थाहा संवाद

‘फुर्सदमा व्यस्त छु’

असोज १५, २०७६

    काठमाडौं : सल्यानका विमल आचार्य  करिअरको अनेक नागबेली बाटो हुँदै अहिले अन्नपूर्ण पोस्टको शनिबारीय परिशिष्टांक फुर्सदको संयोजनमा आइपुगे। कान्तिपुर पब्लिकेसन्स्को नेपाल म्यागेजिनमा उपसम्पादक भएर मूलधारको पत्रकारितामा जागिरे भएका उनले त्यहाँ ठीक ३६५ दिन काम गरे। अनि लागे नागरिक दैनिकमा ओपेड एडिटरका रूपमा। त्यहाँ १८ महिना काम गरेपछि गत चैतदेखि उनी फुर्सदमा काम गरिरहेका छन्। प्रस्तुत छ, उनीसँग गरिएको पुस्तक वार्ता:

    हिजोआज के मा व्यस्त हुनुहुन्छ?

    भूमिकाअनुसार अभिनय अनेक हुन्छन्। मूल कुरो फुर्सदमा व्यस्त छु। 

    दशैको कुनै योजना?

    सल्यान घर जाँदै छु। त्यहाँ बुवा आमा हुनुहुन्छ। दुई वर्षे छोरो पहिलोपल्ट सल्यान जाँदै छ। आमाबुवा र नातिबीचको प्रेम अनुभूत गर्नेछु। आमाबाले सन्तानलाई गर्ने मायाको रङ कति गाढा हुँदो रहेछ भने...।

    दसैमा कुन–कुन पुस्तक पढदै हुनुहुन्छ?

    सधैँजसो केही न केही पढिरहेकै होइन्छ। खास भन्ने हो म दशैंमा केही पढ्दिनँ। घरको करिब एक हप्ते बसाइ गाउँ डुल्दै, घुम्दै, खाँदै, रमाउँदै, घरको काम गर्दैमा बितिजान्छ।

    कुन पुस्तक पढिरहनु भएको छ?

    हिजो मैले सन्दुक रुइत र हंस पढिसकेँ। दुवै मन परे। म एकसाथ धेरै किताब खोलिरहेको हुन्छु। अहिले पहिलेभन्दा पढाइको गति कम भएको छ। ‘फुर्सद’बाट अलिकति भएको फुर्सद छोरोलाई र मोबाइल फोनलाई धेरै दिने हुँदा।

    नेपाली कुन पुस्तकले चर्चा पाएको जस्तो लाग्छ?

    राम्रा सबैले। नराम्राको चर्चा क्षणिक हुन्छ।

    पढेको पुस्तक मध्येमा फिल्म बनिदिए हुन्छ जस्तो लागेको कुनै पुस्तक छ?

    कृतिमा बनेका हाम्रा पाराका सिनेमा हेरेपछि राम्रा किताबमा सिनेमा नबनून् भन्छु म त।

    पहिलोपटक पढेको पुस्तक?

    सुनेको, सुनेरै कण्ठ भएको स्वस्थानी होला। कोर्सका किताब पढेरै बाल्यकाल बित्यो। घरमा पनि केही धार्मिक किताब र कांग्रेसका पर्चा–विधान भन्दा अरु थिएनन् भन्दा हुन्छ। दाइले ल्याएको चपाइएका अनुहार, कुराकारी : मृतात्मासितको र अरुसितको पनि, नासो, भक्त भानुभक्त, भिखारी स्कुल हुँदा पढेका पहिला बाहिरिया किताब यिनै हुन्।

    पुस्तकले कल्पनाशक्ती बढाउँछ?

    कल्पनाशक्ति कसरी बढ्छ, मैले अनुसन्धान गरेको छैन र यीबारेका अनुसन्धान पनि पढेको छैन। मेरो अनुभवमा भन्ने हो भने त रेडियो धेरै सुनियो। काठमाडौँ मैले बीए पहिलो वर्षको परीक्षा दिन यहाँ आएपछि, धेरै पछि देखेको हुँ।

