|

सल्यान : सल्यानको शारदा नगरपालिका-१ र २ मा ज्येष्ठ नागरिकको भेटघाट गर्न र अनुभव आदानप्रदान गर्न दिवासेवा केन्द्र स्थापना गरिएको छ। दिवासेवा सञ्चालन गरेपछि नगर क्षेत्रका  अधिकांश ज्येष्ठ नागरिक दिवा केन्द्रमै दिन कटाउन जम्मा हुने गरेका छन्।

ज्येष्ठ नागरिकलाई घरमा दिन बिताउन गाह्रो हुने भएकाले उनीहरूकै लागि दिवासेवा  सुख-दु:खको अनुभव  साटासाट गरे दिन बिताउने थलो बनेको छ। बूढेसकालमा काम गर्न नसक्ने बूढा-बूढीलाई समय बिताउनै मुस्किल हुने गरेकाले अहिले भने दिवासेवा केन्द्र सुखदुःखको अनुभव साटासाट गर्ने  रमाइलो थलो बनेको हो।

दिवासेवा केन्द्रमा नाच्ने, गाउँने धेरैजना हुने भएकाले वृद्धवृद्धालाई खुसी देखिन्छन्। केन्द्रमा नाच्ने, गाउने, भजन किर्तनसहितको धार्मिक गतिविधि भइरहने भएकाले वृद्धवृद्धालाई समय बितेको पत्तै नहुने  वृद्धा  भगवती उपाध्यायले बताइन्। उनले भनिन् ‘हामी जस्ता बूढाबूढीहरूका लागि कुराकानी गर्ने, पुराना अनुभव साटासाट गर्ने माध्यम बनेको छ।’

शारदा नगरपालिकाले ज्येष्ठ नागरिकलाई प्राथामिकतामा राखेर  दिवासेवा सन्चालन गरेको हो।  साउन १ गतेदेखि एक व्यक्तिलाई मासिक ३ सय रुपैयाँसमेत उपलब्ध गराउने निर्णय नगपालिकाले गरेको छ।

नगरपालिकाले वृद्धवृद्धालाई चाडपर्व खर्च पनि उपलब्ध गराउँदै आएकोमा यस वर्षबाट गणेशमान स्वास्थ्य कार्यक्रमसमेत ल्याएको शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारीले बताए। उनले भने ‘ज्येष्ठ नागरिक इतिहास हुन्। उनीहरूलाई स्थानीय सरकारले सम्पत्ति ठानेको छ। उनीहरूका अनुभव नयाँ पुस्तालाई उपयोगी हुन्छन्।’

ज्येष्ठ नागरिकको सीप, ज्ञान र अनुभवलाई मार्गदर्शनका रूपमा लिँदै विकासका कामहरू गर्ने  प्रमुख अधिकारीले बताए। भौतिक र सामाजिक क्षेत्रको विकासमा ज्येष्ठ नागरिकको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै थप व्यवस्थित बनाउन आगामी दिनमा आवश्यक बजेट व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरे।

नगरपालिकाले संचालन गरेको दिवा सेवा केन्द्र, दिन कटाउन नसकेर समस्यामा परेका अधिकांश वृद्धवृद्धाको आकर्षण बढाएको ज्येष्ठ नागरिक संघ सल्यानका अध्यक्ष कृष्ण उपाध्यायले बताए।

‘नयाँ पुस्तालाई केही सिक्नुपरेमा पुरानो पुस्ता भेट्ने मुख्य स्थानसमेत बनाइदिएको छ’ उनले  भने। वृद्धाश्रममा पुग्ने ज्येष्ठ नागरिकहरूलाई घरमै सम्मानको वातावरण बनाउनु पर्नेमा उपाध्यायको जोड दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.