४५० जना विरामी

|

चितवन : चितवनमा डेंगुको संक्रमण महामारीका रूपमा देखिएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार १६ दिनमा डेंगु र स्क्रप टाइफसका कारण ३ जनाको मृत्यु भएको छ। यसबाट प्रभावित हुनेको संख्या दैनिक रूपमा बढिरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। 

यस्तो छ मृत्यु र संक्रमणको दर

डेंगुबाट भरतपुर महानगरपालिका १ का ७१ वर्षीय वृद्धको गएको साउन ३१ गते मृत्यु भएको छ। उनी साउन २९ गते चितवन मेडिकल कलेजमा भर्ना भएका थिए। यस्तै भरतपुर महानगरपालिका शुक्रनगरका १६ वर्षीया किशोरीको डेंगु र स्क्रप टाइफसबाट मृत्यु भएको कार्यालयले जनाएको छ। उनको पुरानो मेडिकल कलेजमा साउन २३ गते मृत्यु भएको हो। 

रौतहटबाट उपचकरका लागि चितवन आएका ३४ वर्षीय पुरुषको स्क्रप टाइफसबाट मृत्यु भयो। भदौ ६ गते चितवन मेडिकल कलेजमा भर्ना भएकोमा ७ गते उनको मृत्यु भएको स्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीले जानकारी दिए। साउन पहिलो हप्ताबाट फैलिएको डेंगु अहिले जिल्लामा महामारीकै रूपमा रहेको छ।

चालु आर्थिक वर्षको भदौ १० गतेसम्मको रिपोर्ट अनुसार १ हजार ३५६ जनाको परीक्षण गरिएकोमा ४५० जना डेंगु पोजेटिभ विरामी भेटिएका छन्। जसमध्ये २७५ जना चितवनका, ४३ जना नवलपरासी, ९ जना मक्वानपुरका र बाँकीको ठेगाना नखुलेको स्वास्थ्य कार्यालयले जनाएको छ। संक्रमितहरू कतिपय उपचार गराई रहेका छन भने केही उपचारपश्चात घर फर्किसकेका छन्। 

यो तथ्यांक भरतपुर अस्पताल, नारायणी सामुदायिक अस्पताल, पुष्पाञ्जली अस्पताल, मौलाकालिका अस्पताल, पुरानो मेडिकल कलेज, चितवन मेडिकल कलेज, रत्ननगर अस्पताल, सेट्रल अस्पताल लगायतका अस्पतालमा परीक्षण गरिएको तथ्यांक हो। अन्य स्थानबाट पनि रिपोर्ट आउने क्रम जारी रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। 

विगतमा के थियो? 

गत आव २०७५/०७६ मा १ हजार ९५१ जनाको परीक्षण गरिएकोमा ३१ जनामा पोजेटिभ देखिएका थियो। त्यसबेला मृत्युका घटना थिएनन्। २०१० मा अहिलेसम्मको सवै भन्दा धेरै ५ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ। अहिलेसम्मकै डेंगुको महामारी फैलिएको उक्त वर्ष ३ हजार २९८ जनाको परीक्षण गरिएकोमा ७३९ जनामा पोजेटिभ देखिएको थियो। 

नियन्त्रणका प्रयास र समस्या

यसको संक्रमण बढ्दो रूपमा रहेको चिकित्सकको भनाई छ। जिल्लाको अन्य स्थानमा भन्दा भरतपुर महानगरपालिकामा डेंगुको प्रकोप महामारीका रूपमा देखिएको छ। विशेष गरी भरतपुर महानगरपालिका १, २, ३, १०, ११ र १२ न वडामा बढी संक्रमित देखिएका छन्। बाक्लो बस्ती, मुख्य बजार क्षेत्रमा वर्कसव, ग्यारेज, विभिन्न कलकारखाना, कवाडी सेन्टरहरू बढी रहेकाले महानगरमा यसको संक्रमण डरलाग्दो देखिएको हो। 