    नदेखुन्जेल फोनिङ, राजधानीको सन्देशसम्म नियमित सुन्थेँ। काठमाडौँ कस्तो होला, घट्टेकुलो र शंखमूल भन्ने ठाउँ कस्तो होला? रेडियो नेपालको स्टुडियो कस्तो होला? रवीन्द्र मिश्र र नवराज लम्सालको अनुहार कस्तो होला? राजाहरू कस्ता होलान् भन्ने अनेक मानसाकृति बनाइराखिनथ्यो, कल्पनाशक्ति बढेकै थियो। देखाइ र हेराइले भन्दा सुनाइ र पढाइले नै मलाई धेरै काल्पनिक संसारमा घुमायो। म अनेक प्लट बनाउँथे मनमनै, सपनामा। अभावले काल्पनिक बनाउँछ।

    नेपालमा पुस्तक सम्बन्धि बहस किन हुदैन?

    राम्रो कुराको बहस हुनुपर्छ। भइरहेका छन्।

     विश्व पुस्तक बजारमा नेपाली पुस्तक किन नपुगेको होला?

    विश्व भनेको चैँ कुन देश रहेछ नि! अनुवाद हुँदैन भने पनि हुन्छ। भए पनि देशको राजनीतिक-आर्थिक छवि नचम्किई साहित्य चम्किन धेरै समय लाग्छ। अनुवाद मात्रै नहुनु पनि समस्या होइन। के अनुवाद, कसरी अनुवाद, किन अनुवाद, कहाँबाट प्रकाशन जस्ता कुरा पनि महत्वपूर्ण हुन्छन्। पैसावालका कमजोर कृति अनुवाद भएर संसारमा गए भनेर रमाउनु आत्मरति, आत्मघाती हो।

    नेपालमा पाठक बढेका हुन?

    थाहा छैन। पहिला कति थिए? अहिले कति छन्? कसैले व्यापक अनुसन्धान गरेको छैन होला? गरेको छ कि? मैले पढेको छैन। तर, म पाठक बढिरहेकै देख्छु त।

    नेपाली लेखकका पुस्तक सबाल्टर्न सँग सम्बन्धित छन तर,त्यस समूहसँग नपुगी कर्ताले लाभ लिएको भन्ने आरोप छ के भन्नुहुन्छ?

    कुन सन्दन्र्भमा भन्नुभएको हो कुन्नि ! सीमान्तीकृत विषय लिएर लेख्नु राम्रै हो नि। तर, यसमा सीमान्तीकृतलाई न्याय दिने, आत्मसम्मान बढाउने हिसाबले लेख्ने भन्दा आफू ‘हिरो’ हुने चाहना धेरै देखिनु भएन।

    पुस्तक नपढ्ने भएको भए के हुनुहुन्थ्यो होला?

    मेरी आमाले पनि नयाँ गोरेटोबाहेक केही पढ्नुभएको छैन। यही गोरेटो पनि मैले एसएसली दिएपछि जिशिका सल्यानमार्फत ६ महिना आमाहरूलाई पढाएको हुँ। मेरो पहिलो जागिर नै आमाहरूलाई पढाएर सुरु भएको हो।

    अक्षर चिन्न नपाउँदाको दुःख र चिन्न पाउँदाको खुसी मैले नजिकबाट अनभूत गरेको छु। नपढेको भए म आमा हुन्थेँ। अर्थात् हेपिन्थेँ।

    सरकारले पुस्तक माथि कर लगाएको छ, सरकारले ज्ञानमा र विवेकमा बिर्को लगाएको हो?

    सरकारले कर लगाउनु स्वाभाविकै हो नि। कोट काट्ने मुसाहरू, धेरै पढे पागल होइनेहरूले समृद्धिमा बाधा पुर्याउने भएको हुँदा नपढ्न प्रोत्साहन गर्न यस्तो गरिया होला। धेरै पढेर काम पनि त छैन नि? पुस्तक र ज्ञानको महत्व नबुझ्ने, भूकम्प आएको यति भइसक्यो, राजधानीमै एउटा गतिलो पुस्तकलाय सञ्चालन गर्न नसक्ने (नचाहने) नेताबाट धेरै आश पनि गर्न हुन्छ। डिप्रेसनमा गइन्छ, बेक्काराँ।

    राष्ट्रिय पुस्तकालयका अमूल्य सम्पदा नासिएका, धुलिएका छन्, ती दुर्लभ ग्रन्थको ठाउँ सारेको सार्यै छन्, पाँच वर्षमा पुस्तकालय सुचारु हुन नसक्ने देशमा थप किताब किन पढ्ने, थुपार्ने भन्ने लाग्या होला सरकारलाई। फेरि यहाँ यो देश बुद्धिजीवी बौद्धिकले बिगारेको भन्ने आवाज पनि प्रतिपक्षीदेखि वैकल्पिक पार्टीकारितातिर पनि बलियो छ त।

    नेपालमा अनुवाद साहित्यको बाढी आएको हो?

