विचार

१०६ औँ जन्मजयन्ती : बिपीलाई सधैं सम्झनु पर्ने कारण

बिपीलाई कांग्रेसको मात्र हुन् भन्ने धृष्टता नगरौं

भदौ २४, २०७६

    स्वर्गीय विश्वेश्वरप्रसाद कोइरालाका वारेमा खासै कुनै विशेषण जोडिरहनु अब किन पनि अर्थ छैन भने आधुनिक नेपालमा अनुभूत गरिएका चर्चित व्यक्तित्वहरूमध्ये उहाँ नै अहिले पनि सिद्धान्तको रुपमा नेपाली जनमानसमा विद्यमान हुनुहुन्छ। उहाँले आफूलाई कुनै वादको जन्मदाता मान्नु भएन तर नेपालले उहाँलाई प्रजातन्त्रको पर्यायका रुपमा मान्यो।

    प्रजातान्त्रिक समाजवादको नेपाली संस्करणका रुपमा नेपालले मात्र होइन की विश्व प्रजातान्त्रिक आन्दोलनले मान्यो। उहाँले विचार मात्र दिनुभएको थिएन, त्यो विचारलाई सुविचारित तरिकाले समाजमा, प्रशासनमा, अर्थतन्त्रमा र विदेश नीतिमा कसरी प्रयोग गर्नुपर्छ, उदाहरणीय रुपमा कार्यान्वयन गरेर जानु भएको छ। त्यसका लागि नेपाली कांग्रेस भन्ने एउटा जीवन्त संघठन नै तयार गर्नु भएको थियो। जसले एसियामा नै प्रजातान्त्रिक समाजवादको शङ्खघोष गर्न सक्यो र प्रजातन्त्रका विरुद्धमा कतै कोहीसँग पनि सम्झौता नगर्ने अडान भएको संस्था नेपाललाई छोडेर जानुभयो। 

    दुर्भाग्यवश, अहिले उहाँको संस्था त छ। तर अहिलेको अवस्थामा मुलुकलाई वैकल्पिक नेतृत्व दिन सक्ने अवस्थामा छैन भन्दा सायद बिपी बाँच्नु भएको भए पनि दुखित हुनुहुन्थ्यो होला। प्रजातन्त्रवादीहरू जो नेपाली कांग्रेसका शुभचिन्तक र मतदाताहरू हुन्, ती रनभुल्लमा छन्। न त सत्ताधारी नेकपालाई दबाब नै दिन सक्छ जनताका पक्षमा सत्ता सञ्चालन गर्न। न त सँसदमा सृजनात्मक र दबाबकारी विपक्षको भूमिकामा सफल हुन सकेको अवस्था छ।

    प्रजातन्त्र भनेको सृजनशील विचारले नेतृत्व गर्ने क्षमता हो जसले गतिशील समाजलाई जम्न दिँदैन। पुरातन व्यवहारलाई पनि  नुतन व्यवहारले सन्तुष्ट बनाएर समाजलाई अग्रगामी मोर्चातिर डोर्‍याइरहने क्षमता कांग्रेसले राख्नुपर्ने हो,बिपीको कांग्रेसले। तर नेपाली जनतामा त्यो सम्मोहन दिने नेताको कमी देखियो भन्नेहरू नै कांग्रेसमा छन्।

    पार्टी बाहिरबाट त झन कसरी विश्वास गर्लान्? स्थिर सोचाइ वा कुनै सोचाइविनाको भीडले कुनै पनि सिद्धान्तको न त व्याख्या गर्न सक्छ। न त विचारको खेतीलाई मलजल नै गर्नसक्छ। बिपी भन्नुहुन्थ्यो बुद्धिजीवीहरूले प्रजातन्त्रका पक्षमा मतदानमात्र गर्ने होइन, प्रजातन्त्रलाई सुदृढ पार्नका लागि आलोचनात्मक मतको समेत प्रतिनिधित्व गर्नुपर्छ। देखेको कुरा भन्नुपर्छ, लेख्नुपर्छ। तर बीपीको दलमा मात्र गुटबन्दी छ खुल्लमखुल्ला। असहिष्णुता छ।

    यदुवंशीको जस्तो छ आफैँमा मारामार, काटाकाट, उछिनापाछिन। कुनै पनि गुटमा नरहेर प्रजातन्त्रप्रति मात्र आफूलाई निष्ठावान मान्नेहरू प्रजातन्त्रवादीको कोटीमा नै नपर्ने अवस्था छ। कांग्रेस थाकेको घोडा जस्तो छ भन्छन् बुद्धिजीवीहरू। सबैतिर लथालिङ छ। गर्दागर्दै कांग्रेसको नर्सरी भनेर चिनिने किशोर र तरुणको जीवन्त संगठन नेविसंघ र तरुणको प्रतिनिधिमूलक संस्था नेपाल तरुण दलजस्ता जुझारु संस्थाहरूको हालत के छ भन्ने परेन। भन्दा आलोचना जस्तो हुन्छ तर कटुसत्य अब पनि नबोले भोलि प्रजातन्त्रका वारेमा कसले बोल्ने हो? थाहा छैन। 

