उदयपुर : उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजलेद्वारा उत्पादिन गैँडा छाप सिमेन्टको मूल्य घटेको छ। देशभर सिमेन्टेको मूल्यमा गिरावट आएसँगै उदयपुर सिमेन्ट उद्योगले पनि गैँडा छाप सिमेन्टको मूल्य २५ रुपैयाँ घटाएको हो।
उदयपुर सिमेन्ट उद्योगका निमित्त महाप्रबन्धक नवलकिशोर साहले मूल्य आठसय तीन रुपैयाँ ४३ पैसाबाट २५ रुपैयाँ घटाको बताए। ‘प्रतिबोरा सातसय ७८ रुपैयाँ ४३ पैसा कायम गरीएको छ,’ उनले भने, ‘भ्याट अन्तशुल्कसमेत जोडेर मंगलबारदेखि आठ सय तीन रुपैयाँ ४३ पैसाबाट घटाएर सात सय ७८ रुपैयाँ ४३ पैसा कायम गरिएको छ।’
सरकारी स्वामित्व रहेको उदयपुर सिमेन्ट उद्योगले पछिल्लो समय दैनिक रूपमा आठहजार बोरा उत्पादन गर्दै आएको छ। मूल्य घटेको दिन मंगलबार मात्रै पनि सातहजार बोरा बिक्री भएको उद्योगका सूचना अधिकारी रामबहादुर जिसीले जानकारी दिए। ‘अघिल्लो दिनको तुलनामा मूल्य घटेपछि ह्वात्तै बिक्री बढेको छ,’ उनले भने, ‘घटेको मुल्यमा सातहजार बोरा बिक्री हुँदा उद्योगलाई एकैदिनमा करिब ५५ लाख आम्दामी भएको भएको छ।’
उदयपुर सिमेन्ट उद्योगले प्रदेश १,२, ३ र ४ मा गरी जम्मा एक सय ६० वटा आधिकारिक डिलरहरूमार्फत आफ्नो उत्पादनलाई बिक्री गर्दै आएको जनाएको छ। जापानी सहयोगमा निर्माण भएको उद्योगले २०४९ सालबाट व्यावसायिक उत्पादन सुरु गरेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।