    बाढी? राम्रा किताब त अनुवाद भएका निकै कम छन् त। झुर किताब, गैरकानुनी अनुवादका कुरा छोडिदिनुस्।

    तपाईले डक्टर सन्दुक रूइतको पढिसकेँ भनेर टवीट पनि गर्नु भएको थियो धेरै भन्दिन दुई शब्द भन्छु जम्मा दुई शब्द सबैले पढौ भनेर टवीट गर्नुभएको थियो के छ त्यसमा त्यस्तो?

    सकारात्मक प्रेरणा लिन, नकारात्मक धारणा बदल्न, बलियो सपना देख्न यो पुस्तक सबैले पढ्नैपर्छ भन्छु। कुनै नेपालीले नोबेल पुरस्कार पाए भने सन्दुकले पाउँछन् र पाउनुपर्छ पनि। 

    सामाजिक सञ्जालले पुस्तक र ज्ञानलाई विस्थापित गरेको छ हो?

    केही पनि कुरा आफैँमा राम्रै राम्रो वा नराम्रै नराम्रो भन्ने हुँदैन। समयअनुसार निषेध र नियन्त्रण गरेर हुने कुरा पनि हैन। तर, जहाँसम्म प्रश्न छ, किताब पढ्ने रफ्तार मेरै कम भएको छ।

    पुस्तक अन्तर्वार्ता गर्ने तपाईं आज आफ्नै अन्तर्वार्ता दिदाँ कस्तो लाग्ने रहेछ?

    संकोच लागिरहेको छ। एफएम रेडियोमा बाहेक यो मेरो पहिलो खोकी हो।

    पुस्तक पढ्ने प्रेरणा?

    एकान्तबाट। उदासीबाट। जब आफूसँगै स्कुल पढेका सबै साथीहरू कोही काठमाडौँ, कोही नेपालगन्ज, कोही दाङ कलेज पढ्न आउने भए। उनीहरू सहरमा यस्तो र उस्तो पढ्ने भन्थे। म चाहिँ आइएबाहेक अरु संकाय, विषय, क्षेत्र केही बुझ्दिनथेँ (अहिले नि बुझ्दिनँ)। म पढाइमा उस्तो नराम्रो नभए पनि सल्यानकै क्याम्पसमा पढ्न बाध्य भएँ। घरमै आफ्नै ठूलोबुवाकी छोरी दिदी र मैले सँगै एसएलसी दिएका थियौँ। दिदी काठमाडौँ पढ्न आउनुभयो। म चाहिँ बिहान एक घन्टा हिँडेर सल्यान क्याम्पस पुगेर अर्थशास्त्र, राजनीतिशास्त्र र संस्कृति, इतिहास र पुरातत्व विषय पढ्न थालेँ।

    यी मेरो रोजाइका विषय थिएनन्। (अहिले चैँ रोजाइमा यिनै विषय बढी छन्)। यी विषय नपढ्नुको विकल्प थिएन।  क्याम्पसबाट फर्किन पनि एक घन्टै हिँड्नुपथ्र्याे। ११ बजेतिर घर पुगेर खाना खाएर फेरि आधा घन्टा उकालो हिँडेर एमएम एकेडेमी नामको निजी स्कुलमा महिनावारी एक हजार रुपैयाँ तलबमा मास्टरी गर्न थालेँ।

