विचार

मैले चिनेको भट्ट सर
SHARES

असोज २५, २०७६

    आफ्नो किशोरावस्थामा सुनेको नाम थियो गोविन्द भट्ट। जुन नामले ममा एउटा छाप दियो। नेपाली साहित्य र समाजलाई फरक कोणबाट हेर्ने र बुझ्ने चिन्तकका रूपमा मैले सुरुदेखि अन्त्यसम्म त्यहि पाएँ। म काठमाडौं आउँदा उहाँ बेइजिङ रेडियोमा विज्ञका रूपमा काम गर्न चीन जानुभएको थियो। उहाँ चीनबाट फर्केपछि मेरो भेट भयो। मैले अनुरोध गरेपछि मेरा अग्रज पत्रकार रघु पन्तले परिचय गराइदिनु भयो।

    सोचेभन्दा बढी गम्भीर र शान्त पाएँ मैले गोविन्द भट्टलाई। गोविन्द भट्टलाई हेर्ने र बुझ्ने पनि विभिन्न कोण छन्। उहाँको साहित्य र दर्शन, समाजलाई हेर्ने दृष्टिकोण  र नीजि जीवन। जुन पक्षबाट हेरे पनि उहाँलाई अत्यन्त गम्भीर शालिन र त्यो गहिराई भएको व्यक्तिका रूपमा बुझ्न सकिन्छ। निजी जीवन भने खासै सुखमय नभए पनि सन्तोषपूर्ण थियो।

    उहाँलाई मैले पहिले जति देखे भेटे र बुझे पछि सहकार्यका सिलसिलामा अझ गहिरो पाएँ। उहाँको ज्ञान र चिन्तनको दायरा कति फराकिलो र दूरगामी हुँदो रहेछ भन्ने कुराको बोध मलाई त्यो बेला भयो जब उहाँ श्रीसगरमाथा दैनिकको प्रधानसम्पादक भएर आउनु भयो।

    सूर्य प्रकाशन प्रालिको स्थापना, श्रीसगरमाथा दैनिकको संस्थापक सम्पादक म भए पनि पछिल्लो कालखण्डमा व्यवस्थापनले उहाँलाई प्रधानसम्पादकका रूपमा ल्याएको थियो। आफ्नो पनि सानो लगानी र  मेरो ठूलो आकांक्षामा स्थापित उक्त संस्थामा जसको प्रवेश भए पनि सहयोग गरेर अगाडि बढ्ने मेरो स्वाभाविक चाहना थियो। उहाँभन्दा अघि हिरण्यलाल श्रेष्ठ जो मेरो पत्रकारिताको औपचारिक रुपमै पहिलो सम्पादक हुनुहुन्थ्यो। म संस्थापक सम्पादक र कम्पनीको प्रवर्द्धक हुँदाहुँदै पनि उहाँलाई प्रधानसम्पादकका रूपमा भित्र्याइयो।

    नेपाली पत्रकारितामा व्यवस्थापनले आफ्नो असफलता ढाक्न, निराशा एवं कुण्ठा पूर्तीका लागि र कसैलाई रिझाउन पर्दा सम्पादन सहकर्मीलाई दुःख दिने वा बदल्ने गर्छ  जो त्यहाँ पनि देखियो। बजार बिस्तार गर्न नसक्नु, आन्तरिक व्यवस्थापन गर्न नसक्नु, प्रकाशन वा प्रसारण संस्थाको आर्जन गर्ने प्रकृति नबुझी  प्रकाशन सुरु हुनासाथ मूनाफा खोज्नु, आवश्यकताअनुसार निश्चत अवधिसम्म लगानी थप्न हच्किनु जस्ता कमजोरीबाट सुरुदेखि नै ग्रस्त बन्दै गएको थियो त्यहाँको व्यवस्थापन।

    तर, आफ्नो कमजोरी नबुझी उल्टै सम्पादकलाई दुःख दिने, अनावश्यक सल्लाहकार भित्र्याउने, पदाधिकारी थप्ने गल्ती गरेजस्तै त्यहाँ पनि सम्पादक माथि प्रधानसम्पादक ल्याइएको थियो। जुन कामले त्यहाँ साना लगानीकर्तालाई झस्काएको थियो भने त्यस मध्येका ठूला लगानीकर्ता उपेन्द्र महतो अन्यौलमा कदम चालिरहेको स्पष्ट देखिन्थ्यो। जे भए पनि प्रधानसम्पादकका रूपमा आएर केही दिन बिताउनु भएका सरल, सहज र पेशागत धर्म बुझेका हिरण्यलाल श्रेष्ठलाई एमालेको आन्तरिक राजनीतिका कारण राजीनामा गर्नुपर्ने बाध्यता आयो र उहाँ बाहिरिनु भयो।

