|

उदयपुर : पूर्व–पश्चिम जोड्ने वैकल्पिक मार्गको रुपमा सरकारले उच्च प्राथमिकतामा राखेको मदन भण्डारी राजमार्गको निर्माण कार्यले गति लिएको छ। भित्री मधेसका जिल्लाहरुलाई जोड्ने लक्ष्यसहित झापाको शान्तिनगरदेखि डडेल्धुरासम्म जोड्ने उक्त राजमार्गको पूर्व खण्डको निर्माण कामले गति लिएको हो।

तीन खण्डमा काम भइरहेको मदन भण्डारी राजमार्गको पूर्वी खण्डअन्र्तगत उदयपुरको बसाहादेखि सिन्धुलीको भिमानसम्म सडक र पुलको निर्माणको काम धमाधम भइरहेको छ। उदयपुरको चुरे क्षेत्रको काखैबाट जाने सडकले उदयपुरलाई दुई भागमा विभाजन गरेको छ। जसले गर्दा उदयपुरको समृद्धि आधार खडा गर्ने बताइन्छ।

उदयपुरको चौदण्डीगढी नगरपालिका–३ बसाहाको वीरेन्द्रचोकदेखि सिन्धुलीको भिमानसम्मको सडक निर्माणको काम धमाधम भइरहेको आयोजना कार्यालय गाईघाटले जनाएको छ।

४३ वटा पुल निर्माण अन्तिम चरणमा

मदन भण्डारी राजमार्गको पूर्वी खण्डअन्तर्गत निर्माणाधीन १३४ किलोमिटर सडकमा पर्ने ४३ वटा पुल निर्माणको काम अन्तिम चरणमा पुगेको पुल निर्माणको ठेक्का पाएको कोभेक, रसुवा तुदी जेभीका प्रतिनिधि सुदर्शन देवकोटाले जानकारी दिए।

‘२०७३ कात्तिक २४ गते ३ अर्ब ८५ करोड ३५ लाख रुपैयाँको लागलतमा निर्माणको जिम्मा लिएकोका थियांै,’ उनले भने, ‘हालसम्म ९० प्रतिशत काम सम्पन्न गरिसकेका छौं।’ निर्माणाधीन ४३ वटा पुलमध्ये ३४ वटा पुलको निर्माण सम्पन्न भई सञ्चालनको तयारी रहेको र नौ वटा पुलको फाउण्डेसनको कार्य सम्पन्न भइरहेको छ। 

केही पुलमा समान्य विवाद सिर्जना भएको निर्माण पक्षले जनाएको छ। ठूलो भैपरी समस्या नआएको खण्डमा अबको केही महिनाभित्र पुल निर्माणको काम सम्पन्न गरी आयोजनालाई हस्तान्तरण गर्ने कोभेक रसुवा तुदीँ जेभीका देवकोटाले जानकारी दिए।

यता आयोजनाले भने निर्माणाधीन पुलको काम उत्साहाजन रुपमा भएको दावी गरेको छ। यही गतिमा काम भए पुलको काम चाँडै सकिने आयोजनाको दावी छ। उदयपुरको चौदण्डीगढी नगरपालिकास्थित काली खोलामा निर्माणाधीन पुलमा एक स्थानीयले आफ्नो जग्गा परेको भन्दै समान्य विरोध गरेको भए पनि अन्य स्थानमा कुनै विवाद नभएको मदन भण्डारी राजमार्ग योजना कार्यालय गाईघाटका प्रमुख ललितजन खनालले बताए। 

भौतिक प्रगति ५० प्रतशित 

निर्माणाधीन मदन भण्डारी राजमार्ग पूर्वी खण्ड उदयपुरको बेलका नगरपालिका, चौदण्डीगढी नगरपालिका, त्रियुगा नगरपालिका, उदयपुर गढीगाउँपालिका र कटारी नगरपालिका भएर सिन्धुलीको दुधौली नगरपालिका र कमलामाई नगरपालिका हुँदै हेटौंडासम्म जोड्ने छ।

पूर्वी खण्ड निर्माण गर्न जेडआइइसी लामा एण्ड शर्मा जोइन्ट भेन्चर काठमाडौंले ६ अर्ब ५४ करोड २९ लाख ३२ हजार ९३७ रुपैयाँमा ठेक्का लिई २०७७ भदौ ४ सम्ममा निर्माण सम्पन्न गर्नु पर्ने आयोजनाको कार्यालयले जानकारी दिएको छ।

पूर्व खण्ड आयोजना प्रमुख खनालका अनुसार हालसम्म उदयपुरगढी गाउँपालिकाको अँधेरदेखि चोदण्डीगढी नगरपालिका र सिन्धुलीको भिमानसम्मको करिव ५० किलोमिटर क्षेत्रमा ११ मिटर फर्मेशन चौडाईको पहिलो लेयर बिबिएम कालोपत्रेसहित १०५ किलोमिटर ग्राबेल गरिसकिएको छ। 

करिब सात किमी चौडाइमा थप पाँच सेमी मोटो अस्पाइल्ट कङ्क्रिट डिजाइनको कालोपत्रेयुक्त र सुरुमा धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौडा सडक आयोजनाको नाम दिइएको यस मदन भण्डारी राजमार्गको पूर्वी खण्डमा १३५ किलोमिटर सडक पर्दछ। 

सडक निर्माणमा हालसम्म भौतिक रूपमा ५० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेकाले निर्माण कम्पनीलाई हालसम्म ३ अर्ब ३१ करोड पाँच लाख २४ हजार रुपैयाँ भुक्तानी भइसकेको आयोजना प्रमुख खनालले जानकारी दिए।

सडकको विभिन्न स्थानहरुमा सबग्रेड, ह्युम पाइम, स्लाभ कल्भर्ट, मेसिनरी वाललगायतका कामहरु भइरहेको निर्माण व्यवसायी जेडआईईसी शर्मा लामा जोइन्ट भेन्चरका डिपुटी कन्ट्याक्ट मेनेजर इन्जिनियर सीताराम दाहालले बताए। 

सर्वसाधरणमा खुसी

छोटो दूरीको यो सडक निर्माण नहुँदा लामो दूरी हुँदै राजधानी तथा अन्य क्षेत्रमा जान बाध्य यहाँका नागरिकमा यो सडक निर्माण भएसँगै खुसी ल्याएको छ। सामाजिक र आर्थिक रुपान्तर हुने भएकाले पूर्व निर्धारित समयमा निर्माण कार्य सम्पन्न हुनुपर्ने स्थानीय बासिन्दाको माग समेत रहेको छ।

उदयपुरको पश्चिमी क्षेत्र कटारी र सदरमुकाम गाईघाट यही राजमार्गले जोडिन्छ। यसअघि कटारीका बासिन्दाहरु सदरमुकाम गाईघाट आउन प्रदेश २ को सिराहा र सप्तरी हुँदै धाउनु पर्ने बाध्यता रहेको थियो। यो राजमार्ग बनेपछि उक्त बाटो हिँड्नु पर्ने बाध्यता हट्ने भएको छ।

आर्थिक, सामाजिक लगायतका दृष्टिकोणबाट मदन भण्डारी राजमार्गले टेवा पु¥याउने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उदयपुरका जिल्ला अध्यक्ष विनोद कटुवालले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.