    दशैंमा बाहिर पढ्न गएका सबै साथीहरू गाउँ फर्किन्थें। काठमाण्डूका केके गफ लिएर जान्थे, बीचमा राता दाना भएका पहेंला पाउरोटी (केक) लिएर जान्थेँ। म तिनताका अति नै अन्तर्मुखी, घोसे टाइपको कुण्ठित थिएँ। दसैंमा सहरबाट साथीहरू फर्किने बेला म घर छ्याप्ने (पोत्ने), झ्यालढोकामा इनामेल लगाउने काम गर्थें। घरमा गाउँका केटाकेटीहरूलाई मासिक ५० रुपैयाँमा ट्युसन पढाइराख्या हुन्थेँ। म उदास, हतास र निरास थिएँ। यही बेला मलाई अलिअलि पढ्ने बानी लागेको हो। तर, पुस्तकालय, पुस्तक पसल, पढेका मान्छेको संगतको अभावमा मैले काठमाण्डूमा बीए पहिलो वर्षको जाँचको मुखैमा यता आउनुअघि कोर्सबाहिरका पाँचवटा पुस्तक पनि पढेको थिइनँ।

    सबैभन्दा मनपरेको पुस्तक?

    विभिन्न कालखण्डमा अनेक पुस्तकले लामो समय घर गरे। यसरी घर गरेका सुरुमा स्वस्थानी, अनि नासो, अनि राम्रो रचना मीठो नेपाली, अनि कर्नाली ब्लुज, अनि हाम्रो भाषा।

    सम्पादक प्रत्यूष वन्तले उपहार दिएको नेपालको सन्दर्भमा समाजशास्त्रीय चिन्तनले मलाई ब्युँझायो। 

    आख्यान कि गैरआख्यान?

    दुवै। पहिले आख्यान धेरै पढेँ। अहिले गैरआख्यानतिर ढल्केँ कि जस्तो लाग्छ।

    पुस्तक पढदै जाँदा यो लाइन नभइदिएको भए हुन्थ्यो जस्तो लाग्छ कि लाग्दैन?

    म आफू सम्पादन पनि गरीटोपल्ने भएको हुँदा यस्तो धेरै पल्ट हुन्छ। मैले पढेका किताबका पाना यति केरमेट गरिएको हुन्छ कि सरकारी कलेजको शौचालयको भित्ताजस्तो। (अश्लील गाली पनि हुन्छ)। हाम्रो अहिलेको संविधानमा तथ्यपरक र भाषापरक अनेकौँ गल्ती छन्। यसबारे मैले एउटा लामै लेख लेखेको थिएँ। संविधानकै पानामा मुख छोडेर लेखेको रहेछु। आफ्नो किताब आफ्नै हुन्छ नि !

     नेपालमा पुस्तकालयको स्थिति कस्तो छ?

    भएका पनि व्यवस्थित छैनन्। राजधानी सहरमा कम्तीमा १०, देशका सबै पालिकामा सुविधासम्पन्न चौबीसै घन्टा खुल्ने पुस्तकालय हुनुपर्छ। पुस्तकालय खोलेर मात्र हुन्न। त्यहाँ घुस खाएर कमसलका कमसल, अपाठ्य पुस्तक मात्र राख्ने कुरा पनि भ्रष्टाचार नै हो।

    मनपरेको लेखक?

    नेपालमा धेरै हुनुहुन्छ।  विदेशी लेखकका बारे भन्नुहुन्छ भने  जोन हल्ट, हर्मन हेस्से, अर्नेस्ट हेमिंग्वे, गोर्की, चेखब, गुलजार, निर्मल बर्मा, उदय प्रकाश, आघा साहिद अली। 

    सबै नेपालीले पढनै पर्ने लागेको पुस्तक?

    भर्खरै पढेकाले सन्दुक रुइत याद आयो। थुप्रै छन्। यो देश मेरी आमाहरूको पनि हो। आमाहरूलाई यो पढ्नैपर्छ भन्दा कति गाह्रो होला। मेरो टोलमा पुस्तकालय खुलोस्, अनि युवाहरूले हरेक राम्रा किताब हर दिन एक एक च्याप्टर आमाहरूलाई सुनाऊन्। स्वस्थानीका लागि एक एक अध्याय छु्याएजस्तै हर साँझ निरक्षरहरूलाई एक एक पाठ सुनाउने काम देओस्, सरकारले युवालाई।

    राजनीतिज्ञ मनपर्छ कि लेखक?

    यो प्रश्न त आमा कि बाबु भने जस्तो भयो अथवा चोर कि डाँका भने जस्तो। दुवै मन पर्छ, दुवै मन पर्दैन।

अतिन आचार्य

आचार्य थाहाखबरका सामाजिक मामिला संवाददाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]