    हिरण्यलाल श्रेष्ठको बहिर्गमनसँगै प्रधानसम्पादकका रूपमा गोविन्द भट्टलाई उपस्थित गराइयो। उहाँको अनुभव, योग्यता, शालिनता, चिन्तन, उमेरले उहाँलाई कुनै विश्वविद्यालयको उपकुलपति, राजदूत, प्राज्ञ वा यस्तै पद उपयुक्त थियो जस्तो लाग्छ तर मुर्खहरूले उहाँलाई आफ्नो अफ्टेरो टार्न हुलिदिए प्रधानसम्पादक बनाएर। पूर्वपरिचित र आफ्नैं  जस्तो लाग्ने हिरण्यलालसँग जस्तो सहज हुदैन कि भन्ने आशंकाले म मात्र होइन सम्पादकीय टोलीका श्याम घिमिरे, प्रतीक भण्डारी, शिव गाउँले, घमराज लुईटेल, जीवनाथ खनाल टीका उपाध्याय समेतका साथीहरू ससंकित नहुने कुरै भएन।

    गोविन्द भट्टसँग व्यक्तिगत हिमचिम कम भएका कारण मात्र होइन बर्षौं चीनमा बिताएर आएको मानिसमा म अर्कै व्यवहार खोज्थें म, मानौ भट्ट सर पनि भर्खर सांस्कृतिक क्रान्ति सकेर फर्के जस्तो। पेशागत भन्दा राजनीतिक बढी बुझ्थें र उहाँसँग  म निक्कै तौलेर बोल्थें। तर क्रमश उहाँ र म यति नजिक भयौं कि नेपाली पत्रकारिता राजनीति समाज संस्कृतिलाई हेर्ने र बुझ्ने कुरामा कुनैं भिन्नता नै भएन।

    हुँदाहुँदा अधिकांश व्यक्तिका बारेमा समेत हाम्रा धारणा समान भए।  अर्को महत्वपूर्ण कुरा उहाँसँगको निकटताबाट मैले चीनीयाँ समाज र राजनीतिका बारेमा धेरै ज्ञान पाएँ। मलाई लाग्छ हाम्रा छिमेकी देशहरूका चाहनालाई हामीले गहिरो गरि बुझ्न छोडेका छौं। उनीहरूलाई अहिलेको राजनीतिले चिनेकै छैन। उनीहरूले हामीलाई चिनेको कुरा हामीले बुझेकै छैन। 

    हामी कार्यरत प्रकाशन गृहको कमजोर व्यवस्थापन, सञ्चार नबुझेका प्रमुख लगानीकर्ता, अस्पष्ट सञ्चालकहरू र प्रतिस्पर्धी बजारका बीच मसहित अरू साना लगानीकर्ता साथै कार्यरत सम्पादकीय समूह सबैभन्दा बढी चिन्तित थियो। त्यसमाथि महात्मा जस्तो गोविन्द भट्टलाई ल्याएर उचित सम्मान त के बेलामा तलबसमेत नदिएको देख्दा छक्क लाग्थ्यो। पैसाले धेरै थोक किन्न सकिन्छ तर सबै थोक किन्न सकिँदैन भन्ने चेत नभएका मानिस थिए त्यहाँ। जसले भट्ट सरको उचित इज्जत नगरेर आफ्नै इज्जत गुमाइ रहेका थिए।

    लामो समय चीनमा विज्ञका रूपमा काम गरेर अनुभव संगाल्नु भएका गोविन्द भट्ट चीनको राजनीति, साहित्य, संस्कृति, समाज, अर्थतन्त्र र इतिहासका बारेमा निक्कै जानकार हुनुहुन्थ्यो। काममा अलिकति फुर्सद भयो कि म उहाँलाई भेट्न पुग्थें। पटकपटक उहाँ नेपालको राजनीतिमा परिपक्वताको खाँचो रहेको बताउनु हुन्थ्यो, विशेष गरी छिमेकीहरूसँगको सम्बन्धका बारेमा उहाँ विशेष संवेदनशील हुनुपर्नेमा सजग हुनुहुन्थ्यो। वर्तमान राजनीतिले आन्तरिक संस्थागत र व्यक्तिगत सम्बन्धहरू मात्र होइन हाम्रो कुटनीतिक सम्बन्ध समेत अमर्यादित हुन थालेको उहाँ उदाहरण सहितको ठहर सुनाउनु हुन्थ्यो।

