|

बारा : नेपालकै पहिलो पेट्रोलियम पाइपलाइनबाट मंगलबारदेखि नियमित रुपमा इन्धन आउने भएको छ। 

भारतको मोतीहारी–रक्सौलदेखि बाराको जितपुरसिमरा उपमहानगरस्थित अमलेखगञ्जमा नवनिर्मित पेट्रेलियम पाइपलाइनको नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीले मंगालबार उद्घाटन गरेसँगै इन्धन आपूर्ति नियमित हुने नेपाल आयल निगम अमलेखगञ्ज डिपोका प्रमुख प्रदिप यादबले जानकारी दिए।

भारतको पटनाबाट मोतिहारी हुँदै नेपालको अमलेखगञ्जसम्म कुल २५९.७ किलोमिटरमध्ये नवनिर्मित मोतीहारीदेखि अमलेखगञ्जसम्मको ६९.७ किलोमिटर पाइपबाट पहिलो चरणमा ३१ लाख लिटर डिजल पठाएर गत साउन ३ मा गरिएको परीक्षण सफल भएको थियो।

दैनिक ३० हजार किलोलिटर तेल

पाइपलाइन दैनिक २० घण्टा सञ्चालन हुने जनाइएको छ। दैनिक ३० हजार किलोलिटर तेल ल्याउन सकिने निगमले जनाएको छ। प्रतिघण्टा २०० किलोलिटर पेट्रोलियम पदार्थ आउनेछ। 

पाइपलाइनबाट अहिले डिजल मात्रै आयात गरिने र पेट्रोल आयात गर्न थप एक वर्ष लाग्न सक्ने अमलेखगञ्ज डिपो प्रमुख यादवले जनाए। पाइपलाइनको आयोजनाकै लागि निगमको अम्लेखगञ्ज डिपोमा १६ हजार किलोलिटर भण्डारण गर्ने ट्याङ्की समेत निर्माण गरिएको छ। 

वार्षिक दुई अर्ब रुपैयाँ बचत 

पाइपलाइनबाट पेट्रोलियम पदार्थ भित्रिएपछि ढुवानीमा वार्षिक दुई अर्ब रूपैयाँ बचत हुने निगमको अनुमान छ। 

वातावरण प्रदूषण, वन विनाश, राजमार्गमा हुने दुर्घटना, ट्राफिक जाम, ढुवानी गर्दा पेट्रोलियम पर्दाथमा हुने चुहावट लगायतका समस्या समाधान हुने नेपाल आयल निगममा निर्देशक सुरेन्द्र पौडेलले बताए। 

पाइपलाइन कहाँबाट कसरी जोडिन्छ

भारतको बिहार राज्यको बरौनी रिफाइनरीबाट पटना–मुगलसराय हुँदै कानपुरसम्म पेट्रोलियम पदार्थ ढुवानी हुने पाइपलाइन पहिले नै सञ्चालित थियो। 

पटना–मुगलसराय सेक्टरबीचमा पर्ने बिहारकै सिवानमा ट्याप अफ पोइन्ट निर्माण गरी त्यहाँबाट एउटा लाइन भारत उत्तर प्रदेशको बैतालपुरसम्म र अर्को लाइन सिवानबाट मोतिहारी हुँदै अमलेखगञ्जसम्म जोड्ने योजना इण्डियन आयल कर्पोरेशनको छ। नेपाल भित्रिएको पाइपको मोटाइ १०.७५ इन्च, गोलाइ ०.२१९ इन्च रहेको छ।

नेपाली सेनालाई सुरक्षा जिम्मा 
 
नेपालतर्फको पाइपलाइनको सुरक्षा जिम्मा नेपाली सेनाले पाएको छ भने भारततर्फ तेल उद्योग सुरक्षा निर्देशनालय (ओइएस आइडी) एवं पेट्रोलियम तथा बिस्फोटन सुरक्षा संगठन पिइएसओबाट गराउनेछ।

निर्धारित समयभन्दा अगाडि सम्पन्न 

पाइपलाइन राष्ट्रिय गौरवको आयोजना हो। अन्य राष्ट्रिय गौरवको आयोजनाको प्रगति अपेक्षाअनुसार तीव्र रुपमा अघि नबढे पनि पाइपलाइन निर्धारित समयभन्दा अघि नै सञ्चालनमा आउन लागेका छ। 

भारत सरकारको २७५ करोड रुपैयाँ लगानीमा सम्पन्न भएको पेट्रोलियम पाइपलाइन आयोजना नेपाल सरकारको पहिलो प्राथमिकताको आयोजना हो। 

२०६१ सालमा नेपाल र भारत सरकारबीच सम्झौता भएर २०७४ फागुन २३ देखि निमार्ण कार्य सुरु भएको पाइपलाइन आयोजना निर्धारित समयभन्दा आठ महिनाअगाडि सम्पन्न भएको हो।

पेट्रोलियम पाइपलाइनको कुल लम्बई ७० किलोमिटर  छ। त्यसमध्ये भारततर्फ ३२.५ किलोमिटर र नेपालतर्फ ३७.२५ किलोमिटर पर्दछ।

सम्झौता भएको झन्डै दुई वर्षपछि गत जेठ २४ र २५ मा दिल्लीमा भएको नेपाल र भारतका उच्च अधिकारीहरुको बैठकमार्फत यो पाइपलाइन निर्माणका लागि औपचारिक प्रक्रिया थालिएको थियो। २०७२ भदौ ७ मा तत्कालीन आपूर्तिमन्त्री सुनिलबहादुर थापा र भारतीय पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधानबीच रक्सौल अमलेखजञ्ज पाइपलाइन ३० महिनाभित्र बनाउने सम्झौता भएको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका बेला वाचा गरेअनुसार पाइपलाइन निर्माणसम्बन्धी सम्झौता भएको हो। 

फास्ट ट्रयाकमा पाइपलाइनको चर्चा

पाइपलाइन अमलेखगन्जबाट निजगढ हुँदै काठमाडौँसम्मको द्रुतमार्गसँगै सय किलोमिटरको पाइपलाइन विस्तार गर्ने सरकारी योजना छ। 

काठमाडौं–निजगढ फास्ट ट्रयाकसँगै पेट्रोलियम पाइपलाइन काठमाडौंसम्म ल्याउन नेपाल आयल निगमले प्रस्ताव गरेको छ । निगमले त्यसका लागि आफैंले वित्तीय स्रोत जुटाउने भन्दै सघाउन नेपाली सेनालाई प्रस्ताव गरेको हो।

यो पनि पढ्नुहोस्

सिंहदरबार र हैदरावाद हाउसबाट एकैसाथ पेट्रोलियम पाइपलाइनको उद्घाटन

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.