरी, लठ्ठा, स्टिल तार डोरी निर्माण सामग्रीको लागि जिल्ला विकास समितिले टेण्डर आह्वान गरेकोमा भगवती स्टिलले ठेक्का पाएको थियो।

तीन जिल्ला लाभान्वित

पुल निर्माण भएपछि बारा, रौतहट र मकवानपुर जिल्लाका बासिन्दा लाभान्वित हुनेछन्। मकवानपुरको बकैया गाउँपालिका र रौतहटको चन्द्रपुरबाट बारामा पढ्न आउने विद्यार्थीहरूलाई पुल निर्माण भएपछि सहज हुने समितिका सचिव छिरिङ बलले बताए।

‘अहिले विद्यार्थी निर्माणाधीन पुलबाट जोखिम मोलेर आवतजावत गरिरहका छन्,’ सचिव बलले भने– पुल नहुँदा वर्षाको बेला खोला तर्नुपर्ने भएकाले पढाई प्रभावित हुने गरेको थियो। पुल निर्माण भएपछि विद्यार्थी नियमित पढ्न आउन थालेको निजगढ–३ पिपलटारस्थित हिमाल आधारभूत विद्यालयका प्रधानाध्यापक हरिशरण खडकाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.