    नेपालको कम्युनिष्ट आन्दोलनमा परिपक्वता नभएको, नेतृत्वले नेपालको ऐतिहासिक, सामाजिक सांस्कृतिक पृष्ठभूमि बुझ्न कमजोरी गरिरहेको र छिमेकीहरू प्रतिको दृष्टिकोणमा खोट रहेको पटकपटक दोहोर्‍याउनु हुन्थ्यो। त्यसबेला माओवादी विद्रोह सुरु भएको थियो मैले त्यो विद्रोहले नेपाली समाजमा रहेका विषमता हटाउन मद्दत पुग्ने आशा व्यक्त गरिरहँदा उहाँ यसले नेपाली शक्तिमा आधारित भएर स्थायीत्व ग्रहण गर्न सक्दैन र यो विद्रोह लम्बियो भने आन्तरिक राजनीतिमा छिमेकीको सक्रियता बढने छ। आन्तरिक राजनीतिमा बाह्य शक्तिको प्रवेशले राष्ट्र कमजोर बनाउँछ भन्ने उहाँको दृढ धारणा थियो।

    चीनमा क्रान्ति चलिरहेका बेला जापानले आक्रमण गर्दा माओ त्से तुङले किन च्याङकाइ सेकसँग हात मिलाए रु जसले क्रान्ति पछिको चीनमा विदेशी हस्तक्षेपलाई रोक्न सफल भयो भन्ने उहाँको धारणा पछि सम्म कायम थियो। भट्ट सरले के बुझ्नु भएको थियो कुन्नि नेपालको माओवादी विद्रोहमा चीनको समेत रुची छैन भन्नु हुन्थ्यो। नेपालको कम्युनिष्ट आन्दोलन भावनात्मक रूपमा उग्रबामपन्थी अनि व्यवहारमा पश्चिमा संस्कृति र अर्थतन्त्रबाट प्रभावित भएकोले यसले आफ्नो स्वरुप लिन नसकेको हामीले समान निष्कर्ष निकालेका थियौं। 

    जोसुकैसँग हत्तपत्त घुलमिल हुन नसक्ने स्वाभावका गोविन्द भट्ट अत्यन्त शान्त र शिष्ट  पनि हुनुहुन्थ्यो। उहाँलाई घरमा पनि धेरै मानिस आएको रुची हुन्नथ्यो। तर मेरो अनुभवमा उहाँ जति गम्भीर हुनुहुन्थ्यो उत्तिकै रमाइलो र प्रष्ट। कथा उदाहरण वा तुक्का जोडेर बिषयलाई रमाइलो गरी बुझाउने गजबको खुबी उहाँमा थियो।

    एकदिन नेपाली कम्युनिष्ट आन्दोलनका बिसंगतिका सन्दर्भमा कुरा भइरहँदा उहाँले सन् १९६६ देखि चीनीयाँ कम्यूनिष्ट पार्टीले चलाएको साँस्कृतिक क्रान्तिताकाको घटना सुनाउनु भएको अहिले पनि सम्झन्छु। कुरा के रहेछ भने त्यसताका चीनीयाँ क्रान्तिका नायक माओ त्से तुङ अर्थात अध्यक्ष माओ सर्बशक्तिमान मानिन्थे।

    तर सर्बशक्तिमान माओलाई घेरामा राखेर उनका नाउँमा आफ्नो इख पोख्ने र बिष छर्ने जमात ठूलै भइसकेको सार्वजनिक भइसकेको थिएन। जनतामा अध्यक्ष माओ कहिल्यै मर्दैनन् र माओले जेपनि गर्न सक्छन् भन्ने जस्ता उडन्ते र काल्पनिक कुरा ब्याप्त बनाइएको थियो। बेलाबखत नेपाली राजनीतिमा देखिए जस्तै सानो सत्यलाई ठूलो बनाएर वा असत्यलाई नै भए पनि पटकपटक प्रचार गर्दा जनताले पत्याउँछन भन्ने मान्यताको बोलवाला थियो।

