|
फाइल फोटो

दमक : प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले दमकमा स्थापना गर्न लागेको बहुप्राविधिक शिक्षालयलाई दमक नगरपालिकाले ६ बिगाहा जग्ग उपलब्ध गराएको छ। परिषदले झापामै पहिलोपटक संचालनमा आउन लागेको बहुप्राविधिक शिक्षालय सञ्चालन गर्न लागेको हो।

जसका लागि पूर्वाधार बनाउन र शिक्षालय सञ्चालनका लागि नगरपालिकाले आफ्नो भोगाधिकारमा रहेको ६ विगाहा १८ कठ्ठा जग्गा उपलब्ध गराउने निर्णय गरेको हो। सो शिक्षालयलाई दमक-९ को दिपीनि खोला पश्चिम रहेको सो जग्गा उपलब्ध गराउने निर्णय गरी पत्र पठाएको शिक्षालयका प्रमुख ठाकुर भट्टराईले जानकारी गराए। प्राप्त जग्गामा सर्पट आएपछि शिक्षालयको नाममा जग्गा नाप गरी धनीपुर्जा लिइने पनि उनले बताए।

दमक नगरपालिकाले आफैं प्राविधिक शिक्षालय संचालन गर्ने योजना रहेकोमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले दमकमा आंगिक क्याम्पस दिएपछि नगरपालिका आफ्नो योजनाबाट पछि हटेको थियो। नगरपालिकाले करोडौं खर्च गर्नुपर्ने अवस्थामा परिषद्ले आंगिक क्याम्पसनै खोल्ने भएपछि त्यसैमा सहमति जनाउँदै शिक्षालयलाई सहयोग गर्न थालेको हो। 

जसअनुसार यही प्राप्त जग्गामा भवन नबनिउन्जेलका लागि हाल अस्थायी रुपमा पहिले भूटानी शरणार्थी शिविर रहेको र हाल खाली रहेको दमक–२ को बेलडाँगीस्थित संयुक्त राष्ट्रसंघीय उच्च आयोग (युनएचसीआर) को कार्यालयमा नै सो शिक्षालयले कक्षा चलाउने भएको  छ। बेलडाँगी शिविरमा प्राप्त भवनमा यही असोज ६ गते देखि कक्षा संचालन हुने पनि जानकारी गराइएको छ ।

त्यसका लागि हालसम्म ४० जना विद्यार्थीहरु भर्ना समेत भइसकेका छन्। बाँकी ८ जनाको कोटामा पनि चाँडै भर्ना गरिने शिक्षालय प्रमुख भट्टराईले बताए । भवनमा रंगरोगनको काम सकिएको छ भने विद्युत जडान गर्ने र सरसफाईको काम भइरहेको जनाइएको छ। शिक्षालयमा पहिलोपटक सिभिल इन्जिनियरिङमा डिप्लोमा तहको ३ वर्षे पढाई शुरु हुन लागेको हो।

जग्गा प्राप्त भएपछि अब सो ठाउँमा भवन बनाउन सिटीईभिटीले दातृ संस्थाहरुको खोजी गरिरहेको पनि शिक्षालय प्रमुख भट्टराईले बताए। त्यसैगरी दमक नगरपालिकाले बहुप्राविधिक शिक्षालयलाई आफ्नो स्वामित्वमा रहेको सो जग्गा स्वामित्व हस्तान्तरण गर्नेगरी उपलब्ध गराएको नगरपालिका शिक्षा शाखा प्रमुख दिनेश कुमार न्यौपानेले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.