डेंगु नियन्त्रणका लागि बजार क्षेत्रमा व्यवसायी आफै सचेत नहुँदा पनि समस्या परेको सरोकारवाला पक्षको भनाई छ। दिउँसो व्यवसायका लागि मात्रै बजारमा आउने र सरसफाई लगायत डेंगुबाट बच्ने उपाय नअपनाउदा समस्या परेको उनीहरूको बुझाई छ।

अर्कोतर्फ स्वास्थ्य कार्यालय, महानगरको स्वास्थ्य शाखा लगायत सरोकारवाला पक्षले बेलैमा ठोस कदम नचाल्दा अहिलेको अवस्था आएको कतिपयको आरोप छ। 
स्वास्थ्य कार्यालयबाट विभिन्न कार्यक्रम गरे पनि समुदाय आफैँ जागरुक नभएसम्म नियन्त्रणमा समस्या रहेको किट नियन्त्रक केसीको भनाई छ।

समुदायका हरेक घर परिवार, व्यक्ति आफैँ सर्तक भए यो समस्या समाधानमा सहज हुने स्वास्थ्य कार्यालयका प्रमुख दिपकप्रसाद तिवारीले बताए। डेंगुको महामारी देखिएपछि नियन्त्रणका लागि सरोकारवाला पक्षले विभिन्न किसिमका कार्यक्रम सुरु गरेको छ। महानगरपालिका प्रमुख रेनु दाहालको नेतृत्वमा शनिबार विहान वृहत सचेतनामूलक र्‍याली निकालेको छ।

स्थानीयलाई सचेत गराउन महानगरको विभिन्न स्थानमा र्‍यालीले परिक्रमा गरी खवरदारी कार्यक्रम गरिएको दाहालले बताइन। महानगरले सम्बन्धित वडा कार्यालयमार्फत टोलटोलमा कार्यक्रम सञ्चालनको तयारी पनि गरिरहेको जनाएको छ।

किटको अभाव

चितवनमा डेँगु परीक्षणको किट समेत अभाव रहेको स्वास्थ्य कार्यालयले बताएको छ। सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध गराउनु पर्ने किट अभाव हुँदा बिरामी निजीमा गएर उपचार गर्न बाध्य भएका छन। सरकारी स्वास्थ्य संस्थाले पनि किटको अभाव भन्दै निजीमा रिफर गर्न थालेका छन्। स्वास्थ्य कार्यालयले किट पर्याप्त नभए पनि भरतपुर अस्पताल, रत्ननगर अस्पताललाई कामचलाउने गरी थोरै मात्रामा उपलव्ध गराउँदै आएका छन। 

डेंगुको लक्षण 

ज्वरो आउने, कमजोरी महसुस हुने, घाँटी दुख्ने, खान मन नलाग्ने, भोक नलाग्ने, वाकवाकी लाग्ने, मांसपेशी र जोर्नीमा दुखाइ हुने, शरीरमा रातो बिबिरा देखिनु डेंगुको लक्षण रहेको चिकित्सकको भनाई छ।  

बच्ने उपाय

पानीका भाँडाकुँडा, ट्यांकी छोपेर राख्ने, घर वरपर सफा राख्ने, घरमा बस्दा होस वा बाहिर हिड्डुल गर्दा शरीर छोप्ने कपडा लगाउने, घर वरिपरि पानी जम्ने खाल्डा-खुल्डी पुर्ने, अनिवार्य झुलभित्र सुत्ने, लामखुट्टेका लार्भा नष्ट गर्ने, गाडी ग्यारेज तथा कवाडी सामान संकलन कमेन्द्रमा बिशेष निगरानी र सुरक्षा अपनाउने।

डेंगुबाट बच्ने विभिन्न उपायलाई ध्यान दिए यसबाट बच्न सकिने फिजिसियन डा भोजराज अधिकारीको भनाई छ यदि डेंगुको केही लक्षण देखिएमा तत्कालै अस्पतालमा गएर चेकजाँच गराउनु नै सवै भन्दा उत्तम हुने डा अधिकारीले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.