सुर्मादेवी तीर्थयात्राको रोमाञ्‍चक कहानी

|

बझाङ : सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला बझाङमो सुर्मादेवी (बिरिजात) मेला लागेको छ। बझाङको धार्मिक महत्वको रूपमा यो पर्व मनाउने गरिन्छ। जिल्लाको उत्तरी भेगमा पर्ने सुर्मा गाउँपालिकाको उच्च हिमाली क्षेत्रमा रहेको सुर्मासरोवर ताल धार्मिक एवं पर्यटकीय क्षेत्रका दृष्टिकोणले निकै महत्वपूर्ण मानिन्छ।

सुर्मासरोवर ताल धार्मिक एवं पर्यटकीय क्षेत्रमा हरेक वर्ष साउन महिनाको पहिलो औँसीदेखि पूर्णिमासम्म सुर्मादेवी (बिरिजात) धार्मिक मेला लाग्ने गर्दछ। सुर्मादेवी (बिरिजात) धार्मिक मेलाको समयमा विषेशतः सुर्मादेवी भगवती माताको लामो समयसम्म पूजाआराधना गरी मेला मनाउने परम्परा रहेको छ। सुर्मादेवी भगवती माताको उत्पति दुर्गाथली गाउँपालिकास्थित थलीजिउलामा रहेको दुर्गाभगवती मन्दिरबाट भएको जनविश्वास रहको छ।  

सुर्मादेवीकाे कथा 

पौराणिक कथाअनुसार थली जिउँलामा महालिङग भगवान् बस्थे उनका जेठी दुर्गादेवी र कान्छी सुर्मादेवी दुइवटै बहिनी श्रीमतीहरु थिए। एक समय महालिङग भगवानलाई कुष्टरोग लागेपछि रोग निको पार्न लसुन पिसेर लगाउने सल्लाह हुँदा जेठी बहिनी दुर्गादेवीले कान्छी बहिनी सुर्मा देवीलाई लसुन पिस्न आग्रह गरिन्।

सुर्मादेवीले नाक थुनेर लसुन पिस्न थालेपछि दुर्गादेवीले बचन लगाउँदै (तेतिकी छिपीली भया सरोवर बस) भन्दा सहन गर्न नसकी सुर्मादेवीले (थार) भनिने जनावरको भेषमा बुडखोरीमा रहेको सुर्मा मन्दिर मा गएर बसिन्। जंगली जनावरको भेषमा रहेकी सुर्मादेवीले खोरी गाउँका बासिन्दाले घाममा सुकाउँदै गरेको अन्नबाली (बिस्कुन ) चोरेर खान थालिन्।

थारको भेषमा आएकी सुर्मादेवीले अधिकांश दिन (बिस्कुन) चोरेर खान थालेपछि खोरी गाउँकी महिला (खोरयाल्नी) ले श्रीमानलाई शिकार गर्न आग्रह गरिन्। खोरीगाउँका पुरुषहरुले तिखा हतियार (भाला) ले थारलाई लखेट्दै जाँदा अन्तमा सुर्मा सरोवर तालमा पुगेर फेरि सुर्मा देवीको अवतार भएको भन्ने जनविश्वास रहेको छ। 

कसरी मनाइन्छ

सुर्मादेवी माताको उत्पति खोरी र घट्टे क्षेत्रमा भएकाले यस गाउँका बासीन्दालाई सुर्मादेवी (विरिजात) मेलाका विषेश करियाका को रूपमा मान्ने प्रचलन रहेको छ। सुर्मादेवी (विरिजात) मेलाको पहिलो शुरुवादीमा खोरी, र घट्टे गाउँमा रहेका सुर्मा मन्दिरहरूमा पूजाआराधना गरिन्छ।

सुर्मादेवी विरिजात मेलाको शुरुवातको समय साउन महिनाको औँसीदेखि १० दिनसम्म खोरी र घट्टे गाउँका भक्तजनहरू यहाँ रहेका सुर्मा मन्दिरमा (सुर्मादेवी) माताको पूजाआराधना गरी (बाँधा) मान्ने गर्दछन्। बाँधा मानिएको समयमा भक्तजनहरू अपवित्र हुन्छन् भनेर लसुन र मासु खाँदैनन्। (बाँधा) मानिएको समयमा साँझपख (दहीपाण) भनिने देउघरमा ढाँका नाच नाच्ने, ढुस्का गीतहरु गाउने तथा धामीझाँक्री काम्‍ने गर्दछन्।

