सडकमा भएका रुखले धुलो सोस्ने काम गर्छ

|

काठमाडौं : कलंकी-महाराजगञ्‍ज सडक खण्ड विस्तार गर्दा सडकका दायाँबायाँ भएका रूख काटिने भएको छ। सडकको ८० मिटरभित्र रहेका सबै रूख हटाइने भएको हो। सडकको मापदण्डविपरीत रोपिएका सबै रूखहरू हटाइने भएको छ। विस्तारका क्रममा २५ सय रुखहरु काटिने भएको छ।

काठमाडौं चक्रपथ सुधार आयोजनाअन्तर्गत कलंकी– महाराज सडक खण्डअन्तर्गत सडकको विस्तार गर्नुपर्ने भएकोले सडकका दायाँबायाँमा रहेका रूख हटाउनुपर्ने भएको संघीय सडक सुपरिवेक्षण अनुगमन कार्यालयका प्रमुख कैलाश श्रेष्ठले बताए।

उनका अनुसार सडक विस्तारका क्रममा अवरोध गर्ने सबै रूख कटान गरिन्छ। रूखले सडक विस्तारमा अवरोध गर्नेछ। कलंकी-महाराजगञ्ज सडकमा दुई हजार बढी रूख छन्।

चिनियाँ कम्पनीले डिपिआर सडक विभागलाई बुझाउनासाथ सडक विस्तारको काम हुनेछ। चक्रपथ सडक खण्डमा भएका सबै रूखहरू हटाएर सडकको विस्तार गरिने भएको श्रेष्ठले बताए। उनले भने,'यसको लागि सडकमा भएका सबै रूख काटेर सडकको विस्तार गर्नुपर्छ। 'दुई लेनको सडकलाई ८ लेनको सडक निर्माण गर्न लागेको हो।

सडक निर्माण भएपछि खाली भएको भागलाई पुनः वृक्षरोपण गरिने उनले बताए। 'विकास गर्नु पनि छ। भएका संरचनाले अवरोध गर्छ भने त राखेर भएन नि केही संरचनालाई त हटाउनु परो' उनले भने।

रूख नकाटी ८ लेनको सडक नबन्ने उनको दाबी छ। रूख काटेर मात्र सडकको विस्तार हुने तर्क छ। रूखलाई बचाएर सडकको विस्तार गर्ने अन्य कुनै विकल्प नरहेको उनको धारणा छ। ' सानो विरुवा भए त बचाउन सकिन्छ। ठूलो-ठूलो रूख छ कसरी बचाउने त्यसैले सबै काटेर सडकको विस्तार हुन्छ' उनले भने।

काठमाडौं चक्रपथ आयोजनाले कलंकी महाराजगञ्ज सडकअन्तर्गत विस्तार हुने खण्डमा निर्माणपूर्वको तयारी थालेको छ। यसअन्तर्गत विस्तार हुने क्षेत्रमा रहेका बिजुलीका खम्बा, पानीका पाइप, ढललगायत हटाउने तथा नयाँ स्थानमा व्यस्थापन गर्ने काम थालिएको छ। त्यसका लागि आयोजना कार्यालयले कागजी काम गरिरहेको छ।

कलंकी-महाराजगञ्ज सडक खण्ड ८.२ किमि लम्बाइको छ। यही सडकखण्ड विस्तारका क्रममा सडकको मध्यभागबाट ३१/३१ मिटरमा पर्ने रुखहरु काट्न अहिले विभागले तयारी अन्तिम चरणमा पुर्‍याएको हो ।

त्यसैगरी, सरकारले सडक विस्तारका क्रममा रूख हटाउने योजना हचुवाको भरमा निर्णय गरेको वातावरण संरक्षण अभियन्ता मिलन राईले बताए। उनका अनुसार सडकमा भएका हरियो रूखले सडकको सौन्दर्य बढाउँछ। विकास गर्दा पर्यावरणलाई पनि ध्यान दिएर विकास गर्नुपर्छ। रूखले सडकका धुलोलाई धेरै सोस्ने गर्छ। वातावरणीय दृष्टिकोणले पनि सडकमा रूख भएको राम्रो हो।

एक ठाउँको रूखलाई अन्य ठाउँमा लगेर पनि सार्न सकिने उनले बताए। ट्रान्सप्लान्टर मेसिन ल्याएर भए पनि त्यस्ता रुखहरु सार्न सकिने उनले सुझाव दिए। ' सडक विस्तार गर्दा रूख काटिन्छ। पछि रूख रोप्ने विषयमा सरकारको ध्यान जाँदैन' उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.