    मुलुकमा स्थानीय तहसमेत गरी ७६१ वटा सरकार छन्। सबै सरकारको औसत कार्यक्रम जनमुखी छैन। आवश्यक कुराहरूमा समेत मुलुक रनभुल्लमा छ। जसले गर्दा असफल राष्ट्रको गणनामा नेपाल पर्ला जस्तो हुन लागेको छ। के यसमा नेपाल सरकारलाई मात्र दोष दिएर हुन्छ की प्रजातन्त्रको स्थापनार्थ सदैव अग्रमोर्चामा लड्ने नेपाली कांग्रेसको पनि खबरदारी आवश्यक छ? 

    देशले बाटो बिराएको छ र त बिपीको महत्व अहिले बढी नै महसुस गरिएको छ। रूपान्तरण आफैँबाट गर्ने आँट भएका नेताका रुपमा बिपीलाई लिइन्छ। उहाँको जीवन खुला पुस्तक झैँ छ र सबैलाई खुला रुपमा राजनीति गर्न र राजनीति मुलुकका लागि गर्न अभिप्रेरित गरिरहे झैँ लाग्छ। 

    नेपाल राजनीतिक, आर्थिक तथा सामाजिकरुपमा यति धराप मोडमा आफ्नो इतिहासमा कहिल्यै पनि थिएन होला। मुलुकले अहिले सक्षम राजनेताको कमी महसुस गरिरहेको छ। पछिल्लो कालखण्डमा गिरिजाबाबुले समन्वय र राजनीतिक सुझबुझको परिचय दिँदै सशस्त्र हिँसामा व्यस्त तत्कालीन नेकपा माओबादीलाई शान्तिको

    मूलधारमा ल्याउने कोसिस गर्नुभएको थियो र त आज मुलुकमा शान्ति त कम्तीमा छ नि। अहिलेको घटनाक्रमले सम्पूर्ण नेपाल राष्ट्रिय मेलमिलापको प्रतीक्षामा छ। बिपीले देखाउनु भएको बाटोमा नेपाल हिँड्न छाडेकोले पनि नेपालले लामो बाटो हिँड्नु पर्ने भएको छ। नेपाल इतिहासको त्यो संकटपूर्ण अवस्थाबाट गुज्रँदै छ। जहाँ अब कुनै पनि उपचारले कसरी राष्ट्रिय अविश्वासको रोगबाट मुक्ति पाउन सक्छ भन्ने निदान देखिन थालेको छैन।

    जब बिपी हुनुहुन्थ्यो, त्यसबेलामा बिपीको राष्ट्रिय मेलमिलापलाई उहाँको सशस्त्र संघर्षको समापन सम्झने गल्ती गर्नेहरू नै पछि जनयुद्धको हिँसात्मक बाटोतिर लागे अनि नयाँ राजनीतिक स्थिति विकासतर्फको अनिश्चित गन्तव्यतिर मोडिए जसले मुलुकलाई अहिले पनि अनिश्चित भविष्यतर्फ डोर्‍याइरहेको छ र यदि स्थितिको आत्मालोचना गर्न ढिलो भएमा मुलुक अस्थिरता र अनिश्चयको गर्भतर्फ भासिने निश्चित देखिन्छ।

    अहिलेको संकेत त्यति आशालाग्दो छैन र मुलुकलाई एउटा राजनेताको कमी बारम्बार खट्किरहेको छ। जसले मुलुकलाई एउटा रहरलाग्दो भविष्यतर्फ डोर्‍याओस्। सबै मिल्नु पर्छ भनेर सन्देश दिनसक्ने राजनेताको कमी अहिले छँदैछ। 

    बिपीको मेलमिलापको नीति कसैको विरुद्धमा थिएन। अरु त अरु उहाँलाई फाँसीको सजाय दिनका लागि नौटङ्की गर्ने राजाका विरुद्धमा पनि थिएन। राजाले, राजतन्त्रले त्यो समयको पदचाप सुन्न नसक्दा मुलुकमा राजतन्त्र मुला उखेलिएजस्तै गरी उखेलियो र अहिले कठैबरा भन्नेहरू खासै कोही रहेनन्। बिपीको पछिल्लो विशेषता राष्ट्रियता सम्बर्द्धनका लागि राष्ट्रिय मेलमिलापको प्रणेताका रुपमा लिइन्छ।