भक्तजनहरू दिउँसो चौतारामा ढाँका नाँच,चाभाई गीत र फागहरू जस्ता रमाइला खेल पनि खेल्ने खेल्दछन्। यी खेलले परम्परागत कला संस्कृतिको जगेर्ना भइरहेको स्थानीय लक्ष्मण बोहराले जानकारी दिएका छन्। बाँधा समाप्त भएको दशौँ दिनको भोलिपल्ट एकादशीका दिन (उपासु) व्रत बसी भक्तजनहरू सबैरै उठेर धारामा स्नान गरी निगालाका लौरा (लाकुणी) को पूजा गरी गाउँको चौतारामा जम्मा हुन्छन्।

खोरी र घट्टे गाउँका भक्तजनहरू एकैठाउँमा जम्मा भई खुट्टामा जुता चप्पल नलगाई ढाँका नाच गर्दै स्नान गर्न पवित्र धार्मिकस्थल सुर्मासरोवर तालको यात्रा आरम्भ गर्दछन्। यसरी जुता चप्पलबिना पैदलयात्रा गर्दै सुर्मासरोवर ताल पुगेर स्नान गरे मनले सोचेको कुरा पूरा हुने तथा वर पाइन्छ भन्ने जनविश्वास छ।

सुर्मा माताको जयजयकार

सुर्मासरोवर तालको यात्रा शुभारम्भ गरी हिँडेका खोरी र घट्टे गाउँका भक्तजन सुर्मा माताको जयजयकार (चाहाचाहा) गर्दै नजिकैको लुवाडा गाउँको चौतारामा जम्मा भई (पणछमी) गर्दछन्। ओरालो झर्दै माटेसाँघुबाट उकालो चढ्दै पातललेखबाट सुर्मा गाउँपालिकाको सैन गाउँमा पुग्दछन् र त्यहाँ रहेको भुकोहाल्ना भन्ने मन्दिरमा अन्नी फाको चढाएपछि साँझ थकुन्नाडा गाउँमा रहेको सुर्मादेवी पागरजडी मन्दिरमा पुग्दछन्।

त्यही साँझको समयमा सेलाखेत, धामीलेख,र घोगाडाबाट आउने सुर्मादेवीका धामी पूजारी अथवा आलीपालीहरूको (लोग) लाई थकुन्नाडा गाउँमा भेट गरी (पणछमी) गर्दछन्। (पणछमीको) समयमा खोरी र घट्टे गाउँका भक्तजनहरु ढाँका बजाउदै धामीझाँक्रीलाई काँधमा बोकेर स्वागत गर्दछन् र राति त्यहाँ रहेको (दहीपाण) भनिने देउघरमा गई जाग्राम बस्दछन्। 

घाँसमा लडीबुडी

भोलिपल्ट सबेरै सबै भक्तजन स्नान गर्न सरोवरतालको यात्रा आरम्भ गर्दै हिमालतिर उकालो चढ्दछन्। थकुन्नाडा गाउँमा रहेको सुर्मादेवी पागरजडी मन्दिरबाट करिब २ घण्टा अकालो चढेपछि भक्तजन (लोट्नी) भन्ने ठाउँमा पुग्दछन्। (विरिजात) मेलामा पहिलो पटक गएका तीर्थयात्री (बालावीर) हरु (लोट्नी) भन्ने ठाउँमा घाँसमा लडीबुडी गर्ने प्रचलन रहेको छ।

सुर्मा माताको जयजयकार गर्दै सुर्मासरोवर तालमा स्नान गर्न उकालो लागेका भक्तजन पाँच घण्टापछि करिब चार हजार मिटर उचाइमा रहेको नाच्नी भन्ने डाँडामा जम्मा हुन्छन्।