    चीनमा विदेशी राष्ट्राध्यक्ष वा सरकार प्रमुख वा महत्वपूर्ण पाहुना आउँदा अध्यक्ष माओ विमानस्थलमै पुगेर स्वागत गर्ने चलन थियो। साँस्कृतिक क्रान्ति त सकिइसकेको रहेछ तर त्यसको प्रभाव भने नसकिएकै बेला सन् १९७८/७९ ताका एकजना विदेशी बिशिष्ठ पाहुना चीन भ्रमणको तयारी भयो। जाडो महिना थियो र बुढा माओ अस्वस्थ्य भएको खबर पश्चिमा सञ्चारमाध्यमले अलि चर्कै गरी दिइरहेका थिए। कतिपयले त माओ मरिसकेको समेत प्रचार गरिरहेका थिए।

    यस्तो बेलामा बिरामी भएर करिब करिब अशक्त भएका अध्यक्ष माओ विमानस्थल जाने कि नजाने भन्ने छलफल भयो। अन्तत माओको घेराबन्दीले उहाँ जाँदा माओ बिरामी, कमजोर वा मरिसकेको भन्ने जस्ता पश्चिमा प्रचारलाई स्वत जवाफ मिल्ने र चीनीयाँ शैलीको अतिथि सत्कार पनि हुने भएकोले जानु नै उपयुक्त हुने टुङ्गो लायो। अब बिरामी अवस्थाका माओ विमानस्थलमा हाजिर भए।

    अचेल जस्तो आधुनिक अत्याधुनिक विमानस्थल नभएको त्यो बेला।  सबल छन् र सक्षम छन् भन्ने देखाउन माओलाई पातलो लुगा लगाएर फूलको गुच्छा समातेर खुला स्थानमा स्वागतार्थ उभ्याइयो। बिरामी माओ, पातला लुगा, जाडोको मौसम अनि विमान आउन ढीलो भइरहेको थियो। कमजोर माओ भने थरथर काम्दै उभिइरहे। अलि परबाट यो दृष्य नियालीरहेको एउटा बुढो सिपाहीलाई खपि नसक्नु भयो।

    उसले माओसँगै क्रान्तिमा हिंडेको सम्झ्यो, माओ उहिले पो बलिया थिए अब बुढा भए। त्यसमाथि बिरामीको हल्ला छ। यस्तो बेलामा यो चिसो सिरेटोमा त्यस्तो पोशाकमा किन उभ्याए होला बेधर्मिहरूले भन्ने भावना आएछ। विमानस्थलमै कार्यरत त्यो सिपाहीलाई खपिनसक्नु भयो र अन्तत उसले एउटा लामो कोट खोजेर लगाइ दियो। जहाज आयो स्वागतको काम भयो। विदेशी पाहुना भ्रमण सकेर फर्किए।

    भ्रमणको समाप्ति पछि भ्रमणको समग्र मूल्याङकनसँगै व्यवस्थापन बारे पनि कुरा भयो। पातला लुगामा उभ्याइएका माओलाई कसले कोट लगाइ दियो भन्ने कुरा ठूलो छलफलको बिषय बन्यो। अन्तत सक्षम स्वस्थ्य अध्यक्ष माओलाई बिरामी र कमजोर सावित गर्ने षडयन्त्र अन्तर्गत कोट लगाइ दिएको निस्कर्ष सहित बुढो सिपाहीलाई श्रम शिविर पठाइयो। यो घटना सुनाउदै नेपाली राजनीतिमा पनि यस्ता खेल र दुष्कर्महरू लामै समय चल्ने उहाँ अनूमान गर्नु हुन्थ्यो।

    म श्रीसगरमाथाबाट अलग भएपछि पनि यदाकदा हाम्रो भेट भइरहन्थ्यो र नेपाली राजनीतिको कोर्ष करेक्सन हुन सक्छ कि भनेर कुरा गर्थ्यौं र फेरि भेट्ने भनेर छुट्टिन्थ्यौ। अन्ततस् अरनिको समाजको कार्यालयमा भेट भएको करिब महिना दिनपछि २०६८ असोज २५ का दिन एकाबिहानै सुने गोविन्द भट्ट सर बित्नु भो ११ त्यसदिन उहाँको अन्तिम विदाईका लागि प्रज्ञा प्रतिष्ठानको डवलीमा उभिएर उहाँसँग बिताएका दिनहरू सम्झें। एउटा असल मानिसको अन्त्य अहिले सम्म महसुस हुन्छ। आखिर सबैले जाने बाटो त उहि हो। भट्ट सरको सम्झना।

    (भट्टस्मृति ग्रन्थ : सम्झनामा गोविन्द भट्टबाट)

तीर्थ कोइराला

कोइराला थाहाखबर डटकमका प्रधान सम्पादक हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]