    हुन त यो दिन नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको धरावतरण दिवसको रुपमा लिए पनि नेपालको धरतीमा त्यसदिन लोकतन्त्रका एक सच्चा पहरेदार एक असल नेपालीको जन्म भएको थियो। त्यो नेपाली एक सच्चा राष्ट्रवादी, सच्चा समाजवादी, सच्चा लोकतन्त्रवादी र सच्चा मानवतावादी थियो।  

    पछिल्लो अवस्थामा उहाँको एकमात्र चाहना नेपाली नेपालीका बीचमा मेलमिलाप, नेपाली र नेपालका छिमेकीका बीचमा मेलमिलाप र नेपालको खस्कँदो राष्ट्रिय अस्तित्वलाई आधार बनाएर नेपालको अस्तित्व जोगाउन त्यस्तो निर्णय गरिएको थियो। त्यो निर्णय यति अचानक र संवेदनशील अवस्थामा भएको थियो की यसलाई स्वीकार गर्न नेपाली कांग्रेसका थुप्रै अहिँसावादी नेताहरूलाई पनि लामो समय लागेको थियो।

    यसका प्रणेता नेपाली काँग्रेसका अध्यक्ष बिपी स्वयं नै हुनुहुन्थ्यो। त्यो नीतिको सोलोढोलो परिणाम आउञ्जेलसम्म बिपी रहनु त भएन। तर उहाँको जुन भविष्यवाणीका आधारमा मेलमिलापको आधारभूमि खडा भएको मानिएको थियो। त्यसको मर्मलाई कुल्चिँदा नेपालको राजनीतिमा आमूल परिवर्तन अवश्यम्भावी भएको तथ्य आज अर्थ्याउन सकिन्छ। 

    उहाँको  लोकतन्त्रमा, उदार मानवअधिकारको रक्षाको छाताभित्र त्यहाँ सवै अटाउँथे, राजा पनि, वामपन्थीहरू पनि र राजावादीहरू पनि। तर विदेशीका इशारामा हिँड्नेहरू र नेपाललाई अस्थिरताको चक्रव्यूहमा फसाउनेहरू भने त्यसमा अटाउने कुनै गुन्जायस थिएन। अटाएनन् पनि। तर समयको पदचाप नसुन्दा र राष्ट्रिय मेलमिलापलाई बिपीको असफलताको हीनता ग्रन्थीको उपज सम्झेर आफूलाई विष्णुको अवतार सम्झने अनि जहिले पनि सैनिक बलका आधारमा आफूलाई बलियो सम्झने राजतन्त्रका प्रतिनिधिलाई अहिले लाग्दो हो। त्यसबेलामा त्यो सुकेको आवाजले बोल्ने विरामी मानिसको सशक्त तर्क सुन्न सकेको भए। र त्यो तर्कलाई व्याख्या गर्न सकेको भए आज नेपालको मुहार अर्कै हुने थियो र विकासको नयाँ नमुनाको रुपमा यो देश विश्वमञ्चमा दर्ता हुने थियो। जस्तो कि अहिले बेलायत, डेनमार्क, स्विडेन, नर्बे र जापान प्रस्तुत छन्। 

    बिपी, गणेशमानजीसहितका थुप्रै नेताहरूलाई फाँसीसमेतको माँग गरी नेपालका अदालतहरूमा मुद्दा चलाइएको अवस्थामा एकाएक स्वेच्छाले नेपाल प्रवेश गर्ने नीति तयार गरी सम्पूर्ण कांग्रेसहरू बाघको खोरमा मृग पसेजस्तै गरी राजाको प्रत्यक्ष शासनमा राष्ट्रियताका लागि राजासँग पनि मेलमिलाप, लोकतन्त्रका लागि सम्झौताविहीन संघर्ष भनी ग्वारग्वारती पस्दा  नेपालको राजनीतिमा एउटा सशक्त तरंग उत्पन्न भएको थियो। पञ्चायतलाई नै आफ्नो कब्जामा लिएर राजाभन्दा पनि ठूला राजावादी भएका घुसपैठवादीहरूका लागि त्यो तिलस्मी नीतिको रुपमा अर्थ्याइएको थियो।