त्यहाँ रहेको सुर्मादेवी माताको मन्दिरमा तीर्थयात्रीहरू खानाका परिकार चढाउँछन। पहिलो पटक सुर्मासरोवर ताल गएका तीर्थयात्री (बालाविर) हरूलाई खोरी र घट्टे गाउँका  भक्तजनले काँधमा चढाउने गर्दछन्। काँधमा चढाएबापत (बालावीर) हरु ले भेटीस्वरूप आफ्नो दक्षताअनुसार पैसा दिनुपर्ने परम्परा छ।

मागेको वर पुग्‍ने विश्वास

तीर्थयात्री, भक्तजनहरू नाच्नीबाट मधुखर्क, बूढीविनायक,जलजला हिमखेत, चाँदेशिखर हिमाल, हुँदै साँझ पवित्र मानिने सुर्मा सरोवर तालमा पुग्दछन्। सुर्मा सरोवर तालमा पूजाआराधनासँगै स्नान गरिसकेपछि श्रदालु भक्तजनहरू सुर्मादेवी मातालाई आफूले चिताएको वर माग्दछन् साँझ तालनजिकै रहेका ओढारमा बास बस्दछन्। 

साँझ ओढारमा जाग्राम बसेका तीर्थयात्री भक्तजन सबेरै उकालो चढेर चादेशिखर हिमाल हुँदै ओरालो झर्ने गर्दछन्। एक आपसमा सद्भाव कायम गर्दै सुर्मा माताको जयजयकार (चाहाचाहा) भन्दै भक्तजन साँझ पुनः थकुन्नाडा गाउँमा पुग्दछन्। सुर्मा सरोवर तालबाट आउने तिर्थयात्री भक्तजनहरुको स्वागतका लागी थकुन्नाडा मेलाबाट महिला तथा पुरुषहरु दही र मिठो परिकार लिएर बीचबाटो लोटनी भन्ने ठाउँसम्म पुग्ने गर्दछन्।

रोमाञ्‍चक ढाँका नाच

सुर्मा सरोवर तालबाट स्नान गरी फर्केका श्रदालु भक्तजनहरू ढाँका नाच गरी (चाहाचाहा) भन्दै थकुन्नाडा गाउँमा रहेको (पागरजडी) सुर्मा मन्दिरमा प्रवेश गर्दछन् र सरोवरबाट ल्याएको जल तथा प्रसादहरू मन्दिरमा चढाउँछन्। साँझपख धामी झाँक्रीलाई काँधमा राखी (पणछमी ) गरेपछि खोरी र घट्टे गाउँका तिर्ययात्री भक्तजनहरू ढाँका बजाउँदै आफ्नो घरतिर प्रस्थान गर्दछन्। 

भोलिपल्ट खोरी र घट्टे गाउँका तिर्थयात्री भक्तजन ढाँका बजाउँदै सुर्मादेवीको जयजयकार (चाहाचाहा) गर्दै पहिलोचोटि सरोवरको यात्रा गरेका (बालाविर) लाई काँधमा राख्दै खोरीगाउँमा रहेको सुर्मा मन्दिरमा पुग्दछन् र सुर्मासरोवर तालबाट ल्याइएको जल प्रसाद मन्दिरमा चढाउँछन्।

घट्टे गाउँका तिर्थयात्री र भक्तजनहरु पनि ढाँका बजाउँदै सुर्मादेवीको जयजयकार (चाहाचाहा) गर्दै महिलाहरु चाभाई गीत गाउँदै घट्टे गाउँतिर प्रस्थान गर्दछन्। उनीहरूको स्वागतका लागि बाटोमा महिलाहर दही लगायतका मिठो परिकार खुवाउँदै उनीहरुको स्वागत गर्दछन् 

एक आपसमा भेटघाट र सदभाव कायम गर्दै पुन घट्टे गाउँमा रहेको सुर्मा मन्दिरमा पूजाआजा गरी साँझ देउघरमा खाना खाने गर्दछन्। भोलिपल्ट सबेरै खोरी र घट्टे गाउँका तीर्थयात्री भक्तजन बुडखोरीमा रहेको सुर्मा मन्दिरमा गई पूजाआराधना गर्दछन्। मन्दिरमा ढाँका नाच गरी धामीलाई काँधमा चढाउँदै  महिलाहरु चाभाई गीत गाउँदै ओरालो झर्दछन्। यसरी अन्तिम दिन मजखोरीमा विविध कार्यक्रम गरी मेला समापन हुन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.