|

बुटवल : तिलोत्तमा नगरपालिकाले बिहीबार आयोजना गरेको लगानी सम्मेलनमा १६ अर्बको लगानी प्रतिबद्धता आएको छ। सम्मेलनको क्रममा बिहीबारसम्म ३० वटा परियोजना प्रस्ताव आएका छन्। तीमध्ये २४ परियोजनाको आयश मात्र खोलिएको छ। सबै आशयपत्र खोल्दा लगानी प्रतिबद्धता बढ्ने अपेक्षा आयोजकको छ।

बिहीबार दुई परियोजनाको सम्झौतामा हस्ताक्षर भएको छ भने अन्य दश परियोजनामा प्रारम्भिक समझदारी कायम भएको छ। हस्ताक्षर भएका दुई परियोजनामा युकेएआईडीको सीप र रोजगार प्रवर्द्धन कोष स्थापना तथा नेपाल बैंकद्वारा प्रदान गरिने सहुलियत कर्जा नगरपालिकाको सिफारिस गर्ने सम्बन्धी छन्।

प्रारम्भिक समझदारी भएका परियोजनामा कृषि, पर्यटन, उद्योगलगायतका छन्। निजी क्षेत्रले विभिन्न २० परियोजना प्रस्ताव गरेका छन्। प्रस्तावित परियोजनामा स्वदेशी लगानी रहने उल्लेख छ।

नगरपालिकाले लगानी सम्मेलनपछि तोकिएको अवधिसम्म आउने परियोजनाका लागि विभिन्न कर छुटको अफर गरेको छ। रिडी हाइडो पावर, अन्नपूर्ण एग्रो, स्मार्ट एएसी नेपाल, उत्तम एग्रो प्रोडक्सन, सन आउटडोर प्रा.लि. लगायतका कम्पनीले लगानी प्रतिबद्धता जनाएका छन्।

निजी क्षेत्रबाट आएको लगानी प्रतिबद्धताले आफूहरू निकै उत्साहित भएको नगर प्रमुख बासुदेव घिमिरेले बताए। लगानी सम्मेलनमा आएका लगानीकर्ताहरूले आगामी दिनमा समग्र रुपन्देहीमा लगानीका लागि आफूहरू तयार रहेको प्रतिबद्धता जनाएका छन्।

लगानी सम्मेलनमा चीन, भारतबाट समेत लगानीकर्ताहरु आएका थिए। यसअघि भएको छलफल कार्यक्रमका सहभागीहरुले स्थानीय सरकारको रुपमा तिलोत्तमाले थालेको विकास अभियानको प्रशंसा गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.