    लोकतन्त्रका लागि संघर्ष, राष्ट्रियताका लागि सहकार्य। राजासँग मिलेर भए पनि कमजोर राष्ट्रियतालाई सबल बनाउने तर प्रजातन्त्रविनाको राष्ट्रियता खोक्रो नारामात्र साबित हुने भएकोले न संघर्ष, न समर्पणको नीतिलाई अवलम्बन गरिएको थियो। समर्पण कोहीसँग होइन। तर नेपालको हितका लागि जोसँग पनि सहकार्य गर्ने नीति थियो। प्रजातन्त्रका लागि कोहीसँग पनि सम्झौता नगरी प्रजातन्त्र पुनर्वहाली गराएरै छोड्ने नीति थियो बिपीको। यसमा लौहपुरुष गणेशमानजी, अथक शान्तियोद्धा कृष्णप्रसाद भट्टराईजी, क्रान्ति नायक गिरिजाप्रसाद कोइराला, अथक प्रजातन्त्रका सेनानी महेन्द्रनारायण निधिजस्ता नेताहरुको बिपीलाई सदैव साथ थियो।

    नेपाली जनताको जनपक्षीय धारको नेतृत्व बीपीको नाममा मात्र विश्वभर विश्वसनीयरुपमा यसकारणले पनि परिचित थियो कि उहाँलाई राजाले सैनिक बलमा अपदस्थ गरेका थिए। र उहाँ समाजवाद र प्रजातन्त्रका वारेमा आफ्ना धारणाहरूसमेत दिने गरी सोसलिस्ट इन्टरनेसनलकोे चिर परिचित नेताको रुपमा उदाइसक्नु भएको थियो।

    बिपीको यो शान्तिपूर्ण आन्दोलनले नेपालको राजनीतिमा गुणात्मक परिवर्तन ल्यायो। त्यसको पछिल्लो क्रमागत उपलब्धि भनेको  संविधानसभा हो। संविधानसभाबाट प्राप्त संविधान हो। जहाँ लोकतन्त्र, गणतन्त्र, संघीय स्वरुप र समावेशी चरित्रको शासकीय स्वरुप छ। जसले राज्यको अन्ततः शासकीय उपाय लोकतान्त्रिक समाजवादतर्फ नै उन्मुख हुने भनिएको छ।

    लोकतन्त्रमा विकल्पमा कुनै सम्झौता हुनुहुँदैन र राष्ट्रियता कमजोर हुने कुनै पनि काम कतैबाट पनि हुनुहुँदैन भन्ने नीतिलाई नै आज पनि बिपीबादको रुपमा नेपालीहरूले लिएका हुन्। जवकि बिपी आफूलाई मात्र एउटा प्रजातन्त्रप्रति अगाध आस्था राख्ने राजनीतिक कार्यकर्ताको रुपमा चिनाउनु हुन्थ्यो। त्यही महानताले नै, त्यही प्रजातन्त्रप्रतिको अगाध र अटुट आस्थाले नै बिपीलाई नेपाली प्रजातन्त्रको भीष्म पितामह बनायो।

    बिपीलाई कांग्रेसका मात्र हुन् भनेर सम्झने धृष्टता नगरौं। सवैले बीपीको राष्ट्रियता सम्बर्द्धन गर्ने लक्ष्यअनुसारको त्यो संवेदनशीलतालाई अहिले पनि मनन गरौं। नेपालको राष्ट्रियता बलियो बनाउन हामी मात्र लाग्नु पर्दछ। कोही हाम्रो प्रमुख शत्रु वा परम मित्र छैन। राजनीतिमा कोही कसैको स्थायी शत्रु वा मित्र हुँदैन।

    हामी सबै साझा प्रश्नमा एक भएर काम गर्न सक्यौँ। र एक भएर समस्या समाधान गर्न सक्यौँ भने कसैले हामीलाई केही पनि बिगार्न सक्दैन। हामी आफ्ना अतीतका गल्तीबाट सिक्ने भन्दा डराउने गर्दछाैं। हामी गल्ती स्विकार्ने हिम्मत गराैं र सवै जना मिलेर यो अतीव सुन्दर देशलाई अझ सुन्दर बनाऔँ।

    सवैको मेलमिलाप र सहकार्यबाट मात्र त्यो संभव छ।  बिपी जन्म जयन्तीमा मनन गर्ने कुरा पनि यही हो। बिपी जयन्तीको दिनबाट जन जागरण भाग दुईमा जान लागेका कांग्रेस जनले जन जागरणमा भन्दा समाजको सकारात्मक रुपान्तरणमा ध्यान दिए हुन्थ्यो। जहाँ आफ्ना कमी कमजोरीलाई हटाउन दिएको सुझाबलाई गुटभन्दा माथि उठेर मनन गर्न सकून्। आफूलाई हेरुन् र सुधार गर्दै बिपीको मार्गलाई पछ्याउन सकून्। 

हरिविनोद अधिकारी

पत्रकार अधिकारी समसामयिक विषयमा कलम चलाउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]