डडेल्धुरामा पनि भेटियो डेंगु

|

डडेल्धुरा : डडेल्धुरामा पनि डेंगु रोगका एकजना बिरामी भेटिएका छन्। बझाङको बुंगल नगरपालिका ५ का १२ वर्षीय सुरेश बोहरालाई परीक्षण गर्दा डेंगु पोजेटिभ देखिएको डडेल्धुरा अस्पतालले जनाएको हो।

उपचारका लागि डडेल्धुरा ल्याइएका उनलाई डेंगुको लक्षण देखापरेकाले परीक्षण गर्दा डेंगु देखा परेको अस्पतालका डाक्टर जीवन खरेलले जानकारी दिए। ‘उनलाई लगातार १० दिनसम्म ज्वरो आएको, आँखाको नानी दुख्ने, पिसाबमा रातो रगतजस्ता लक्षण देखिएको थियो’ उनले भने ‘मिल्दो जुल्दो लक्षण देखिएकाले उनलाई परीक्षण गरिँदा डेंगु भेटियो।’

सुदूरपश्चिममा अहिले डेंगु र स्क्रब टाइफस देखिएकाले सबैले सतर्कता अपनाउनुपर्ने उनको सुझाव छ।

सुदूरपश्चिमभरी ३५ जनामा डेंगु संक्रमण

हालसम्म यस प्रदेशका ७ जिल्लाका ३५ जनामा संक्रमण देखिएको छ। डेंगुबाट एकजनाको ज्यान गइसकेको छ। पछिल्लो तथ्याकंअनुसार कैलालीमा १६, दार्चुलामा ८, कञ्चनपुरमा ७, डोटी, अछाम, बैतडी र बझाङमा १/१ जना गरी ३५ जनामा डेंगुको संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय राजपुर दिपायलले जनाएको छ। जसमध्ये डोटीमा एक जनाको मुत्यु भएको छ। 

७ जिल्लाकै बिरामीलाई डडेल्धुरा, कैलाली र कञ्चनपुरका अस्पतालहरूमा चेकजाँच गर्दा डेंगुको संक्रमण भेटिएको हो। प्रदेशभर हालसम्म ३५ जनामा संक्रमण देखिए पनि हजारौँ व्यक्ति प्रभावित भएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ। बिरामी अस्पतालको सम्पर्कमा आउने क्रम जारी रहेकाले संक्रमितको संख्या बढ्नसक्ने निर्देशनालयको भनाइ छ। 

डेंगु नियन्त्रणका लागि अभियान 

सुदूरपश्चिममा डेंगुको संक्रमण बढ्दै गएपछि सुदूरपश्चिम प्रदेश सरकारले नियन्त्रणका लागि अभियान थालेको छ। बिहीबार धनगढीमा डेंगु रोग व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै समाजिक विकास मन्त्रालयले प्रदेशमा ९ वटै जिल्लामा अभियान चलाइने जनाएको छ। 

यसको नियन्त्रणका लागि बृृहत सरसफाई कार्यक्रम, जनचेतना विस्तार र उपचारमा सहज पहँचका लागि बजेटको व्यवस्था गरेको प्रदेश स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए।

जलवायु परिवर्तन र जनचेतना अभावका कारण डेंगुको संक्रमण बढेको सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले बताए। महामारीका रुपमा फैलिन थालेको डेंगुको नियन्त्रणका लागि मन्त्रालयबाट सक्दो प्रयास भइरहेको उनले बताए। यो रोगबाट बच्न विशेष सजगता अपनाउन मन्त्री सुवेदीले आग्रह गरे।

के हो डेंगु?

डेंगु एक प्रकारको ज्वरो हो। यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो। डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ। यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी पाइने गर्दछ। यसले स–साना सफा पानी जमेको स्थानमा फुल पार्ने गर्दछ। खास गरी वर्षाको पानी जम्ने टीनका डब्बाहरू, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी, गमला, पानीका ट्यांकी आदिमा यसले फुल पार्दछ। 

डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीब्र भाइरल संक्रमण हो। यो भाइरस डेंगु १, डेंगु २, डेंगु ३ र डेंगु ४ गरी चार प्रकारका हुन्छन्। एडिज लामखट्टे कालो रंगको हुन्छ, जसमा सेतो थोप्लो पनि देखिन्छ। यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने गर्दछ। औलो उत्पन्न गर्ने लामुखट्टे फोहोर पानीमा पाइने भए पनि डेंगु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ।

डेंगु रोग क्लासिक डेंगु, हेमोरेजिक र साक सिन्ड्रोमगरी तीन प्रकारका छन्। क्लासिक डेंगु सामान्य प्रकारको डेंगु हो। यो आफंै निको हुन्छ, मृत्युको सम्भावना कम हुन्छ। तर यदि कुनै व्यक्तिलाई डेंगु हेमोरेजिक ज्वरो वा डेंगु साक सिन्ड्रोम भएको छ भने यसको उचित प्रकारले उपचार नगरे मृत्यु हुन सक्छ।

यस्ता देखिन्छन् लक्षण

डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो। यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ। ज्वरोका साथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसापेशीहरू दुख्ने,शरीरमा विमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने आदि लक्षणहरू पनि देखा पर्न सक्छ।

यसबाट यसरी बच्ने सकिन्छ 

डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नु पर्छ। पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गाडीका काम नलाग्ने टायर आदिमा पानी जम्न नदिने,पानीको ट्यांकीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्नुपर्छ। कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने, यस लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउनुपर्छ।

सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नु पर्छ, साथै साना केटा केटीलार्य जुनसुकै समयमा पनि झुलभित्र सुताउनु पर्दछ। लमखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलहम दल्न पनि सकिन्छ। घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.